०५ असार २०८३, शुक्रबार

कुलमानले भने, अहिले कुनै पनि प्रकारको लोडसेडिङ छैन

कुलमानले भने, अहिले कुनै पनि प्रकारको लोडसेडिङ छैन

काठमाडौं, ६ पुस– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले घोषित  र अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नरहेको बताएका छन् । 

विभिन्न सञ्चारमाध्यममा आघोषितरुपमा लोडसेडिङ भइरहेको भन्ने समाचार सम्प्रेषण भइरहेको भन्दै कुलमानले विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको बताएका छन् । 

‘विगत केही दिनदेखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषितरुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेकोमा सो प्रति नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको छ,’ बिहीवार एक विज्ञप्ती जारी गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भनेका छन्, ‘अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित÷अघोषितरुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्रष्ट पार्न चाहन्छौं ।’

प्राविधिक समस्याका कारण कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको उनले जनाएका छन् । साथै विद्युत् आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकहरुको मागलाई समेत मध्यनजर गरी  फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कार्य भइरहेको निर्देशक घिसिङद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने भएपनि आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रबिद्ध रहेको घिसिङले जनाएका छन् । 


विद्युतको उच्च माग हुने समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको जनाएको छ । अपुग हुने करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिब तीन घण्टा विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले विद्युत माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याउन उपभोक्तालाई आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्