२९ जेठ २०८३, शुक्रबार
आलेख

'नियमितको कार्यतालिकामा खेलाँची नगरौं, विशेष महाधिवेशनले पर्खिरहेको छ'

पुस ८, २०८२
काठमाडौं
'नियमितको कार्यतालिकामा खेलाँची नगरौं, विशेष महाधिवेशनले पर्खिरहेको छ'

यतिबेला हामी नेपाली कांग्रेसको महाधिवेशनको संघारमा छौं । अहिले यसको कार्यतालिका कार्यान्वयनको प्रक्रिया सुचारु छ । पार्टी विधानले निर्दिष्ट गरेको समयसीमाभन्दा एक महिना ढिला गरेर यसलाई अघि बढाइएको छ ।

धेरै शंका र दुश्चिन्ताहरू बढेका छन्, तथापि समयभित्र महाधिवेशन हुने आशा बाँकी नै छ । संसारका प्रजातान्त्रिक संस्थाहरू विधि अनुशरणका उदाहरण अर्थात् दृष्टान्त मानिन्छन् । यसले विश्व समाजमा उनीहरूको साख उच्च छ र अग्लो प्रतिष्ठा कमाएका छन् ।

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो संघर्षशील लोकतान्त्रिक पार्टी हो भन्ने विषयमा दुईमत छैन । यस्तो भए पनि यसको वर्तमान अवस्था आन्तरिक विवाद, गुटबन्दी र जनताको अपेक्षाअनुसार काम गर्न नसकेका कारण चुनौतीपूर्ण र संकटग्रस्त देखिएको छ । के पार्टीहरू पुराना भएपछि यस्तै हुन्छन् वा जति पुरानो भयो उति परिपक्व बन्दछन्, यो आजको मुख्य प्रश्न हो । आफैंले आफ्ना लागि बनाएको विधि पालना नगरे के कस्ता प्रश्न उठ्न सक्छन् वा उठ्छन् भनेर नसोच्नु वा ध्यान नदिनु राजनीतिक पार्टीको ठूलो कमजोरी हो । नेपालमा अक्सर यस्तो हुँदै आएको छ ।

सनातन धर्मको प्रमुख ग्रन्थ श्रीमद्भगवद्गीताको सोह्रौं अध्यायअन्तर्गत तेइसौं श्लोकमा भगवान् कृष्ण भन्छन् - य: शास्त्र विधिमुत्सृज्य वर्तते कामकारत:, न स सिद्धि मवाप्नोति न सुखम् न परांगतिम् । जसले शास्त्र वा विधि विपरीत जे मन लाग्यो त्यही कार्य गर्दछ, उसले जीवनमा न सुख पाउँछ, न त परम गति प्राप्त गर्छ । यसको मर्म स्पष्ट छ, मनपरी गर्नेलाई मर्त्यलोक र परलोक दुवैमा सुख र स्थान छैन । आफैंले पालना गर्न भनेर बनाएको विधि उल्लंघन गर्नु एक प्रकारले अपराध नै हो । यसको हेक्का नेपालका राजनीतिक दलहरूले राखेको पाइँदैन । कुनै पनि संस्था, राजनीतिक दल वा देश चलाउन बनाइएका विधि, विधान र संविधान तोड्ने वा मनपरी गर्ने छुट कसैलाई छैन ।

प्रजातान्त्रिक शासन व्यवस्था अँगालेका देशमा राजनीतिक दलहरूले आमनिर्वाचनमार्फत आवधिक रूपमा सरकार चलाउने आधिकारिकता र वैधता प्राप्त गर्छन् । र, सरकारमा पुगेपछि गरेको कार्यसम्पादनका आधारमा पुनः अनुमोदित वा विस्थापित हुन्छन् । आफ्नो स्थापनाको ८ दशकभित्र नेपाली कांग्रेसको जनाधारमा बारम्बार उतारचढाव देखिएको छ । यसका केही आन्तरिक र बाह्य आयामहरू छन् । यस सन्दर्भमा चर्चा गर्नु र अगाडिको बाटो तय गर्नु आजको प्रमुख आवश्यकता हो । कांग्रेसले पार्टी सुदृढीकरणका लागि तत्काल केही आवश्यक कदम चाल्नुपर्ने अनिवार्य आवश्यकता देखिन्छ । यसको प्रस्थानबिन्दु निर्धारित समयभित्र महाधिवेशन नै हो ।

नेपाली कांग्रेसले नेपालको राजनीतिक र संवैधानिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ र यसले अंगालेको बहुदलीय लोकतान्त्रिक व्यवस्था आज सर्वस्वीकृत भएको छ । तर, हालका वर्षहरूमा पार्टीले विभिन्न आन्तरिक तथा बाह्य चुनौतीहरूको सामना गरिरहेको छ । यसको कारण के होइन भने वर्तमान अवस्थाका जिम्मेवार अरू नै छन्, स्वयं पार्टी र यसका नेता होइनन् । कांग्रेसमाथि उठ्ने गरेका अनगिन्ती प्रश्नहरूमध्ये पार्टी नेतृत्वले सधैंभरि आवधिक महाधिवेशन किन समयभित्र गर्दैन भन्ने मुख्य प्रश्न हो ।

यसैगरी पार्टी विधानको पालना नगरीकन मनलाग्दो सधैँ किन गरिरहन्छ? भन्ने हो । यी दुवैका अतिरिक्त अन्य महत्त्वपूर्ण प्रश्नहरू पनि छन् । तर आजका प्राथमिकता ती होइनन् । तसर्थ आजको आवश्यकता निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गरी निकट भविष्यमा आइपर्ने हरेक चुनौतीका लागि आफूलाई तयार राख्ने हो ।

आन्तरिक विवाद समाधान

कांग्रेसको सबैभन्दा ठूलो समस्या भनेको आन्तरिक कलह र अस्वस्थ गुटबन्दी हो । पार्टी स्थापनाकालदेखि नै गुटहरूको निरन्तरता एउटा स्थायी रोग जस्तो देखिएको छ, जसले गर्दा पार्टी कमजोर बनेको छ । केन्द्रीय समिति बैठकहरूमा समेत नेताहरूबीच शत्रुताभाव, घोचपेच र कटुता देखिनुले पार्टीभित्रको एकतामा प्रश्नचिह्न खडा गरेको छ ।

विगतमा सभापति र इतर पक्षबीचको अन्तहीन विवाद, विभाग गठन, भ्रातृ संस्था विस्तार र नियमित महाधिवेशन जस्ता विषयमा देखिएको गैरजिम्मेवारी र व्यापक असन्तुष्टिले पार्टीलाई थप विवादित र विभाजित बनाएको थियो भने अहिले आएर महाधिवेशन आयोजना कहिले गर्ने भन्ने अनुत्पादक विवादले पार्टीका गतिविधिहरू प्रभावित भएका छन् । यसले पार्टीका आम साथीहरूमा गम्भीर निराशा पैदा गरेको छ ।

विधानले निर्धारण गरेको समयसीमाभित्र पार्टी महाधिवेशन गर्न नखोज्नु संस्थाका लाखौं सदस्यप्रतिको सरासर बेइमानी हो । र, अर्को कुरा पार्टी विधानको व्यवस्था बमोजिम ५४% महाधिवेशनका सदस्यहरूले माग गरेको विशेष महाधिवेशनको प्रस्तावलाई बेवास्ता गम्भीर ऐतिहासिक त्रुटि हो । यो पार्टी विधान उल्लंघनको जीवन्त दृष्टान्त हो ।

कमजोर संगठन र नेतृत्व हस्तान्तरण प्रक्रिया

पार्टीको संगठन केन्द्रदेखि गाउँ तहसम्म प्रभावकारी हुन सकेको छैन । नेतृत्वले युवा पुस्तालाई जिम्मेवारी दिन हिच्किचाएको र पुरानै शैलीमा पार्टी सञ्चालन गर्न खोजेको देखिन्छ । हामीले के बुझ्नुपर्छ भने क्रमिक रूपमा नेतृत्व हस्तान्तरण हुँदै जानु प्राकृतिक र न्यायोचित प्रक्रिया हो । यसमा नेतृत्वले संयोजनकारी भूमिका खेल्न सक्नुपर्छ ।

पार्टीमा काम गरिरहेका ऊर्जाशील नयाँ पुस्तालाई उनीहरूको भविष्यप्रति आश्वस्त बनाउने काम कसको हो? यसको प्रत्याभूति नहुँदा नयाँ पुस्ताले कसरी काम गर्छ र कांग्रेसमा किन आउँछ? मौजुदा पार्टी प्रथा र शास्त्रीय अभ्यासले युवाहरूको उमेर, ऊर्जा र क्षमताको चरम शोषण गरेको छ । र, धेरै वर्षदेखि लाग्ने गरेको यस्तो आरोप सत्य छ । तसर्थ, समयसापेक्ष रूपमा सांगठनिक संरचना, राजनीतिक चिन्तन र कार्यशैलीमा ठूलो र व्यापक परिमार्जन गर्न आवश्यक देखिएको छ । यसमा ढिलाइ हुँदा भविष्यमा गम्भीर क्षति बेहोर्नुपर्ने हेक्का कसैले पनि राखेको पाइँदैन । कांग्रेसमा यस्तो संवेदनहीनताको विकास कसरी भयो, बुझिनसक्नु छ ।

विगतका सरकार सञ्चालन र जनअपेक्षा

कांग्रेसले सरकारको नेतृत्व गर्दा वा सरकारमा सहभागी हुँदा जनताले अपेक्षा गरेअनुसार चित्तबुझ्दो रूपमा सुशासन, विकास र समृद्धिको काम गर्न सकेको छैन । राजनीतिक अस्थिरता र सरकार परिवर्तनको खेलमा लाग्दा आर्थिक सुधार र विकास निर्माणका एजेन्डाहरू ओझेलमा परेका छन् । यसले जनतामा पार्टीप्रति वितृष्णा पैदा गरेको छ ।

यसको गम्भीर समीक्षा कहिल्यै भएन र सुधारको चेष्टा समेत गरिएन । हिजोआजका गतिविधि र क्रियाकलाप समेत उत्साहजनक छैनन् । देशमा विकसित भएको पछिल्लो राजनीतिक परिस्थिति प्रतिको उदासीनता निकै डरलाग्दो छ । जनतामा ठूलो छटपटी छ । यसको निकास कसरी होला, कसैले अनुमान गर्ने सक्दैन ।

वैचारिक अस्पष्टता

पार्टीले सैद्धान्तिक रूपमा बी.पी. कोइरालाको प्रजातान्त्रिक समाजवादलाई अंगाले पनि व्यवहारमा कुन सिद्धान्त र विचार हावी भइरहेको छ भन्ने स्पष्ट छैन । बदलिँदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकताअनुसार पार्टीले आफ्नो नीति र विचारलाई निरन्तर माझिरहन आवश्यक छ । तर, हामी यतिबेला के गर्दैछौं ? न सिंहावलोकन छ, न त मूल्यांकन नै छ । सिद्धान्त र नीतिमा सधैँ स्पष्ट रहेको कांग्रेस यतिबेला निकै ठूलो अलमलमा परेको देखिन्छ । सत्ताको चास्नीमा डुबेर पार्टीको मूल विचार र बाटो के हो, ठम्याउन छाडेको छ ।

आफ्नो मौलिक धरातल छाडेर सत्ता र फगत सत्ताका लागि फरक दर्शन तथा सिद्धान्त भएका राजनीतिक दलहरूसँग गठजोड गरिरहेको देखिन्छ । यस व्यवहारले समयक्रममा पार्टीलाई सिद्धान्तहीन जमातमा परिणत गर्ने खतरा बढिरहेको छ । यस विषयमा बेलैमा ध्यान नपुर्‍याउने हो भने कांग्रेस इतिहासको कथा बन्न सक्छ ।

निर्वाचन परिणाम र जनाधार

पछिल्ला निर्वाचनहरूमा कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न सकेको छैन (जस्तै २०७४ र २०७९ को चुनाव) । यसले पार्टीको जनाधार खस्कँदै गएको संकेत गर्छ । कम्युनिस्ट गठबन्धनको उदय र अन्य नयाँ दलहरूको आगमनले कांग्रेसको परम्परागत भोट बैंकमा चुनौती थपेको छ ।

जेनजी विद्रोहपश्चातको अवस्था झन् चुनौतीपूर्ण बनेको छ । २०७९ को निर्वाचनमा गरिएको गठबन्धनविपरीत एमालेसँगको सत्ता समीकरण चरम अनुत्पादक र आत्मघाती साबित भयो । यसलाई सुधार कसरी गर्ने? महाधिवेशनमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने यो सर्वाधिक महत्त्वपूर्ण मुद्दा हो ।

कांग्रेसलाई पुनः सशक्त र लोकप्रिय पार्टी बनाउन तत्कालै निम्न आवश्यक कदमहरू चाल्नुपर्छ ।

नेपाली कांग्रेसले आफ्नो इतिहास र विरासतलाई जोगाउँदै भविष्यको चुनौती सामना गर्न आवश्यक कदमहरू इमान्दारीपूर्वक र तत्काल कार्यान्वयन गर्नुपर्छ । पार्टीको नवीकरण र सुदृढीकरणले मात्र यसको भविष्य सुनिश्चित गर्न सक्छ । पार्टी महाधिवेशनको प्रमुख दायित्व यही हुनुपर्छ ।

आन्तरिक एकता र अनुशासन

सर्वप्रथम, पार्टीभित्रको गुटबन्दी अन्त्य गरी आन्तरिक एकता सुदृढ गर्नुपर्छ । नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्छ र पार्टीको निर्णय प्रक्रियालाई सरोकारवालाको सहभागितामा खुला र पारदर्शी बनाउनुपर्छ ।

पार्टी अनुशासनको कडाइका साथ पालना हुनुपर्छ । तर, पूर्वाग्रह राखेर दण्डित र पुरस्कृत गर्नु हुँदैन । योगदान र क्षमतामा आधारित मूल्यांकन प्रणाली लागू गर्नुपर्छ । यी सबै कार्यका लागि तत्काल महाधिवेशन गर्नुपर्छ । अबका बीस दिनमा महाधिवेशन सम्पन्न गरेर संसारसामु कांग्रेसको आन्तरिक व्यवस्थापन र सामर्थ्य देखाउन सक्नुपर्छ ।

नेतृत्व हस्तान्तरण र युवा परिचालन

पार्टीमा नेतृत्व हस्तान्तरणको स्पष्ट प्रक्रिया हुनुपर्छ । युवा नेताहरूको ऊर्जा, क्षमता र नयाँ सोचलाई पार्टीको मूलधारमा ल्याई सक्रिय रूपमा परिचालन गर्नुपर्छ । नयाँ पुस्तालाई उपयुक्त जिम्मेवारी दिँदा पार्टीले नयाँ दिशा र गति पाउँछ भन्ने बुझ्नुपर्छ । कांग्रेस पुरानो राजनीतिक पार्टी भएकाले सबै पुस्ताका काम गर्न सक्ने नेताहरूको समन्वयात्मक प्रयासले मात्र सफलता हासिल हुनसक्छ । तसर्थ पुराना र नयाँ दुवै पुस्ताको संयोजन आजको आवश्यकता हो भन्ने बुझ्नुपर्छ । पार्टीभित्र कसैले जित्ने र कसैले हार्ने अवस्था आउन दिनुहुँदैन ।

नीति र कार्यक्रममा स्पष्टता

पार्टीले आफ्नो नीति र कार्यक्रमलाई समयसापेक्ष रूपमा परिमार्जन गर्नुपर्छ । २०८० मा सम्पन्न महासमिति बैठकले पारित गरेका नीतिगत प्रस्तावहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । देशको आर्थिक विकास, सुशासन र रोजगारी सिर्जना जस्ता जनसरोकारका विषयमा ठोस योजना र मार्गचित्र प्रस्तुत गर्नुपर्छ ।

संगठन सुदृढीकरण र जनसम्पर्क

केन्द्रदेखि वडा तहसम्म पार्टी संगठनलाई चुस्त र सक्रिय बनाउनुपर्छ । जनताका घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने कार्यलाई तीव्रता दिनुपर्छ ।

जनसम्पर्कलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग गर्न सकिन्छ । नेतृत्वले परिवर्तनशील समाजको आवश्यकता र समयको पदचाप बुझ्नसक्नुपर्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई सहृदय र प्रेमपूर्वक साथै हिँडाउन सक्नुपर्छ । यसका लागि मुर्झाएर किंकर्तव्यविमूढ भएर बसेका भ्रातृसंगठनहरूलाई परिचालन गर्नुपर्छ ।

सरकारको कार्यशैलीमा सुधार

सरकारमा रहेको बेला कांग्रेसले जनमुखी कार्य गर्नुपर्छ । भ्रष्टाचारमुक्त समाजका लागि सुशासन, पारदर्शिता र जनहितका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्छ । सरकारको काम गराइबाट जनतामा उत्साह र सकारात्मक सन्देश जान जरुरी छ । नत्र जनताले नयाँ पार्टी खोज्न थाल्छन् । सरकारको काम गराइबाट जनताले चित्त बुझाउन सक्नुपर्छ । आजसम्म त्यसो हुन सकेन, अब यसको कारण खोज्नुपर्छ । कांग्रेस एमालेको पछिल्लो सत्ता गठबन्धनको आधारशिला सात बुँदे सहमति बेवारिस बन्दा जेनजी विद्रोहको उदय भएको हो ।

प्रशिक्षण र वैचारिक स्पष्टीकरण

पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त, नीति र कार्यक्रमबारे नियमित प्रशिक्षण दिइनुपर्छ । यसले गर्दा उनीहरू आफ्नो पार्टीको विचार, सिद्धान्तप्रति स्पष्ट हुन्छन् र जनताबीच पार्टीको विचारलाई स्पष्ट रूपमा राख्न सक्छन् । नेपाली कांग्रेसले आफ्नो इतिहास र विरासतलाई जोगाउँदै भविष्यको चुनौती सामना गर्न यी कदमहरू इमान्दारीपूर्वक र तत्काल कार्यान्वयन गर्नुपर्छ । पार्टीको नवीकरण र सुदृढीकरणले मात्र यसको भविष्य सुनिश्चित गर्न सक्छ । पार्टी महाधिवेशनको प्रमुख दायित्व यही हुनुपर्छ ।

विशेष महाधिवेशन

उपरोक्त कामका लागि घोषित र निर्धारित मितिमा १५ औं महाधिवेशन अपरिहार्य छ । यसको अन्य कुनै विकल्प छैन । यस यथार्थलाई नजरअन्दाज गर्ने र अन्यथा सोच्ने हो भने विशेष महाधिवेशनले हामी सबैलाई पर्खिरहेको छ । र यसको समयसीमा २० दिन मात्र बाँकी छ । यस विषयमा कसैले खेलाँची नगरौं ।

salt training

कमेन्ट गर्नुहोस्