२० असार २०८३, शनिबार

‘जेनजी’ युवाको देश प्रेम र त्यागप्रति गर्व गर्ने गायक थापाको साङ्गीतिक यात्रा

कात्तिक ७, २०८२
काठमाडौं
‘जेनजी’ युवाको देश प्रेम र त्यागप्रति गर्व गर्ने गायक थापाको साङ्गीतिक यात्रा

दसैँअघि साङ्गीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको साङ्गीतिक यात्रामा छन् । तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिनेछन्। गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको अमेरिकाको साङ्गीतिक यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टुङ्गिनेछ । “आउँदो शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिँदैछु”, गायक थापाले भने, “म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ ।”

यो उनको पहिलो अमेरिका यात्रा हो । डेढ महिने यात्राका क्रममा थापाले न्युयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत सहरमा प्रस्तुति दिनेछन् । उसो त देशविदेशका साङ्गीतिक कार्यक्रममा उनको दौडधुप गत वर्षदेखि नै बढेको हो । गत पुसमा सार्वजनिक गीत ‘दुश्मन हेरेको हेर्‍यै...’ को सफलताले आफ्नो साङ्गीतिक ‘करिअर’लाई नै नयाँ मोड दिन पुगेको गायक थापाले बताए । उक्त गीतलाई युट्यबमा हालसम्म १३ करोडभन्दा बढीपटक हेरिएको/सुनिएको छ । गीत युट्युब ट्रेन्डिङ्को पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङ्मासमेत परेको थियो । 

गीतको सफलताले भावुक र खुसी सँगसँगै भएका गायक थापाले त्योबेला भनेका थिए, “भगवानरूपी दर्शक/स्रोताले दिनुभएको यो सम्मान केबल भ्यूजको सङ्ख्या होइन, यो सपना पूरा भएको क्षण हो ।” ‘दुश्मन हेरेको हेरै...’ मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् । गीतको सङ्गीत संयोजन पनि उनले नै गरेका हुन्। गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । उक्त गीत आफ्नो ब्राण्ड गीत जस्तो बनेको थापाले बताए । “यो मेरो करिअरकै एउटा मानक गीतका रूपमा रहनेछ”, उनले भने ।

थापाको पछिल्लो गीत ‘जाने भए जाममाया...’ पनि गीत चर्चित छ । 

अमेरिकापछि क्यानाडा र युरोपको साङ्गीतिक यात्रा तय हुन लागेको उनले सुनाए । यस वर्ष अधिकांश विदेशकै कार्यक्रममा व्यस्त रहने उनले बताए । 

    पछिल्लो समय देशविदेशका साङ्गीतिक कार्यक्रम र मेला–महोत्सवमा उनको माग बढेको छ । गत हिउँदमा उनलाई महोत्सव पुग्न भ्याइनभ्याइ थियो । गत फागुन महिनामा मात्र देशका ३२ भन्दा बढी ठाउँमा पुगेर गायक थापाले प्रस्तुति दिएका थिए। “सधैँ म यो स्थानमा रहन सक्दिन, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ”, उनले भने, “तर, म आज जहाँ छु आफ्नै मेहनत र कर्मका कारण छु ।” 

सयौँ गीतमा स्वर र म्यूजिक भिडियोमा अभिनय गरेका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा...’लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् । थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘डाँडै बिसौनी...’, ‘जूनले मात्र देख्छ...’, ‘हाँस्न सिकायौँ...’लगायत उनीद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै...’मा प्रोमोशनल गीत गाएका थापाले चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो...’ गीत पनि चर्चित बनेको थियो । ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् ।

उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहान्छन् । करिअरको सुरुआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारको रूपमा काम गरेका उनी अहिले अभिनय र सङ्गीतमा पोख्त भएका हुन् ।

विगतमा कतिपय सिर्जनाका कारण चर्चा र विवादमा आइरहने थापाले पछिल्लो समय भने आत्मसमीक्षासहित अगाडि बढेको बताए । 


विसं २०६५ मा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए । पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो...’ गाएका थिए। थापाले केही साताअघि ‘जेनजी’ आन्दोलनका घाइतेलाई आर्थिक सहयोगसमेत गरेका थिए ।

    काठमाडौँका अस्पताल पुगेर घाइतेलाई भेटेका उनले ‘जेनजी’ युवाहरूको बलिदान खेर जान नहुनेमा जोड दिएका थिए । उनले पहिलो चरणमा ‘जेनजी’ आन्दोलनका घाइते ११ जनालाई रु दस हजारका दरले उपचार सहयोग प्रदान गरेका हन् । गायक थापाले आफू सँधै ‘जेनजी’ युवाहरूको पक्षमा रहेका बताए । ‘जेनजी’ युवामा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले आफूलाई गर्व लागेको उनको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्