
सिरहा, ७ पौष–सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा शुक्रबार भएको कुकर बम बिस्फोटको जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले जिम्मा लिएको छ । प्रेस विज्ञप्ती जारी गरी मोर्चाका अध्यक्ष गोइतले बम विस्फोटको जिम्मा लिएका हुन् ।
उनले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत मालपोत कार्यालयमा बम विस्फोट गराएको विज्ञप्तिमार्फत् जनाएका छन् ।
‘तराईमा भ्रष्टाचार रोक्नु अपरिहार्य हुन गएको छ । सभ्य समाजमा भ्रष्टाचारलाई अपराधकै दर्जामा राख्ने गरिन्छ । चोरी, डकैती, हत्या आदि जस्तै भ्रष्टाचार पनि समाजिक अपराध हुन्,’ गोइतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गोइतले मालपोत कार्यालयमा भ्रष्टाचार हुने गरेको भन्दै उक्त कार्य जारी अझै यो भन्दा पनि ठूलो बिस्फोट हुने चेतावनी समेत दिएका छन् । यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी मालपोत कार्यालयले लिनुपर्ने उनको भनाइ छ ।