
नेपाली सेनाले काठमाडौं उपत्यकामा आज पनि दिनमा निषेधाज्ञा र राति कर्फ्यु जारी रहने जनाएको छ।
सेनाको मुख्यालय जंगीअड्डाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा रहनेछ भने बेलुकी ७ बजेदेखि बिहानसम्म कर्फ्यु लागू हुनेछ।
त्यसअघि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।
जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिका कारण बुधबारदेखि नै उपत्यकामा यस्तो व्यवस्था लागू हुँदै आएको छ ।
निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने गाडीहरू सञ्चालन गर्न सकिनेछ ।
विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र (डिजिटल बाहेक) देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ ।
यस्तै, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले सबैमा अनुरोध गरेको छ ।
काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरुप जिल्ला सुरक्षा समितिबाट निर्णय र समन्वय गरिएबमोजिम हुने सेनाले जनाएको छ ।
अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने भनि छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवम् धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरू आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायत जरूरी कामका लागि भएकाले यस समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायत गतिविधिहरू गर्न पूर्णतः निषेध गरिएको सेनाले स्मरण गराएको छ ।