
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हालै जेनजी आन्दोलनका क्रममा भएको घटनाले मुलुकलाई अन्योलतर्फ धकेलेको भन्दै तत्काल संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको आह्वान गरेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पौडेलले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, शान्तिपूर्ण आन्दोलनमाथि भएको बल प्रयोग र स्वार्थी समूहको घुसपैठलाई घोर निन्दा गरेका छन् ।
उनले लोकतान्त्रिक संस्थामाथि भएको सुनियोजित आक्रमण, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग जोडदार आग्रह गरेका छन् ।
देशलाई संवैधानिक शून्यताबाट जोगाउन तत्काल अन्तरिम सरकार गठन आवश्यक रहेको उनको भनाइ छ ।
त्यसका लागि जेनजी आन्दोलनकारी र सबै राजनीतिक दलसँग संवाद प्रारम्भ गर्नुपर्ने, उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने र संविधान संशोधनमार्फत प्रणालीगत सुधार ल्याउनुपर्ने उनको धारणा छ ।
दीर्घकालीन निकासका लागि पौडेलले संसद्, प्रदेश र स्थानीय तहको पुनःसंरचना, संवैधानिक नियुक्तिमा कडा मापदण्ड, प्रशासनिक र सुरक्षा निकायमा आमूल सुधार तथा पुर्नसंरचना आवश्यक रहेको उनले बताएका छन् ।
साथै, २०४६ सालदेखि शीर्ष पदमा रहेका सबै नेताहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
पार्टी आन्तरिक संरचनाबारे उनले तत्काल कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने, नेतृत्वले राजीनामा गरी कामचलाउ समिति गठन गर्नुपर्ने तथा ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
पौडेलले मुलुकलाई शान्ति, स्थिरता र समृद्धिको बाटोतर्फ डोहोर्याउन युवाहरूको आवाजलाई सम्बोधन गर्दै संविधानभित्रै समाधान खोज्न सबैलाई आग्रह गरेका छन् ।