
काठमाडौं, २८ मंसिर — अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनको कुरा ह्वाइट हाउस र विदेश मन्त्रालयले नै पनि काटेको देखिएको छ । उत्तर कोरियासँग वार्ता गर्नका लागि अमेरिका नरम भएको संकेत यसअघि टिलरसनले दिएका थिए ।
मंगलवार टिलरसनले प्योङयाङसँग निःशर्त वार्ताका लागि तयार रहेको बयान दिएका थिए ।
तर उनले त्यसो भनेको २४ घन्टा बित्न नपाउँदै ह्वाइट हाउस र विदेश मन्त्रालयले ट्रम्प प्रशासनको उत्तर कोरियाप्रतिको कडा रवैया दोहो–याएको छ । वार्ता गर्नुअघि उत्तर कोरियाले आणविक हतियार कार्यक्रम बन्द गर्नुपर्नेमा ट्रम्प प्रशासनले जोड दिएको छ ।
हालैका महिनामा टिलरसन यसरी ह्वाइट हाउसको विपरीत गएको यो तेस्रो अवसर हो ।
टिलरसनको बयानमाथि प्रतिक्रिया दिँदै नाम सार्वजनिक नगरिएका एक ह्वाइट हाउस अधिकारीले रोयटर्स समाचार संस्थालाई बताए, ‘उत्तर कोरियाले आफ्नो व्यवहार आधारभूत रूपमा नै सुधारेमा मात्र उससँग वार्ता गरिने विषयमा ट्रम्प प्रशासनको एउटै राय छ ।’
‘विदेशमन्त्री आफैंले भनेजस्तै यसका लागि उत्तरले आणविक वा क्षेप्यास्त्र परीक्षण कार्यक्रम त्याग्नुपर्छ,’ उनले भने ।
विदेश मन्त्रालयकी प्रवक्ता हेदर नावर्टले उत्तर कोरियाको आणविक कार्यक्रमका सम्बन्धमा पूर्वशर्तहरू लागू हुने भन्ने ट्रम्प प्रशासनको अडान दोहो–याउँदै ट्वीट गरिन् ।
बीबीसीबाट