११ असार २०८३, बिहीबार

कांग्रेसभित्र दोस्रो पुस्ताले बढायो सक्रियता, हच्कियो देउवासमूह

पुस ७, २०७४
कांग्रेसभित्र दोस्रो पुस्ताले बढायो सक्रियता, हच्कियो देउवासमूह

काठमाडौं, ७ पुस - संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ नराम्ररी पराजित कांग्रेसको दोस्रो पुस्ता पार्टीलाई गतिशील बनाउन सक्रिय भएको छ । दोस्रो पुस्ताका नेताले वर्तमान नेतृत्वले चुनावमा भोग्नुपरेको पराजयको जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको आवाज उठाएका छन् । संगठनलाई चुस्त पार्न उनीहरूले पार्टीभित्र शुद्धिकरण हुनुपर्नेमा जोड दिएका छन् ।

चुनावमा भोग्नुपरेको पराजयको कारण खोज्न दोस्रो पुस्ताका नेताहरू बुधबार छलफलमा बसेका थिए । चुनाव जितेका तथा झिनो मतान्तरले पराजित नेताहरू सम्मिलित बुधबारको छलफलमा गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङसहित १७ जना युवा नेता सम्मिलित थिए ।

दोस्रो पुस्ताका नेता छलफलमा जुटेको सूचना बाहिरिएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी अध्यक्ष उमा मगर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायत अर्काे समूह पनि छुट्टै भेला भएर पार्टी पराजयका कारण खोतल्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने निष्कर्षमा पुगेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ  ।

चुनावको परिणाम सार्वजनिक भएसँगै गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताले पार्टी नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए । यो समूहले विशेष महाधिवेशन, महासमिति बैठक माग गर्दै पार्टी नेतृत्वदेखि संगठनमा आमुल परिर्वतन हुनुपर्नेमा जोड दिएका छन् । सूक्ष्म रूपमा उठेका विरोधका आवाजमा प्रकाशमान सिंहसहितका केही शीर्ष नेतासमेत उभिएपछि देउवासमूह हच्किएको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडैल चुनाव परिणामपछि अहिले पार्टीभित्र उठेको आवाजलाई कुनै एक नेताका विरुद्धमा लक्षित नभएको दाबी गर्छन् । पौडेल भन्छन, ‘यो कुनै व्यक्तिविरुद्ध लक्षित छैन । हामीले पार्टीलाई कसरी सशक्त बनाउने भन्ने मात्रै कुरा गरेका छौं ।’

स्रोतका अनुसार बुधबारको भेलामा पूर्वसांसद धनराज गुरुङले गगन थापालाई पार्टी संसदीय दलको नेताको रूपमा अघि सार्दै केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशन माग गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्