
काठमाडौं, ७ पुस– नयाँ सरकार गठन र राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेसबीच मतभेद बढेपछि दलहरुले सहमतीमै समाधान खोज्न छलफललाई तीब्रता दिन थालेका छन् । आज प्रमुख दलका आन्तरिक र छुट्टाछुट्टै बैठक बस्दैछन् ।
यसैक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक आह्वान गरेका छन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बालुवाटार स्रोतले जनाएको छ । बैठक बिहान ११ बजे बस्दैछ ।
भर्खरै सम्पन्न निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी बनेका छन् । शुक्रबार बोलाइएको बैठकमा यिनै दलका शीर्ष नेता सहभागी हुनेछन् ।
एमाले–माओवादी बैठक
वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेअनुसार त्यसलाई निष्कर्षमा पुर्याउन बैठक बस्न लागेको हो ।
दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले आफूहरुलाई थप अघि बढ्न कुनै समस्या नभएको उनले बताए ।
समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता छन् । एमाले र केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो ।
एमाले स्थायी कमिटीको बैठक
निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्नेछ । सचिव ज्ञवालीले केन्द्रसँगको एकता सकेसम्म छिट्टै गर्ने तयारीमा आफूहरु रहेको बताए । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।