
सुनसरी, १ पुस– दोस्रो दुहबी मनमोहन गोल्डकप फुटबलको उपाधिका लागि मनाङ मस्र्याङदी र नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी शनिबार भिड्दै छन् । दुहबी रंगशालामा दिउँसो साढे २ बजे खेल सुरु हुनेछ ।
उपाधिका लागि भिड्न लागेको आर्मीले जारी गोल्डकपको दोस्रो सेमिफाइनलमा रुपन्देही–११ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । क्वाटरफाइनलमा भने आर्मीले मोरङ ११ लाइ टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो।
यस्तै, मनाङले पहिलो सेमिफाइनलमा चर्च ब्याइज क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गरेको थियो । क्वाटरफाइनलमा भने आयोजक एलेभेन एरोज क्लबलाइ ५–२ गोल अन्तरले पराजित गरेको थियो ।
गत वर्षदेखि आयोजना हुँदै आएको गोल्डकप विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार जित्ने छन् ।