
काठमाडौँ, ७ पुस– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी गत कार्तिकमा भर्ना भएका म्यादी प्रहरीको बिदाई गरिएको छ ।
गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी भन्दै सरकारले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरेको थियो ।

५५ दिन सेवा गरेका म्यादी प्रहरीको आज सबै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमक बीच प्रमाणपत्र प्रदान गरेर बिदाई गरिएको छ । सरकारले उनीहरुलाई ५५ दिनका लागी प्रहरी जवानले प्राप्त गर्ने आधारभूत तलब ( रु.१७ हजार २ सय ३०) बराबरको रकम तलब स्वरुप दिएको थियो।
साथै उनीहरुलाई पोशाक खर्च बापत रु.४००० र यातायात खर्च बापत रु.१००० समेत सरकारले प्रदान गरेको छ । चुनाव र मतगणनाको समयमा सात दिनसम्मको रु.२५० का दरले बिशेष भत्ता तथा रु.२५० का दरले खाजा खर्च पनि प्रदान गरेको नेपाल प्रहरीको प्रबक्ता मनोज न्यौपानेले जानकारी दिए । सरकारले निर्वाचन अवधीभर लागु हुनेगरी १ लाख ५० हजार सम्मको उपचार खर्च तथा १५ लाखको जीवन बिमाको समेत व्यवस्था गरेको थियो।
निर्वाचनका क्रममा ३ म्यादी प्रहरीको ज्यान गएको थियो ।
ज्यान गुमाउनेमा दार्चुलाका रबिन्द्र ठगुन्ना,तुलसीपुरका बिनोद चौधरी र परासीका राजसिंह चौधरी रहेका थिए।