लोकान्तर संवाददाता
काठमाडौं, ७ माघ – नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुन कुमार कार्र्कीमाथि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले भौतिक कारवाही गरेको छ । ललितपुरको सानेपास्थित निवास पुग्नै लाग्दा शुक्रवार साँझ कार्कीमाथि माओवादी कार्यकर्ताले क्रिकेटको ब्याटले आक्रमण गरेका हुन् ।

आक्रमणबाट कार्कीलाई सामान्य चोट लागेको छ भने उनी सवार गाडीको अगाडिको भाग फुटेको छ ।
विप्लव नेतृत्व माओवादीका एक नेताले लोकान्तरलाई दिएको जानकारी अनुसार भुकम्पपछि कार्की सहरी विकास सचिव हुँदा घटाइएको त्रिपाल काण्ड, जस्तापाता काण्ड, भौतिक योजना तथा यातायात सचिव हुँदा सवारी साधनमा नयाँ नम्बर प्लेट राख्ने भनेर ल्याइएको एम्बोस्ड नम्बर प्लेट परियोजना काण्ड र पछिल्लो समय उनले नेपाल ट्रष्टको कार्यालयमा पनि प्रक्रिया नुपर्याई थुप्रै वोलपत्र आव्ह्रान गरेका कारण उनिमाथि कारवाही गरिएको हो ।
भूकम्प पीडितका लागि खरिद गरिएको भनिएका त्रिपाल र जस्तापाता काण्डमा अख्तियारले पनि छानबीन गरेको थियो । तर अख्तियारले सचिव कार्कीलाई जोगाई अरुलाई मात्र मुद्दा चलाएको थियो । त्यसपछि कार्की भौतिक योजना मन्त्रालयमा सरुवा भएका थिए । त्यहाँ उनले करोडौं रुपैयाँको एम्बोस्ड नम्बरको ठेक्काको काम पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीका सम्धी रोहीणी थपलिया र उनका नातेदारलाई सुम्पने गरि निर्णय गराएको आरोप उनिमाथि लाग्ने गरेको छ ।
यस अघि विप्लव माओवादीले नै अख्तियारका विवादास्पद प्रमुख आयुक्त कार्कीमाथि सर्वोच्च अदालत भित्रै कालोमोसो दलेका थिए । कार्कीलाई कालोमोसो दल्ने माओवादी कार्यकर्ता आजै रिहा भएका छन् ।