विराटनगर महानगरपालिका– ३ मा रहेको बाल सुधार गृहबाट भागेका १५६ ‘बाल बिज्याइँकर्ता’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान २ सयभन्दा बढी ‘बाल बिज्याइँकर्ता’ फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुधार गृहमा रहेका कुल २५५ जनामध्ये करिब ५१ जना बाहिर नभागी भित्रै बसेका थिए।
प्रहरीका अनुसार, बुधबार बिहान बाल बिज्याइँकर्ताहरू सुधार गृहको मुख्य गेटको ताल्चा फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई लछारपछार गर्दै भागेका थिए।
घटनालगत्तै फरार भएकाहरूको खोजी तथा नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
फरार रहेका अन्यको खोजी कार्य तीव्र पारिएको छ। स्थानीय बासिन्दाहरूले पनि फरार भएका केहीलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाएका थिए।
विराटनगरस्थित यो बाल सुधार गृहको क्षमता ५० जनाको मात्र भए पनि हाल त्यहाँ २५५ जनालाई राखिएको छ, जसमध्ये एक सय २४ जना १८ वर्ष नाघिसकेकाहरू छन् ।
क्षमताभन्दा अत्यधिक धेरै कैदीबन्दी राखिएकाले व्यवस्थापनमा चुनौती हुँदै आएको छ।
यसअघि पनि यस सुधार गृहमा झडप तथा भाग्ने प्रयासका घटनाहरू भएका थिए। ४८ जना भने अझै फरार रहेको र तिनीहरूको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङकी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।
सुधार गृहबाट भागेका केही बाल बिज्याइँकर्ताले भने होटलमा गएर अब हामी नै सेना हो भन्दै धम्क्याएर खाने कुरा खाएका थिए । केहीले हातबाट फोन समेत खोसेर भागेका थिए ।