
काठमाडौं, १ पुस– सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख सचिव खटाउने तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रदेशमा अन्तरिम व्यवस्थापनस्वरुप केन्द्रीय सरकारले प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको प्रस्ताव गरेको छ ।
प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालयको प्रशासनिक नेतृत्वको रुपमा प्रदेश प्रमुख सचिव रहने व्यवस्था गरिएको छ । प्रधानमन्त्री कार्यालयले हाल रहेका पाँचवटा क्षेत्रीय प्रशासन कार्यालयका सचिवलाई नै प्रदेश प्रमुखमा सचिवको रुपमा पठाउने भएको हो ।
बाँकी दुई प्रदेशका लागि केन्द्रबाट दुईजना वरिष्ठ सहसचिवलाई कामु जिम्मेवारी दिएर पठाइने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रदेश १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ६ मा सुरेश प्रधान र प्रदेश ७ मा लक्ष्मीराज पौडेललाई खटाउने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
यसैगरी प्रदेश २ र ५ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला र वैकुण्ठ अर्याललाई कामु जिम्मेवारी दिएर पठाइँदै छ, अन्नपूर्ण पोस्टमा खबर छ ।