
गत भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको पारिपट्टि गोली लागेर एक जना युवक ढले । आन्दोलनमा प्रहरी दमन हुँदा, गोली लागेर ढलेका घाइतेलाई अरूको मोटरसाइकल मागेर एक युवतीले अस्पताल पुर्याइन्, जसको धेरैले प्रशंसा गरेका थिए । उनी थिइन् विराटनगरकी २३ वर्षीया किशोरी कार्की ।
जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेकी उनले अर्काको मोटरसाइकल मागेर घाइतेलाई सिभिल अस्पताल लगेकी थिइन् । अस्पतालका डाक्टरले यहाँ सम्भव छैन भनेपछि एम्बुलेन्समा हालेर उनले नै बिरामी अन्यत्र लगिन् । एम्बुलेन्सको अघिअघि उनी बाटो खाली गराउँदै गएकी थिइन् । अस्पताल पुर्याइन् तर, दौडधुपमा मोटरसाइकल हरायो । उनले सामाजिक सञ्जालमार्फत् सहयोग जुटाएर धनीलाई नयाँ किनिदिइन् ।
उनको यो निःस्वार्थ भावना आज भने कुण्ठित भएको छ । जुन उद्देश्यले आन्दोलन भएको थियो, त्यो पूरा नहुँदा उनी निराश छिन् । आन्दोलनको उद्देश्य एकातिर छोडेर सरकार र र मुलुक अर्कैतिर बरालिएको देख्दा उनी आक्रोशित छिन् । ‘हामीले थोरै तर प्रष्ट माग राखेर आन्दोलन शुरू गरेका थियौँ,’ किशोरी भन्छिन्, ‘तर आन्दोलनपछि आज केटाकेटीले गुडिया (खेलौना)का लागि झगडा गरेजस्तो भएको छ । हामीभित्र न परिपक्वता देखियो, न त राजनीतिक ज्ञान । माग एउटा थियो, तर यहाँ भइरहेको अर्कै छ ।’
अहिले जेनजीका अनेक समूह र गुट देख्दा उनलाई दिक्क लाग्छ । ‘एक जनाले एउटा पार्टी खोल्छ, अर्कोले अर्को,’ उनी भन्छिन्, ‘हामीसँग सल्लाहसम्म गरिँदैन । हामीले एउटा बलियो एकीकृत शक्ति बनाउन चाहेका थियौँ, तर यहाँ त नेता बन्ने होडबाजी चलिरहेको छ ।’
किशोरीको आक्रोश आन्दोलनको विचलनप्रति मात्र सीमित छैन, आन्दोलनपछि बनेको नयाँ सरकारको कार्यशैलीप्रति पनि उनी सन्तुष्ट छैनन् । प्रधानमन्त्री सुशीला कार्की आफैं न्याय क्षेत्रबाट आए पनि न्याय मर्न लागेको उनको बुझाइ छ । सरकार बाह्य शक्ति र दलालबाट सञ्चालित भएको उनको आरोप रहेको छ ।
यो सरकार पनि धेरै दिन टिक्दैन कि भन्ने पीर छ । ‘यदि यस्तै हो भने यो सरकार पनि धेरै दिन टिक्दैन,’ उनले भनिन् । मन्त्रिपरिषद् गठन हुनुअघि नै मिडिया ट्रायल गरेर पात्र छनोट गर्ने प्रवृत्तिले सरकारको अपरिपक्वता र परनिर्भरता छर्लङ्ग भएको उनको बुझाइ छ ।
यो राजनीतिक भद्रगोलको निकाश के हो त भन्ने प्रश्नमा ? किशोरीको प्रस्ट जवाफ छ, ‘अबको नेतृत्व शहीद र घाइतेका परिवारले गर्नुपर्छ । उनीहरू अरूको पछि लाग्ने होइन, बरू सरकार र नेताहरू उनीहरूको घरदैलोमा झुकेर आउने वातावरण बन्नुपर्छ ।’

उनले आफू चुनाव लड्ने वा नलड्ने निर्णय पनि पीडित परिवारको इच्छामा निर्भर रहने बताइन् । ‘यदि पीडित परिवारले तपाईं हाम्रो आवाज बनिदिनुपर्छ भन्नुभयो भने म पछि हट्दिनँ,’ उनी भन्छिन्, ‘मेरो उद्देश्य पद वा कुर्सी होइन, उहाँहरूको आवाज बन्नु हो ।’
किशोरीको यो विद्रोहको जग उनको व्यक्तिगत जीवनको पीडामा पनि अडिएको छ । माओवादी द्वन्द्वकालमा उनी २२ महिनाकी थिइन् । उनका बुवालाई राज्यले बेपत्ता बनाएको थियो । आमाले १७ महिना जेल जीवन बिताउनु परेको पीडाले उनको मन अहिले पनि पोलिरहेको छ । ‘म मेरी आमाले बेपत्ता आयोगको ढोकामा न्यायका लागि रोएको र चिच्याएको देखेर हुर्किएकी हुँ,’ आँसु झार्दै उनी भन्छिन्, ‘त्यसैले मैले कानून पढेँ । ताकि मैलेजस्तो दु:ख अरूले भोग्नु नपरोस् ।’
दश वर्षे जनयुद्धदेखि विभिन्न आन्दोलनका शहीद तथा घाइते परिवारले त्यही नियति भोग्नु नपरोस् भन्नेमा उनी सचेत छिन् । कानूनको विद्यार्थीसमेत रहेकी उनले सत्य निरुपण तथा बेपत्ता आयोगको म्याद थपेजस्तो जेनजीका घाइतेको मुद्दालाई पनि लम्ब्याउने खेल गर्न नहुने बताइन् ।
अहिले काठमाडौं बाहिरका घाइते र शहीद परिवारलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै उनी उनीहरूको आवाज बोकेर पूर्वी नेपालका विभिन्न जिल्ला पुगेकी छन् । ‘काठमाडौंका लागि मात्र आन्दोलन भएको थिएन । यहाँका घाइतेहरूको अवस्था दयनीय छ । सरकारले उनीहरूलाई पूर्ण रूपमा बिर्सेको छ,’ उनी भन्छिन् ।