३० असार २०८३, मंगलबार
जेनजी आन्दोलनपछिको कांग्रेस

देउवालाई हटाएरै छोड्ने रणनीतिमा शेखर-गगन र विश्व

विशेष महाधिवेशनका लागि ४० प्रतिशतको हस्ताक्षर जुटाएको दाबी
असोज २१, २०८२
काठमाडौं
देउवालाई हटाएरै छोड्ने रणनीतिमा शेखर-गगन र विश्व

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जसरी पनि हटाएरै छोड्ने रणनीतिमा महामन्त्रीद्वय र नेता डा. शेखर कोइराला लागेका छन् । जेनजीको आन्दोलनपछि रक्षात्मक बनेको मुख्य नेतृत्वलाई हटाएर छोड्ने तयारीमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता कोइराला लागेका हुन् । 

नेतृत्वकै असफलताले पार्टीले बदनामी बेहोरेको, युवाहरू टाढिएको भन्दै उनीहरूले मंसिरभित्रै देउवालाई हटाउने रणनीति बनाएका छन् । यसका लागि ४० प्रतिशत महाधिवेशनका प्रतिनिधिको हस्ताक्षर जुटाएर विशेष महाधिवेशनमा जाने उनीहरूले तयारी गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समिति आफैंले विशेष महाधिवेशनको घोषणा नगरे ४० प्रतिशतले माग गर्ने प्रस्ट्याएका छन् ।

‘कतिपयले २६ गते बस्ने कार्यसमिति बैठक हेरेर हस्ताक्षर गर्नु उचित हो कि भनेका छन् । मैले यसमा पनि स्पष्ट पारेको छु, हस्ताक्षर नै गर्ने भएपछि आइतबार किन पर्खिनुहुन्छ ? भनिन्छ नि लगनपछिको पोतेको के काम ? जो मित्रले हस्ताक्षर गरिरहनुभएको छैन भनिदिनुस् सरी म हस्ताक्षर गर्दिनँ,’ शर्माले भनेका छन्, ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गरिदिनु न । साथीहरूले बैठक बस्नु एक दिनअघि असोज २५ गते विशेष महाधिवेशन माग गरेर केन्द्रीय कार्यालयमा पेस गर्न चाहन्छौं । सँगसँगै उभिन चाहनुभएको छ भने साइत के को लागि हेर्दै हुनुहुन्छ ?’

हस्ताक्षर अभियानमा लागेका युवा नेता गुरुराज घिमिरेले ह्वाटस्एपमार्फत अगाडि बढाइएको अभियानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबी गरे ।

‘ह्वाटस्एपमार्फत हामीले हस्ताक्षर जुटाउन फरम्याट पठाएका छौं । जिल्ला र क्षेत्र-क्षेत्रबाट डिजिटल र हार्ड दुवै कपी आउँछ । दशैँ र मनसुनको प्रभावले अलि ढिलाइ भयो । तर, असोज २४ गतेसम्म जम्मा गरेर २५ गते केन्द्रीय कार्यालयमा दर्ता गर्छौं,’ घिमिरेले भने, ‘हाम्रो सूचना अनुसार ४० प्रतिशतले हस्ताक्षर गरिसक्नुभएको छ । तर, हामी ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि पुर्‍याएर विशेष महाधिवेशन माग गर्छौं ।’

४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । जसले अस्थायी प्रयोजनका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचित गर्नेछ ।

विशेष महाधिवेशनपछिको अवधि कति हुने भन्नेमा विधानले व्यवस्था गरेको छैन । यसअघि २०१४ सालमा दुई वर्षसम्म विशेष महाधिवेशनको नेतृत्वले काम गरेको नजिर भएको घिमिरे बताउँछन् ।

‘पार्टी सञ्चालनको तौरतरिका भएन । नियमित महाधिवेशन भएन । गठबन्धन नगर्ने भनियो तर स्ववियुको चुनावमा समेत गठबन्धन गरेपछि राजनीतिक विकृति देखापर्‍यो । केन्द्रीय समिति नै असफल भयो । यी सबैको प्रकट जेनजी आन्दोलनमा भएको हो,’ घिमिरे भन्छन्, ‘यसैले संक्रमण टार्नलाई र पार्टी वैधानिकता बचाएर नयाँ नेतृत्वमा चुनावमा जानका लागि पनि विशेष महाधिवेशन चाहिएको हो ।’

यसअघि सम्बन्ध बिग्रिए पनि पछिल्लो घटनाक्रमले गगन र शेखरबीच पनि संवाद बढेको छ । सोमबार पनि दुवैले हस्ताक्षर अभियान र अबको गतिविधिबारे लामो छलफल गरेको घिमिरेले जानकारी दिए ।

‘सोमबार पनि दुई नेताबीच लामो संवाद भएको छ । नेतृत्व बदल्ने कुरामा उहाँहरू एकमत हुनुहुन्छ । त्यो पनि मंसिर मसान्तभित्र नेतृत्व बदल्नुपर्नेमा दुवैको समान मत छ । सके नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प नभएकोमा दुवैको एउटै बुझाइ छ,’ घिमिरेले भने, ‘दुईतिर होइन एकै ठाउँमा उभिएर मात्रै अहिलेको संकटलाई चिर्न सकिन्छ भन्ने बुझाइपछि पछिल्लो समय उहाँहरूबीच भेटघाट र संवाद बढेको हो ।’

महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष अधिवेशनको व्यवस्था विधान विपरीत नभएको बताएका छन् । ‘विधान अनुसार गर्दा कमजोर होइन बलियो बनाउँछ । मान्छेलाई आवश्यक पर्दा मेडिकल साइन्सले अपरेसन गर्छ । त्यसले थोर बहुमत कमजोर जरूर बनाउला । तर अपरेसनपछि मान्छे तन्दुरुस्त बन्छ’, मंगलबार जारी गरेको भिडियो सन्देशमा शर्माले भनेका छन्, ‘नियमित महाधिवेशन गर्न सक्नु नै सर्वोत्तम विकल्प हो । सबैतिर ताजा नेतृत्व पाउनेछ । विधान संशोधन गरे बटम टु टप सबै तहमा युवाहरूको व्यापक सहभागिता बढाउन सक्नेछौं । सबैको ऐक्यबद्ध उत्तर हुन जरुरी छ । सकिन्छ, सक्नैपर्छ । जेनजीको दुई अढाइ दिनको आन्दोलनले पूरै सत्ता उलटफेर गर्न सक्यो भने दुई अढाइ महिनामा कांग्रेस जस्तो दृढ राजनीतिक पार्टीले आफ्नो महाधिवेशन गर्न सक्दैनौं ? विलकुल सक्छौं । सक्नुपर्छ ।’

यसअघि सम्बन्ध बिग्रिए पनि पछिल्लो घटनाक्रमले गगन र शेखरबीच पनि संवाद बढेको छ

विशेष महाधिवेशन बोलाउने विषयमा पार्टीमा हुने बहसका लागि तयार रहेको समेत शर्मा बताउँछन् । 

‘कसैले परिवर्तन गर्न सकिँदै भन्नुभएमा तपाईंको हस्ताक्षरले हामी सबैलाई स्वागत गर्नेछ विशेष महाधिवेशनमा । केन्द्रीय कार्यसमितिमा बहस होला । फरक फरक विचारहरू आउलान् । तर, अत्यन्तै संयम र अत्यन्तै एकतापूर्वक छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्नु हामी सबैको साझा जिम्मेवारी हो । हामी त्यो गर्नेर्छौं,’ शर्माले भनेका छन्, ‘हामी संकल्प गरौं हामी बदलिन्छौं । समय अनुरूप कांग्रेस बदल्नेछौं । बदलिएको कांग्रेस तपाईं हाम्रो भन्दा देशका लागि जरुरी छ । जो बदलिन्छन् नेतृत्व, लिन्छन्, जो बदलिँदैनन् तिनले नेतृत्वबाट बिदा लिन्छन् ।’

असोज २५ गते विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिने उनको भनाइ छ । ‘पार्टी विधान धारा १७ को दफा २ ले भन्-  केन्द्रीय कार्यसमितिले चाहेमा विशेष महाधिवेशन आफैं बोलाउन सक्छ । २६ गतेको बैठकमा यो सुझाव र विकल्पबारे पनि हामी जरूर छलफल गर्छौं । अहिलेको विषम परिस्थितिमा जमेको पोखरी जस्तो हामी बसिरहन चाहँदैनौं । हामी उपयुक्त निष्कर्षमा जरुरी पुग्नेछौं,’ शर्माले भनेका छन्, ‘नियमित महाधिवेशन गर्न सक्नु नै सर्वोत्तम विकल्प हो । सबैतिर ताजा नेतृत्व पाउनेछ । विधान संशोधन गरे बटम टु टप सबै तहमा युवाहरूको व्यापक सहभागिता बढाउन सक्नेछौं ।’

देउवाको अर्कै दाउ

नियमित चार वर्ष सकिन लागेको र अब थपेको डेढ वर्षको मात्रै समय बाँकी रहेकोले विशेष महाधिवेशन आवश्यक नपर्ने सभापति देउवाको मत छ । अर्कोतिर अब विधानले आफूलाई उठ्न नदिने भन्दै उनले निकटका नेतालाई तपाईंहरू तयार हुनुस्, सहमति गर्नुस् भनेर इंगेज गर्न खोजेका छन् । ​जेनजी आन्दोलनको रापतापमा विशेष महाधिवेशनबाट हट्नुपरेको ट्याग भिर्ने पक्षमा देउवा छैनन् । तर, मुखै खोलेर कसलाई अगाडि बढाउने भनेर देउवाले प्रष्ट पारेका छैनन् ।

null

यसैले नेता विशेषलाई आश्वासन दिने, पदबाट हट्छु भन्ने  र चुनावपछि मात्रै महाधिवेशन गर्ने दाउमा देउवा छन् । अप्ठ्यारै पर्ने स्थिति आए कार्यवाहक सभापति उपसभापति पूर्णबहादुर खड्कालाई बनाउन पनि केहीले सुझाएका छन् । विशेष महाधिवेशन गर्नुभन्दा कार्यवाहक सभापति अर्को नेतालाई दिँदा उपयुक्त हुने सुझावसमेत देउवालाई दिनेहरू रहेको एक नेता बताउँछन् ।

अर्कोतिर तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउँदा अहिलेको कार्यसमितिको नियमित चार वर्षे कार्यकाल सकिनेछ । त्योभन्दा अगाडि प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिको अवधि सकिनेछ ।

देउवा निकटका एक नेता हल्ला गरेजस्तो ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको संख्या जुट्न सहज नभएको बताउँछन् ।

‘भेटघाट गरे पनि शेखर र गगनबीच को हाबी हुने भन्ने लडाईं छ । उनीहरूले आफ्नैलाई हस्ताक्षर गर्नबाट रोकेको सुनेका छौं,’ ती सदस्यले भने, ‘त्यसैले सहजै ४० प्रतिशत पुग्छ भन्ने लाग्दैन ।’ 

१४ औं महाधिवेशनमा साढे ४ हजार महाधिवेशन प्रतिनिधि रहेका शेखरले सभापतिमा ४० प्रतिशत मत पाएका थिए । महामन्त्रीमा थापाले ६४ प्रतिशत मत बटुलेका थिए ।

विशेष महाधिवेशन माग नै उपयुक्त नहुने संस्थापनपक्षीय नेताको भनाइ छ ।  कतिपयले सभापति घाइते भएका बेला नेतृत्व छोड्न दबाब आएको भन्दै फेस गरेर जानसमेत देउवालाई सुझाएका छन् ।

तर, देउवा निकटकै एक केन्द्रीय सदस्य विधानले पनि रोक्ने भएपछि पदबाट हटेको घोषणा गर्न ढिलाइ गर्न नहुने बताउँछन् ।

‘नियमित अवस्थामा पनि सभापतिले छोड्ने नै हो । यसैले उहाँले खुला भएर मैले छोडे तपाईंहरू पार्टी चलाउनुस् भन्नुपर्ने हो । उहाँलाई अब उमेरले पनि साथ दिँदैन,’ ती केन्द्रीय सदस्यले भने, ‘समय सकिन लाग्दा विशेष महाधिवेशन फेस गर्ने कुराले उहाँ पद छोड्न तयार हुनुहुन्न भन्ने सन्देश जान्छ । विशेष महाधिवेशनको प्रक्रिया अघि नबढ्दै उहाँले पद छोडेको घोषणा गर्नु कांग्रेसका लागि सबैभन्दा उत्तम विकल्प हो ।’

salt training

कमेन्ट गर्नुहोस्