
सभापति शेरबहादुर देउवा उपस्थित हुन नसकेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकमा महामन्त्री र सहमहामन्त्री आपसमै ‘भिडेका’ छन् ।
सभापतिको देउवाको ‘अप्ठ्यारो अवस्था छ, एक ढिक्का भएर सर्वसम्मत निर्णय लिएर जानुस् भन्ने सन्देश छ’ भन्दै उपसभापति पूर्णबहादुर खड्काले शुरू गरेको बैठकमा नेताहरू आपसी आरोप- प्रत्यारोपमा उत्रिएका हुन् ।
बैठकको अध्यक्षता गर्दै खड्काले गत भदौ २३ र २४ गते र त्यसपछिका घटनामा कसरी जाने भन्दै सुझाव दिन र केन्द्रीय समितिबाट समान धारणा बनाएर जानुपर्ने बताएका थिए ।
पहिले सभापति देउवा समेत उपस्थित हुने भन्दै कुपण्डोलको होटल हिमालयमा पदाधिकारी बैठक बोलाइएको थियो । तर, उनी अनुपस्थित हुने भएपछि बैठक आन्दोलनकारीले जलाएकै सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको हो ।
खड्काले देउवाको सन्देशसहित बैठक शुरू गरेपछि महामन्त्री गगन थापाले मंसिरको अन्तिमसम्म नियमित महाधिवेशन गर्न सकिने प्रस्ताव गरे । पार्टीको औपचारिक हिसाबले भन्दा पनि म्याद नथपी नियमित महाधिवेशन गरौं भन्ने प्रस्ताव गरे । केन्द्रीय समिति बैठक लगत्तै कार्यतालिका बनाएर जाने र नियमित महाधिवेशन गर्न सकिने थापाको प्रस्ताव थियो ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाए पनि थापाले महाधिवेशन गर्ने सुनिश्चितता हुँदा मंसिर मसान्तसम्म नभए पुससम्म मसान्तसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । यसका लागि उनले क्रियाशील सदस्यताको विषय चाँडो टुंग्याउने खाका पनि प्रस्तुत गरेको एक पदाधिकारीले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफ्नो सम्पूर्ण ध्यान नियमित महाधिवेशनमा भएको बताए । यसलाई पनि गिजोल्न खोजिए विशेष महाधिवेशनको विकल्प नभएको उनले प्रस्ट्याए । ‘यो केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव म ल्याउँदिनँ, ल्याए पनि मान्दिनँ’, थापाले भने, ‘मंसिरमा चार वर्षे नियमित कार्यकाल सकिँदैछ । यसैले अब नियमित महाधिवेशन हुन्छ । नभए विशेष महाधिवेशन हुन्छ ।’
तर, थापाले सभापति देउवालाई अपमानपूर्वक हटाउने पक्षमा नभएको भनाइ राखे । ‘सभापतिमाथि आक्रमण भयो हामी उहाँलाई अपमानपूर्वक हटाउनुपर्छ भन्ने मतमा छैनौं,’ थापाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘पार्टी सभापतिलाई ग्रेसफुल एक्जिट गराउने हो । यसैका लागि छिटो महाधिवेशन सुनिश्चित हुने गरी अघि बढौं र यसको लागि योजनाबद्ध काम गरौं ।’
त्यसपछि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने मत राखे । जबकि दुई दिन अघि मात्रै शर्माले ठोकुवा गरेर शुक्रबारसम्म ४० प्रतिशत महाधिवेशन प्रतिनिधिसभाको हस्ताक्षर जम्मा हुने दाबी गरेका थिए ।
अन्ततः शर्मा पनि गगनकै लाइनमा ‘मंसिरमा नियमित महाधिवेशन नभए मात्रै विशेष महाधिवेशनको विषय फेरि उठ्छ’ भनेर बोले । आफूले पार्टीमा निरन्तर नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विकल्प ल्याएको फेहरिस्त प्रस्तुत गरे । महासमितिमा प्रधानमन्त्री, सभापति, मन्त्री र सांसदका लागि एक, दुई, तीन र चार पटकको प्रस्ताव गरे पनि कार्यान्वयन हुन नसक्दा आजको दिन आएको जिकिर गरे ।
उनीपछि सहमहामन्त्री महेन्द्र यादवले चुनावमै जानका लागि पार्टीले जोड गर्नुपर्ने मत राखे । ‘चुनावमा नजाने भन्ने होइन । तर, वातावरण कसरी बनाउने सिरियस हुनपर्यो,’ यादवले भने, ‘यसका लागि गम्भीर छलफल गर्नुपर्छ ।’
त्यसपछि अर्का सहमहामन्त्री उमाकान्त चौधरी महामन्त्री शर्माविरुद्ध खनिए । महामन्त्री भइसकेको नेताले एजेन्डा ल्याएर छलफल गर्नुपर्नेमा भाषण गर्दै कार्यकर्ता भड्काएको आरोप लगाए ।
‘महामन्त्री भनेको जिम्मेवार पद हो । तर, भएर एजेन्डा ल्याउने मान्छेले सही गरौं भनेर भाषण गर्ने ? सर्वसम्मतिका लागि पहल नगर्ने ?’ आक्रोशित हुँदै चौधरीले भने, ‘जिल्लातिर सही गर्ने, मान्छे महामन्त्रीका नगर्ने बाहिरका भनेर छुट्याउन थालिएको छ । भोलि टिकट दिँदा यही आधारमा भेदभाव गर्ने, पार्टी कब्जा गर्ने हो ? जिम्मेवार नेताले जिल्लामा फाटो ल्याउने यस्तो पनि राजनीति हुन्छ ?’
आफूमाथि चौधरी जाइलागेपछि शर्माले काउन्टर दिन खोजेका थिए । तर, बोल्न नपाएको एक नेताले जानकारी दिए ।
पूर्वउपसभापति विमलेन्द्र निधिले पनि विशेष महाधिवेशन विकल्प नभएको बताए । समय सकिन लागेकाले नियमित महाधिवेशन गरेर पार्टीका चुनौतीलाई चिर्नुपर्ने मत राखे ।
पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले मंसिरसम्म नियमित महाधिवेशन नभए आफूले पनि हस्ताक्षर गर्ने चेतावनी दिए ।
‘म नियमित महाधिवेशनकै पक्षमा हो । तर, मंसिरभित्रै गर्नुपर्छ । मैले त बारम्बार यही भन्दै आएको छु,’ केसीले बैठकमा भने, ‘यसैले मैले अहिलेसम्म हस्ताक्षर गरेको छैन । नियमित महाधिवेशन मंसिरमा हुँदैन भने विशेष महाधिवेशनका लागि म पनि हस्ताक्षर गर्छु ।’
बैठकमा नेता शेखर कोइरालाले पछिल्लो परिस्थिति आउनुका पछाडि र पार्टीको भावी योजनाबारे सन्तुलित ढंगले कुरा राखेको एक पदाधिकारीले जानकारी दिए ।
‘अहिले आन्दोलनले गर्यो गहन छलफल गरौं । चुनाव गर्ने भन्ने दलविनाको चुनाव कसरी हुन्छ ? यी विषयमा हामीले समीक्षा गरेर धारणा बनाउनुपर्छ,’ शेखरले भनेका थिए, ‘पछिल्लो घटनाक्रम यत्तिकै भएको छ भन्ने होइन । संविधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटेड मात्रै भन्नुभएको थियो । तर, यसपटक छिट्टै सुशीला कार्की प्रधानमन्त्री भएपछि फोन गरेरै बधाई दिएको देखियो । यीबारे पनि छलफल गरौं । जानकारी सेयर गरौं ।’
शेखरले पनि नियमित महाधिवेशनकै पक्षमा विचार राखे ।
‘म नियमित महाधिवेशनकै पक्षमा हुँ । यसअघिदेखि नै महाधिवेशन सुनिश्चित हुने दिशामा अगाडि बढ्नुपर्छ भन्ने मत राख्दै आएको छु,’ शेखरले भने, ‘यसले छिट्टै नियमित १५ औं महाधिवेशन गरेर जाँदा पार्टीका चुनौतीलाई चिर्न सकिन्छ ।’
सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेले पनि पछिल्लो घटनाक्रमको समीक्षा गरेर अगाडि बढ्न सुझाए । सबै पदाधिकारी र पूर्वपदाधिकारीले बोल्ने क्रम नसकिएपछि बैठक पुन: शुक्रबारका लागि बोलाइएको छ ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सरकारलाई असंवैधानिक भने पनि राजनीतिक रूपले चुनावबाट नभाग्ने बताए ।
‘कानूनी कोणबाट प्रतिनिधिसभा विघटन संवैधानिक होइन भन्ने छ । तर पनि हामी राजनीतिक रूपले निर्वाचनबाट भाग्ने पार्टी होइनौं,’ महतले भने, ‘देशलाई अनन्तकालसम्म लान सकिँदैन । त्यस्तो अवस्थामा पुनःस्थापनाको विकल्प बन्द गर्दैनौं । तर निर्वाचन विश्वसनीय ढंगबाट हुने स्थितिमा राजनीतिक निर्णय लिनुपर्छ ।’
तर, पार्टीमा यसअघि उठे जस्तो कार्यवाहक सभापति दिएर जाने विषयमा छलफल नभएको उनले बताए । भदौ २४ गतेको घटनाको विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले कारबाही नगर्ने पत्र पठाएकोप्रति कांग्रेसले आपत्ति व्यक्त गरेको महतले बताए ।
विध्वंश, लुटपाट र गम्भीर आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिनेले असुरक्षाको बीच कसरी चुनाव गर्न सक्छ भन्दै उनले प्रश्न उठाए ।