०९ साउन २०८३, शनिबार
आन्दोलनको अग्रपंक्तिमा उभिएकी किशोरीको गुनासो

‘जेनजी आन्दोलनपछि केटाकेटीले गुडियाका लागि झगडा गरेजस्तो भयो’

कात्तिक ११, २०८२
विराटनगर
‘जेनजी आन्दोलनपछि केटाकेटीले गुडियाका लागि झगडा गरेजस्तो भयो’

गत भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित  संसद् भवनको पारिपट्टि गोली लागेर एक जना युवक ढले । आन्दोलनमा प्रहरी दमन हुँदा, गोली लागेर ढलेका घाइतेलाई अरूको मोटरसाइकल मागेर एक युवतीले अस्पताल पुर्‍याइन्, जसको धेरैले प्रशंसा गरेका थिए । उनी थिइन् विराटनगरकी २३ वर्षीया किशोरी कार्की ।

जेनजी आन्दोलनको अग्रपंक्तिमा रहेकी उनले अर्काको मोटरसाइकल मागेर घाइतेलाई सिभिल अस्पताल लगेकी थिइन् । अस्पतालका डाक्टरले यहाँ सम्भव छैन भनेपछि एम्बुलेन्समा हालेर उनले नै बिरामी अन्यत्र लगिन् । एम्बुलेन्सको अघिअघि उनी बाटो खाली गराउँदै गएकी थिइन् । अस्पताल पुर्‍याइन् तर, दौडधुपमा मोटरसाइकल हरायो । उनले सामाजिक सञ्जालमार्फत् सहयोग जुटाएर धनीलाई नयाँ किनिदिइन् ।

उनको यो निःस्वार्थ भावना आज भने कुण्ठित भएको छ । जुन उद्देश्यले आन्दोलन भएको थियो,  त्यो पूरा नहुँदा उनी निराश छिन् । आन्दोलनको उद्देश्य एकातिर छोडेर सरकार र र मुलुक अर्कैतिर बरालिएको देख्दा उनी आक्रोशित छिन् । ‘हामीले थोरै तर प्रष्ट माग राखेर आन्दोलन शुरू गरेका थियौँ,’ किशोरी भन्छिन्, ‘तर आन्दोलनपछि आज केटाकेटीले गुडिया (खेलौना)का लागि झगडा गरेजस्तो भएको छ । हामीभित्र न परिपक्वता देखियो, न त राजनीतिक ज्ञान । माग एउटा थियो, तर यहाँ भइरहेको अर्कै छ ।’

अहिले जेनजीका अनेक समूह र गुट देख्दा उनलाई दिक्क लाग्छ । ‘एक जनाले एउटा पार्टी खोल्छ, अर्कोले अर्को,’ उनी भन्छिन्, ‘हामीसँग सल्लाहसम्म गरिँदैन । हामीले एउटा बलियो एकीकृत शक्ति बनाउन चाहेका थियौँ, तर यहाँ त नेता बन्ने होडबाजी चलिरहेको छ ।’

किशोरीको आक्रोश आन्दोलनको विचलनप्रति मात्र सीमित छैन, आन्दोलनपछि बनेको नयाँ सरकारको कार्यशैलीप्रति पनि उनी सन्तुष्ट छैनन् । प्रधानमन्त्री सुशीला कार्की आफैं न्याय क्षेत्रबाट आए पनि न्याय मर्न लागेको उनको बुझाइ छ । सरकार बाह्य शक्ति र दलालबाट सञ्चालित भएको उनको आरोप रहेको छ । 

यो सरकार पनि धेरै दिन टिक्दैन कि भन्ने पीर छ । ‘यदि यस्तै हो भने यो सरकार पनि धेरै दिन टिक्दैन,’ उनले भनिन् । मन्त्रिपरिषद् गठन हुनुअघि नै मिडिया ट्रायल गरेर पात्र छनोट गर्ने प्रवृत्तिले सरकारको अपरिपक्वता र परनिर्भरता छर्लङ्ग भएको उनको बुझाइ छ ।

यो राजनीतिक भद्रगोलको निकाश के हो त भन्ने प्रश्नमा ? किशोरीको प्रस्ट जवाफ छ, ‘अबको नेतृत्व शहीद र घाइतेका परिवारले गर्नुपर्छ । उनीहरू अरूको पछि लाग्ने होइन, बरू सरकार र नेताहरू उनीहरूको घरदैलोमा झुकेर आउने वातावरण बन्नुपर्छ ।’

null

उनले आफू चुनाव लड्ने वा नलड्ने निर्णय पनि पीडित परिवारको इच्छामा निर्भर रहने बताइन् । ‘यदि पीडित परिवारले तपाईं हाम्रो आवाज बनिदिनुपर्छ भन्नुभयो भने म पछि हट्दिनँ,’ उनी भन्छिन्, ‘मेरो उद्देश्य पद वा कुर्सी होइन, उहाँहरूको आवाज बन्नु हो ।’

किशोरीको यो विद्रोहको जग उनको व्यक्तिगत जीवनको पीडामा पनि अडिएको छ । माओवादी द्वन्द्वकालमा उनी २२ महिनाकी थिइन् ।  उनका बुवालाई राज्यले बेपत्ता बनाएको थियो । आमाले १७ महिना जेल जीवन बिताउनु परेको पीडाले उनको मन अहिले पनि पोलिरहेको छ । ‘म मेरी आमाले बेपत्ता आयोगको ढोकामा न्यायका लागि रोएको र चिच्याएको देखेर हुर्किएकी हुँ,’ आँसु झार्दै उनी भन्छिन्, ‘त्यसैले मैले कानून पढेँ । ताकि मैलेजस्तो दु:ख अरूले भोग्नु नपरोस् ।’

दश वर्षे जनयुद्धदेखि विभिन्न आन्दोलनका शहीद तथा घाइते परिवारले त्यही नियति भोग्नु नपरोस् भन्नेमा उनी सचेत छिन् । कानूनको विद्यार्थीसमेत रहेकी उनले सत्य निरुपण तथा बेपत्ता आयोगको म्याद थपेजस्तो जेनजीका घाइतेको मुद्दालाई पनि लम्ब्याउने खेल गर्न नहुने बताइन् ।

अहिले काठमाडौं बाहिरका घाइते र शहीद परिवारलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै उनी उनीहरूको आवाज बोकेर पूर्वी नेपालका विभिन्न जिल्ला पुगेकी छन् ।  ‘काठमाडौंका लागि मात्र आन्दोलन भएको थिएन । यहाँका घाइतेहरूको अवस्था दयनीय छ । सरकारले उनीहरूलाई पूर्ण रूपमा बिर्सेको छ,’ उनी भन्छिन् ।

salt training

कमेन्ट गर्नुहोस्