०६ असार २०८३, शनिबार

हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ...

भदौ २६, २०८२
रूपन्देही
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ...

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीया बालिका बेपत्ता भइन् । 

स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।

त्यसपछि बालिकाको परिवारले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दियो । तर, तत्काल उनी फेला परिनन् । बालिका फेला नपरेपछि उनको परिवार चिन्तित थियो । ती बालिकालाई ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेर परिवारसँग पुनर्मिलन गराएपछि अहिले उक्त परिवारमा खुशी छाएको छ ।

किन इन्डियाका प्रतिनिधि नवीन जोशीले बालिका हराएको सूचना प्राप्त भएपछि खोजी प्रक्रिया अगाडि बढाइएको बताए । 

‘नेटवर्क सक्रिय बनायौं, भारतीय एजेन्सी, प्रहरी, दूतावाससँग समन्वय गर्यौं । उहाँहरूले सहयोग गर्नुभयो । वडा कार्यालयले आवश्यक कागजात छिटो पठाएपछि कानूनी प्रक्रिया पूरा गरेर प्रहरी कार्यालय र वडा कार्यालयको रोहवरमा बालिकालाई परिवारसँग पुनर्मिलन गराएका छौं’, उनले भने ।

बालिका भारतको विहारमा फेला परेकी जोशीले जानकारी दिए । ‘नानीले नयाँ जीवन पाएकी छन् । तर, उनलाई भारतसम्म पुर्‍याउने घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउनुपर्छ । ती व्यक्तिको खोजी भइरहेको छ’, उनले भने ।

आफ्ना बालबालिकाको ख्याल गर्न र सचेत हुन उनले अभिभावकलाई आग्रह गरे । किन इन्डियाले हालसम्म हजारौंको उद्धार गरिसकेको उनले जानकारी दिए ।

विगत लामो समयदेखि महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएकी सामाजिक अभियन्ता ज्ञानु पौड्यालले बालिका घर पुग्दा घरपरिवार हर्षित भएको बताइन् । ‘बालिका हराएपछि परिवार निकै पीडामा थियो, तर अहिले यो परिवारमा खुशी छाएको छ’, उनले भनिन् ।

नेपाल–भारत खुल्ला सीमा भएकाले मानव बेचबिखनको जोखिम रहेको उनले बताइन् । राज्यले यो घटनाको अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिइन् । उनले यस्ता घटना हुन नदिन जनचेतनामूलक कार्यक्रम र अभिभावक शिक्षा जरुरी रहेको बताइन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष मुक्तिनाथ यादवले किन इन्डियाको अथक प्रयासबाट बेपत्ता बालिका साढे ६ महिनापछि घर फर्किन सफल भएकी बताए । ‘बालिकाको परिवारसँगै वडा परिवार खुशीले गदगद् भएका छौं’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्