
'बाबा मलाइ हिमाल हेर्न र ट्रेकिङ गर्न मन लागेको छ, लानु न' साढे चार वर्षको सानो छोरा सत्कृतको जिज्ञासा पूरा गर्न दशैँको छुट्टिमा धुम्न जाने निधो गरियो। सत्कृत, जीवन सङ्गिनी सवितासँगै मैले पोखरा र नजिकै सेरोफेरोमा चार दिन निकै रमाइलो गरी बितायौ। दशैँ आउनुअघि शुक्रवारको दिन बाबु र म आठ घण्टा लामो बस यात्रापछि पोखरा पुग्यौं। अन्तिम समयमा गरिएको अनुरोधले बसको पछाडिको दुई सिट जुराइदिनुभएको थियो, मेरा मित्र अर्जुन सुवेदी सरले। पछाडि भए पनि सिट आरामदायी थिए। सविता भने आफ्नो अफिस सकेर पखेटाको सहारा (हवाइजहाज)ले सोही दिन पोखरा आइपुगिन्।
बाटोमा अर्जुन सरले सत्कृतलाई चारवटा केकको पोकोनै दिनुभयो। मुसुक्क हास्दै छोराले भन्यो। अर्जुन सरले त मलाई कति धेरै माया गर्नुभएको सप्पै दिनुभयो। हुन पनि केक मिठो थियो। सत्कृत झ्यालको सिटमा बसेर रोचक र जिज्ञासाले भरिपूर्ण प्रश्न सोध्थ्यो र आफ्नै उत्तरहरूले समाधान पहिला खोज्थ्यो। पछि म सहजीकरण गर्थे। यसरी सहजै पोखरा पुगियो। पोखरामा बस्ने होटलको व्यवस्था पहिलेनै सविताले गरेकी थिइन्। स्कूल पढ्दाका साथी भुवनले चलाएको स्ट्रिट नं ५ मा स्थित होटल पुस्पमा बसियो । पारिवारिक वातावरणमा सहयोगीहरूको राम्रो व्यवहार तथा मीठो खानाले बसाई साच्चिकै राम्रो थियो। भर्खरै भएको आन्दोलनको प्रभावले होला यसपटक पोखरामा आन्तरिक एवम् बाह्य पर्यटकको पातलो उपस्थिति भएको जानकारी पायौं।
भोलि बिहान लेकसाइडतिर हिँड्दै लागियो। लेकसाइडमा केही बेर रमाउँदै हामीले पनि फोटोहरू खिच्यौँ। बाबु सत्कृत रमाउँदै बोटिङ गर्ने रहर गर्यो। डुङ्गामा हुँदा उसले पानी खेलाउँदै बस्न मन परायो। तर सतर्कता भने अपनाउनु पर्छ। हाम्रो पुरा ध्यान उसैको रेखदेखमा वित्यो। सत्कृतले फेवाताल, तालमाथि तौरेका डुङ्गा, हरियाली जङ्गलको दृश्यमा रमाउँदै फोटो खिच्न भन्यो, मैले खिच्दा ऊ मुसुक्क हाँसेर आकाशतिर हेर्यो। त्यसपश्चात् फेवा किनारदेखि सराङकोटसम्म जोड्ने २। ३ किलोमिटर लम्बाई रहेको अन्नपूर्ण केबलकारमा चढेर हामी फेवाताल, माछापुच्छ्रेलगायत हिमाल र पोखरा बजारलाई आकाशबाटै अवलोकन गर्दै केबलकारबाट १० मिनेटको सराङकोट यात्रातर्फ लाग्यौ। सत्कृतले भन्यो, 'बाबा यो घर त डोरीमा झुण्डिएको छ, खस्यो भने के गर्ने ?' एकैछिन त म अवाक् भए, अनि भने यो डोरी बलियो छ, आत्तिनु पर्दैन। त्यसपछि भने ऊ रमाएर कोठाभित्र डुल्दै दृश्यावलोकन गर्न थाल्यो।
सारङकोट पुगेपछि हामी नजिकैको भञ्याङ् भिलेजमा पुगेर रमायौं। यस ठाउँबाट साँझपख प्रकृतिको स्पर्शका साथै माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा पिङ खेल्दा मनै आनन्दित भएको थियो। सत्कृत भने त्यँहा भएका सानासाना ढुङ्गाले हिमाल बनाउँछु भनेर चुली बनाउँदै रमायो। सराङकोटबाट देखिने सेती नदी, हेम्जाको फाँट, धम्पुसको गाउँ, हिमाली शृङ्खलाले पोखरालाई सच्चिनै सिँगारेको अनुभूति हुन्छ। साँझ ६ बजेपश्चात् केबुलकार बन्द हुने हुनाले हामी फर्केर बालबालिकाका लागि लेकसाइडमा राखिएका रेल, पीङमा छोरासँगै रमायौं ।
बेलुकी होटल फर्केर सत्कृतको पदयात्रा रहर पुरा गर्ने उद्देश्यले हामीले सजिलो पैदल यात्राबारेमा बुझ्यौं। धम्पुस हुँदै अष्ट्रेलियन बेस क्याम्पसम्मको यात्रा राम्रो दृश्यहरू अवलोकन गर्न पाइने उत्तम गन्तव्यमा जाने निधो गर्यौ। होटलमा बिहानै गाडी लिन आइपुग्यो। पोखरा बागलुङ राजमार्ग हुँदै करिब २६ किलोमिटरको यातायात सडक पार गरेर हाल माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने धम्पुस गाउँ पुगियो। धम्पुसको दलबहादुर गुरुङको धौलागिरी भ्यु पोइन्ट होटलमा हामीले बस्ने निधो गर्यौ।
मेरो छोराले आफ्नै उमेरका साथी बनायो, नाम रहेछ समर। समान उमेरका हुनाले उनीहरू एक अर्कासँग खेल्न पाउँदा निकै खुशी भए। खाना खाएरपश्चात् हामीले धम्पुस गाँउ वरिपरि धुम्यौँ । यसैबीच पर्यटनविद् डा. चेतनाथ कणेलको फोन आयो, शुभकामना आदान प्रदानपश्चात्, उहाँले पर्यटनले स्थानीय उत्पादन र जीविकोपार्जनमा टेवा दिनु पर्छ भनेको कुराले निकै छोयो। हुन पनि पर्यटनले त्यस भेगको स्थानीयलाई सहयोग हुनुपर्दछ। सविताले स्थानीयले उत्पादन गरेका ऊनबाट बनेको कपडा किनिन्। बाबुले सानो खेलौना किन्यो। बेलुकी माछापुच्छ्रे हिमाल हेर्दै बस्यौँ। स्थानीय लोकल उत्पादनकै खानामा जोड दियौँ। नजिकै गोठबाट ल्याएको ताजा दूध निकै राम्रो थियो। सत्कृतले दूध खाँदै भन्यो, 'कति मिठो, कफी हालेजस्तो।'

अर्को दिन बिहानै आकाश खुलेको थियो, ओछ्यानबाटै सेता हिमाल देख्न पाइँदा, नेपाली जनले सम्झने गीत सविताले गुनगुनाइन्, बिहान उठ्नेवित्तिकै हिमाल देख्न पाइयोस्। बिहानको हलुका खाजा खाएर हामीले ढुम्पुसबाट अष्ट्रेलियन बेस क्याम्पसम्मको ट्रेक शुरू गर्यौं। तीनजनाले हात समातेर १५ मिनेट हिँडेपछि अन्तिमको चिया पसलमा बसेर गफियौँ। नेपालको झण्डा सत्कृतले किन्न भन्यो। झण्डा हल्लाउँदै, आइ लभ नेपाल भन्दै ऊ फटाफट हिँड्न थाल्यो। छोरा निश्चिन्त र मस्तसँग हिँडिरहेको देख्दा, मेरो मन अचानक विगतमा फर्कियो। बालापनको त्यो स्वतन्त्रता, बुबासँग गाउँ जाने उत्साह, रुख चढ्ने हिम्मत र बिना डरका पाइला, सबै दृश्यहरू एकैपटक आँखामा नाच्न थाले। समयले सधैं हामीलाई परिवर्तन गर्छ, तर भित्र कतै त्यो बालक अझै बाँचिरहेछ, जसले खोज्न, खेल्न र नयाँ कुरा सिक्न चाहन्छ। आज म त्यही यात्रामा छु, तर भूमिकामा परिवर्तन आएको छ। अब म बुबा छु र मेरो सानो छोरा मेरो भित्री बालकको प्रतिबिम्ब बनेर हिँडिरहेको छ। शायद जीवनको सबैभन्दा सुन्दर यात्रा यही हो।

तर प्रकृतिको अगाडि कसको के लाग्छ र ? केहिबेर हिँडेपछि ठाडो उकालो आयो, अनि २० मिनेटसम्म मैले ऊलाई मेरो काँधमा बोके। उ रमायो, मलाई पनि उसलाई यसरी बोकेर हिँड्दा रमाइलो नै महशुस भयो। यसरी सानो साथी भएको थियो सत्कृत । अनि उसको खुशी र सिकाइको अनुभव अद्भुत थिए। ऊ प्रकृतिसँग संघर्ष गर्दै थियो। बीचबाटामा जुकाहरूले टोके पनि, ऊ आफैँले नुन लगाएर उपचार गर्न सिकेको थियो। यसरी बालबालिकालाई साना चुनौती सामना गर्न सिकाउनु पनि एउटा महत्वपूर्ण सिकाइ भएको मैले महशुस गरेँ। सानो उमेर भए पनि मेरो छोराले यो यात्रा निकै रमाइलोसँग पार गर्यो।
सामान्यतया एक घण्टा लाग्ने यो पदयात्रा हामीलाई कुरा गर्दै बस्दै हिँड्दा करिब ४५ मिनेट बढी लाग्यो। कास्की जिल्लाको अन्नपूर्ण ६ लुम्लेमा पर्ने २ हजार ६० मिटरको उचाइमा रहेको अष्ट्रेलियन बेस क्याम्प छोटो दूरीको पदयात्राको लागि उत्कृष्ट गन्तव्य रहेछ। अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटैमा रहेको यो बेस क्याम्पबाट सूर्योदय भइरहेको मनै हर्ने दृश्य यस क्याम्पको प्रमुख आकर्षण रहेछ। यसका साथै क्याम्पको दाहिनेतर्फ अन्नपूर्ण र हिउँचुली र बाँयापट्टी माछापुछ्रेको भव्य दृश्य देख्न पाइने रहेछ। हामी पुग्दा आकाश भने नखुलेकाले वरिपरीको वातावरणमै रमायौं।

सत्कृत पिङमा रमायो। नेपाली झण्डा हल्लाउँदै यताउता पर्यटकसँग रमायो। सानो टेन्टमा आराम गर्यौ । हाम्रो केन्द्रबिन्दुमा सत्कृत थियो। उसको इच्छाअनुसार हामी चलिरहेका थियौं। बालबालिकासँग यात्रा गर्दा ध्यान दिनुपर्ने केही कुराहरू ख्याल राख्नु भने पर्दछ। आरामदायी लुगा र जुत्ता, खानपान र पानीको पर्याप्त व्यवस्था, चोटपटक र साना समस्या समाधानका लागि प्राथमिक उपचार सामग्री, बच्चा थकित भएमा समय समयमा बोक्ने वा आराम गर्ने प्रबन्ध। यस यात्राले सत्कृतलाई साथी बनाउन, खेल्न र सिक्न अवसर प्रदान गरेको थियो। सानो उमेरमै यस्तो अनुभवले बालबालिकाको साहस, स्वावलम्बन र प्रकृतिप्रतिको उत्सुकता बढाउँछ भन्ने मलाई लाग्छ।

हाम्रो यात्रा रमाइलो मात्र नभएर सिकाइले भरिपूर्ण भएको लाग्यो। आफ्नै अगाडि टलक्क टल्किरहेका हिमाल देखेर दंग परेका सत्कृतले भन्यो, 'बाबा, मेरो एउटा फोटो खिचेर जाल्पा म्याम (स्कुलको हेड टिचर)लाई पठाइदिनु त।' हामीले हस् भन्दै फोटो खिचिदिन्थ्यौं। उसले जस्तै गरी हामीले पनि उभिएर फोटो खिच्न लगाउँथ्यो। यस पदयात्रामा आन्तरिक पर्यटकहरू बाक्लै गरी पुग्ने रहेछन्। यात्रामा करिब २०/३० जना विदेशीहरू पनि भेटिए। एक जना विदेशीले त सत्कृतसँग फोटोनै खिचिन्, उनी क्यानडाबाट आएकी रहिछन्। मैले नेपाल, पोखरा सबै पर्यटनका लागि सुरक्षित छन् भन्ने सन्देश फैलाइदिन आग्रह गरे। उनले स्वीकार गरिन् ।

सुन्दर र भव्य हिमालहरू देखेर केही समयका लागि भए पनि फुर्सद निकालेर आउनु पर्ने ठाउँ भएको सविताले बताइन्। काठमाडौंको कोलाहलबाट यहाँ आइपुग्दा त मनै फुरुङ्ङ भएको छ। सत्कृतलाई अष्ट्रेलियन बेस क्याम्प एकदमै मनमोहक लागेछ, उनी भन्दै थिए, 'बाबा यही घरमा बसौ न।'

छोराको ट्रेकिङ मोह पूरा गर्ने सबैभन्दा सजिलो र सुगम यात्रा भएको यस अनुभवले हामीलाई सधैं सम्झनायोग्य क्षणहरू दियो। पितृत्व र प्रकृतिको मेल भएको यो हिमालको काखको यात्राले मेरो सानो छोराबाट पनि सिक्न र सिकाउन सकिने रहेछ भन्ने अनुभव भयो। अर्को दिन हामी धम्पुसबाट फर्किएर दिउँसोको फ्लाइटमा पोखराबाट काठमाडौं फर्कियौं । प्लेन चढनु पूर्व एयरपोर्टभित्र विमानतर्फ लाग्न बसमा चढियो। आश्चर्य मान्दै सत्कृतले भन्यो, 'बाबा प्लेन चढ्ने भनेर किन मलाई बसमा चढाको ? । नजिक भएका यात्रुसँगै हामी पनि हाँस्यौ। ऊ बुझ्ने भएपछिको यो उसको प्लेनमा पहिलो यात्रा थियो।

फर्केपछि आमाले सोध्नुभयो, तिमी कँहा गएर आयौँ। उसले भन्यो, 'माछापुछ्रे हिमाल हेर्न, नयाँ साथी समर भेट्न, ट्रेकिङ, अनि धेरै-धेरै घुम्न। थाहा छ आमा जुकाले टोक्यो भने नुन लगाउनु पर्छ ।'
