०३ साउन २०८३, आइतबार

बिहीबार ब्रिफिङ : यी हुन मुख्य समाचार

मंसिर २९, २०७४
बिहीबार ब्रिफिङ :  यी हुन मुख्य समाचार


काठमाडौँ, २९ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना बिहीबार पनि जारी रह्यो । पछिल्लो मतपरिणामा नेकपा (एमाले)को अग्रता कायमै छ । 
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २९ लाख ४० हजार ९१३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख ५८ हजार ४९३ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ । 
त्यस्तै नेकपा (माओवादी केन्द्र) ११ लाख ८३ हजार ७०२ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १६ हजार ५३३ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन लाख ७९ हजार २७८,  विवेकशील साझाले एक लाख ९७ हजार २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ८८ हजार ६४, नयाँ शक्ति पार्टी नेपालले ७५ हजार ४८२, राप्रपा (प्रजातान्त्रिक) ले ७४ हजार १२७ र नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६१३ मत ल्याएका छन् । 


राष्ट्रपति र प्रधानमन्त्री भेट– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएकी छन् । 
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालेसँगको भेटमा राष्ट्रपति भण्डारीले निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुनेमा विश्वास व्यक्त गर्दै सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षा पूरा गर्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिएकी छन् । 
भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणना भइरहेका विषयमा जानकारी गराए । 


ओलीको बोली– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्था गर्न प्राथमिकताका साथ लाग्ने बताएका छन् । 
बिहीबार आफ्नै निवास बालकोटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै उनले स्वदेशमै रोजगारीको व्यवस्था गर्नसके युवाले खाडी मुलुकमा गएर पसिना बगाउनु नपर्ने बताए ।
विसं ०४६ को परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टाचारीकरण बढेको छ, उनले भने, “निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योग काँग्रेसको पालामा बेचिए, जसले गर्दा स्वेदशमा भएको रोजगारीसमेत गुमेर अहिले लाखौँ युवा खाडीमा पसिना बगाइरहेका छन् ।” 


राष्ट्रपतिलाई मानर्मदन गर्ने पक्राउ– सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र  अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ ।

सुनुवाई सर्यो–  सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा बिहीबार सुनुवाइका लागि समय नभ्याइएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो । 
गत वर्ष पुस २९ गते राति उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपु¥याई दलगत स्वार्थका आधारमा गरिएको जिकिर गर्दै सरकारी वकिल कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डिलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गर्नुभएको थियो । 


प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकारछौं–  नेपाली कांग्रेसका नेता महेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न आफूहरु तयार रहेको बताएका छन् । 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले भने, ‘परिवर्तनका एजेण्डालाई कार्यान्वयन गर्न माओवादीले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ । माओवादी एमालेको पिछलग्गु हुनुहुँदैन, किनकी एमाले सबै उपलब्धिहरु गुमाउने तरखरमा छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए परिवर्तनका उपलब्धिहरु सबै गुम्नसक्ने उनको दाबी छ ।


पूर्व क्रिकेटर पक्राउ– काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सञ्चालकले करिब पाँच हजार जना सेवाग्राहीबाट टिकटको रकम उठाएको तर मार्समेलो नआएपछि उठाएको रकम फिर्ता गर्न सञ्चालक र आयोजकले अटेरी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
पृथु बाँस्कोटा, मयक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश माडवाडी रहेका छन् ।


अदालतको आदेश–  सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन मूल्यांकन किर्ते कागजात पेस गरेकाले अनुसन्धान गरी कारबाही चलाउन आदेश दिएको छ । 
सर्वोच्चले पूर्णपाठको फैसला जारी गर्दै कार्यसम्पादन मूल्यांकन किर्ते कागजात तयार पार्न संलग्न सबैलाई अनुसन्धान गरी कारबाही गर्ने बाटो खुला गरेको छ । 
सिलवाल ललितपुर १ बाट निर्वा्चित एमाले सांसद हुन् ।
गत २८ फागुनमा सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गरेको थियो । सो निर्णयविरुद्ध डीआईजी सिलवालले रिट दायर गरेपछि सर्वोच्चले चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । 


गाजाँ बरामद–  लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा बिहीबार जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  
साना–साना २२ वटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले पर्सा जिल्ला कल्याणपुर गाउँपालिका वडा नं ४ का २७ वर्षीय हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको हो । 


घुस सहित पक्राउ– भक्तपुर जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घूस लिँदै गर्दा हिजो दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । 
मालपोत कार्यालयको जमिनमुनिको कोठामा घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

नेपालको विश्व रेकर्ड– एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । 
थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्