१८ असार २०८३, बिहीबार

भारतीय कांग्रेसमा २० वर्षपछि नेतृत्व परिवर्तन, सोनीया गान्धीले लिइन् अवकास

मंसिर २९, २०७४
भारतीय कांग्रेसमा २० वर्षपछि नेतृत्व परिवर्तन, सोनीया गान्धीले लिइन् अवकास

नयाँदिल्ली, २९ मङ्सिर– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकासको घोषणा गरेकी छन् । 

छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उनले शुक्रबार घोषणा गरेकी हुन् । 

“अव मेरो भूमिका अवकास पाएपछिको जस्तो हुन्छ,” इटालीमा जन्मेकी ७१ बर्षीया गान्धीले दिल्लीमा सञ्चार माध्यमहरूसँगको कुराकानीमा भनिन् । 

भारतको निकै पुरानो पार्टी काङ्ग्रेसमा उनले अबदेखि कुनैपनि कार्यकारी जिम्मेवारी नलिने पनि बताएकी छन् । 

बर्हिगमन हुदैगरेकी काङ्ग्रेस प्रमुख गान्धीले ४७ बर्षिय आफ्ना छोरा राहुलले पार्टीलाई प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिन् । 

गत तीन बर्ष देखि पार्टीको सक्रिय भूमिकामा रहेकोले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनीयाको दावी छ । 

पार्टीका अहिलेका उपाध्यक्ष राहुलले शनिबार विशेष समारोहकाबीच अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । निर्वाचन भएको पाँच दिनपछि उनले जिम्मेवारी सम्हाल्न लागेका हुन् । 

कांग्रेसको सवैभन्दा माथिल्लो पदका लागि चार दिन पहिले भएको निर्वाचनमा राहुल बाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । 

भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजिव गान्धीकी धर्मपत्नी सोनीया गान्धी गत तीन बर्षदेखि बिरामी भएपछि पटक पटक अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । 

सन् २०११ मा उनी उपचारका लागि अमेरिका गएकी थिइन् । तर उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी गराइएको थिएन । 

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरु परिवारकी उनी एक उत्तराधिकारी हुन् । नेहरु परिवारले सन् १९४७ देखि भारतमा लामो समय सम्म शासन गरेको छ । 
अध्यक्ष सोनीयाले गत २० बर्षदेखि काङ्ग्रेसको नेतृत्व गरेकी छन् । उनकै कार्यकालमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काङ्ग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्