धरान, ८ पुस– पूर्वी नेपालमा सुन्तला उत्पादनमा भारी गिरावट आएपछि सिजनको सुरुवातमै मूल्य आकासिएको छ । गत वर्षको तुलनामा यस पटक सिजनको सुरुवातमै सुन्तलाको मूल्य आकासिएको हो ।
सुन्तला उत्पादनमा ह्रास आएपछि बिचौलियाले सुन्तलाको मूल्य आफूखुसी बढाउँदा उपभोक्ताले महंगो शुल्क तिरेर सुन्तला किन्न बाध्य भएका छन् । गतसाल सिजनको शुरुवातमा सुन्तलाको मूल्य प्रतिकेजी ७० रुपैयाँ थियो ।
यसपटक सुन्तलाको थोक मूल्य नै एक सय २० रुपैयाँ प्रतिकेजी पुगेको कृषिउपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । धरानमा एक नम्बर प्रदेशका धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, खोटाङ, पाँचथरबाट किसानले कृषिउपज बजारमा सुन्तला ल्याएर बिक्री गर्दै आएका छन् ।
गत वर्ष धरानबाट दैनिक ७० टन सुन्तला बिक्री हुने गरेको भए पनि यस वर्ष दैनिक ३० टन देखि ४० टन मात्रै सुन्तला बिक्रीका लागि आउने गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।