
बारा, २९ मङ्सिर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ। दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल काठमाडौंसम्म पुगेको थियो।
अन्नपूर्ण पोस्ट लेख्छ- घटना अनुसन्धानका क्रममा हतियार व्यवस्थापन गर्ने पर्साका शिवजी महतोले भारत बिहारको बेतिया जिल्लाका मुकेशकुमार पाण्डेलाई पेस्तोल बुझाएका थिए। पाण्डेले असार अन्त्यतिरै पेस्तोल नारायगढमा श्यामबहादुर गुम्बेलाई बुझाएका थिए। गुम्बेले पाण्डेमार्फत महतोलाई ६५ हजार रुपैयाँ बुझाएका थिए। महतो नेपाल-भारत सीमा रक्सौलमा बसेर हतियार सप्लाई गर्ने र लागुऔषध बेचबिखनमा सक्रिय रहेको अनुसन्धानबाट खुलेसँगै गौचन हत्या अनुसन्धान गर्न बनाएको टोलीका दुई सदस्य अजय केसी र रुगम कुँवर बारा पुगेका थिए। तर महतो सहजै पक्राउ पर्ने थिएनन्। उनी पर्सा प्रहरीमा समेत खोजीको सूचीमा थिए। प्रहरी देखेपछि आफैंलाई पक्रन आएजस्तै लाग्थ्यो महतोलाई। बारा प्रहरीले सुरुको चरणमा महतोलाई उनकै साथीमार्फत वीरगन्ज बोलाउन लगायो। तर, महतो आएनन्। चार दिनपछि महतो मदिरा पिउन रक्सोल पुगे। सादा पोसाकमा खटिएको प्रहरीले महतोलाई समात्यो।