
काठमाडौं, २ पुस—वाम गठबन्धनले नयाँ सरकार बनाउने कसरत थालेको छ । तर राष्ट्रियसभासम्बन्धी अध्यादेशमा गठबन्धन र हाल कामचलाउ सरकारको नेतृत्व गरिरहेका कांग्रेसबीच विवाद देखिएको छ । यही अध्यादेशलाई बहाना बनाएर नेकपा एमाले र माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएको छ भने कांग्रेसले चाहिँ अध्यादेशको विषयमा वाम गठबन्धनबाट राष्ट्रपतिलाई उक्साउने काम भएको आरोप लगाएको छ ।
‘समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम एकल संक्रमणीय मतको आधारमा निर्वाचित हुने सदस्य’ भन्ने प्रावधानसहितको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश सरकारले सिफारिश गरेपछि विवाद देखिएको हो । एमालेले सो प्रावधान असंवैधानिक भएको दाबीसहित आपत्ति जनाउँदै आएको छ । एमाले र माओवादी बहुमतीय बहुमतीय निर्वाचन पद्धतीबाटै राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने पक्षमा छन् ।
देउवा-प्रचण्ड भेट
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार अध्यादेशकै विषयमा छलफल भयो । छलफलमा देउवाले राष्ट्रपतिले अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले छलफलका क्रममा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराएरमात्रै सरकार छाडने पनि बताएका थिए ।
अध्यादेश रोक्न मिल्दैन
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले पेश गरेको राष्ट्रियसभा गठनसम्बन्धी विधेयकका सम्बन्धमा संविधानविद्हरुसँग शनिबार परामर्श गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न वा फर्काउन नमिल्ने सुझाव संविधानविद्हरुले दिएका थिए ।
संविधानअनुसार सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न नहुने कानूनविद्को निष्कर्ष थियो । सरकारले दुई महिनाअघि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरेको थियो । यसैबीच शनिबारै यसैविषयमा शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रचण्डबीच पनि भेटवार्ता भयो ।
मतगणना अन्तिम चरणमा
गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले शनिबार जारी गरेको विज्ञप्ति अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको छ । सुनसरीको क्षेत्र नं १ तथा सर्लाहीको क्षेत्र नं २, ३ र ४ मा मतगणना कार्य जारी रहेको हो ।
एमाले अध्यक्ष ओली भेट्न राजदूत
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच शनिबार भेटवार्ता भयो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकामा बधाई दिन उनी बालकोटस्थित ओली निवास पुगेको बताइएको छ । ओली निवासमा महानायक राजेश हमाल पनि बधाई दिन पुगेका थिए ।
यसैबीच भक्तपुरमै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताए ।
अध्यादेशमा कांग्रेसको मत
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अध्यादेशको बारेमा वाम गठबन्धनलाई अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका छन्
काठमाडौंको थापागाउँ सुधार समितिले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे ।
प्रचण्ड नयाँ घरमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रच्ण्ड लाजिम्पाट छाडेर नयाँ ललितपुरको खुमलटारमा बस्न थालेका छन् । उनका प्रेस संयोजक मनहरी तिमल्सिनाले पूर्ण रुपमा खुमलटार सामान सार्न अझैं साता दिन लाग्न सक्ने बताएका छन् ।
नेता नेपालको आग्रह
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत पेप्सीकोला टाउन प्लानिङमा विजय जुलुसपछि शनिबार आयोजित सभामा नेता नेपालले संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेको परिस्थितिलाई गन्जागोल नबनाई आफैले बनाएको नियमलाई पालना गर्न काँग्रेसलाई आग्रह गरे ।
सडक दैनिक आठ घण्टा बन्द
नुवाकोट—रसुवाहुँदै केरुङ जोड्ने गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि शनिबारदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ ।
योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अहिले अप्ठ्यारा भीर काट्ने कामको शुरुआत हुन लागेकाले सडक बन्द गरिएको हो । पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म पीपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द हुने जनाइएको छ ।
जाडो बढ्यो
तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।
शनिबार काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झर्यो । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ । मौसमविद्का अनुसार उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
विदेशका खबर
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल गान्धीले शनिबार ग्रहण गरे ।
गत १९ बर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् ।
साउदी महिलाको पक्षमा निर्णय
साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था गरेको छ ।
देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो बर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ ।
साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।
यसअगाडी साउदीमा महिलाहरुलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो ।
खेल समाचार
दोस्रो दुहवी मनमोहन आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता शनिबार भएको अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँले नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी टोलीलाई २–१ गोलले पराजित गर्दै रु चार लाख नगदसहित उपाधिमाथि कब्जा जमाएको छ ।
सुनसरी जिल्लाको औद्योगिक करिडोर क्षेत्र दुहवी रङ्गशालामा भएको प्रतियोगितामा उपविजेता त्रिभुवन आर्मी क्लब काठमाडौँले दोस्रो बन्दै रु दुई लाखमा चित्त बुझाएको छ ।