
काठमाडौं, ७ पुस– नयाँ संघीय संरचनाअनुसार प्रदेशका राजधानी कहाँ राख्ने भन्नेमा विवाद शुरु भएको छ । आफूलाई पायक पर्ने गरी प्रदेशको राजधानी बनाउनु पर्ने माग गर्न थालिएको छ ।
यस्तै प्रदेश नम्बर पाँचको राजधानीका बारेमा पनि बहस शुरु भएको छ । बुटवल, कपिलवस्तु वा दाङ कहाँ राजधानी बनाउने भन्नेमा विवाद शुरु भएको हो । केही दिनअघि पाल्पाका राजनीतिक दल, संघसंस्था र स्थानीयले आफूलाई पायक पर्ने बुटवललाई राजधानी बनाउन माग गरेका थिए भने दाङका स्थानीयले दाङमै राजधानी बनाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
यता दाङ र बुटवलको बीचमा पर्ने कपिलवस्तुबासीले कपिलवस्तुमा प्रदेश राजधानी बनाउनु पर्ने माग गरेका छन् । प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ ।
युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए । भगवान् गौतम बुद्धको ऐतिहासिक ठाउँ, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि राजधानीका लागि अतिउत्तम जिल्ला रहेको भन्दै दबाबस्वरुप प्रदर्शन गरेका हुन् ।
दाङ र बुटवल राजधानी बनाउने विषयमा विवाद भएको बेला उनीहरुले यसको उत्तम विकल्प कपिलवस्तु भएको भन्दै प्रादेशिक राजधानी यहीँ नै हुनुपर्ने माग राखेका हुन् ।
यसैबीच, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रदेश नं ५ को राजधानी दाङमै हुने दावी गरेका छन् । दाङकै पक्षमा बहुमत भएको दावी गर्दै महराले राजनीतिक सहमतिका आधारमा दाङ नै राजधानी घोषणा हुने दावी गरेका हुन् ।
दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश ५ का जिल्लाको समग्र विकासका लागि दाङलाई नै केन्द्रविन्दू बनाउनु पर्ने भन्दै हरेक हिसावले दाङ नै उचित भएको बताए ।