
काठमाडौँ, १ पुस- एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै सरकार गठन प्रक्रिया अघि बढाउने समझदारी भएको छ । नयाँ पत्रिका लेख्छ- सरकार गठनका लागि राष्ट्रिय सभा गठन बाधक नबन्ने निष्कर्षसहित दुवै नेताले निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने समझदारी गरेका हुन् ।
‘आयोगले परिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई बुझाएलगत्तै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने उहाँहरूबीच समझदारी भएको छ,’ एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने, ‘आयोगले परिणाम अड्काएर राख्न नमिल्ने भएकाले सरकार गठन प्रक्रिया अघि बढाउने र त्यसका लागि राष्ट्रिय सभा आवश्यक छैन भन्नेमा दुवै नेता स्पष्ट हुनुहुन्छ ।’ प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनपछि ओली र प्रचण्डबीच पहिलोपटक शुक्रबार भेट भएको हो ।