
यतिबेला हामी नेपाली कांग्रेसको महाधिवेशनको संघारमा छौं । अहिले यसको कार्यतालिका कार्यान्वयनको प्रक्रिया सुचारु छ । पार्टी विधानले निर्दिष्ट गरेको समयसीमाभन्दा एक महिना ढिला गरेर यसलाई अघि बढाइएको छ ।
धेरै शंका र दुश्चिन्ताहरू बढेका छन्, तथापि समयभित्र महाधिवेशन हुने आशा बाँकी नै छ । संसारका प्रजातान्त्रिक संस्थाहरू विधि अनुशरणका उदाहरण अर्थात् दृष्टान्त मानिन्छन् । यसले विश्व समाजमा उनीहरूको साख उच्च छ र अग्लो प्रतिष्ठा कमाएका छन् ।
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो संघर्षशील लोकतान्त्रिक पार्टी हो भन्ने विषयमा दुईमत छैन । यस्तो भए पनि यसको वर्तमान अवस्था आन्तरिक विवाद, गुटबन्दी र जनताको अपेक्षाअनुसार काम गर्न नसकेका कारण चुनौतीपूर्ण र संकटग्रस्त देखिएको छ । के पार्टीहरू पुराना भएपछि यस्तै हुन्छन् वा जति पुरानो भयो उति परिपक्व बन्दछन्, यो आजको मुख्य प्रश्न हो । आफैंले आफ्ना लागि बनाएको विधि पालना नगरे के कस्ता प्रश्न उठ्न सक्छन् वा उठ्छन् भनेर नसोच्नु वा ध्यान नदिनु राजनीतिक पार्टीको ठूलो कमजोरी हो । नेपालमा अक्सर यस्तो हुँदै आएको छ ।
सनातन धर्मको प्रमुख ग्रन्थ श्रीमद्भगवद्गीताको सोह्रौं अध्यायअन्तर्गत तेइसौं श्लोकमा भगवान् कृष्ण भन्छन् - य: शास्त्र विधिमुत्सृज्य वर्तते कामकारत:, न स सिद्धि मवाप्नोति न सुखम् न परांगतिम् । जसले शास्त्र वा विधि विपरीत जे मन लाग्यो त्यही कार्य गर्दछ, उसले जीवनमा न सुख पाउँछ, न त परम गति प्राप्त गर्छ । यसको मर्म स्पष्ट छ, मनपरी गर्नेलाई मर्त्यलोक र परलोक दुवैमा सुख र स्थान छैन । आफैंले पालना गर्न भनेर बनाएको विधि उल्लंघन गर्नु एक प्रकारले अपराध नै हो । यसको हेक्का नेपालका राजनीतिक दलहरूले राखेको पाइँदैन । कुनै पनि संस्था, राजनीतिक दल वा देश चलाउन बनाइएका विधि, विधान र संविधान तोड्ने वा मनपरी गर्ने छुट कसैलाई छैन ।
प्रजातान्त्रिक शासन व्यवस्था अँगालेका देशमा राजनीतिक दलहरूले आमनिर्वाचनमार्फत आवधिक रूपमा सरकार चलाउने आधिकारिकता र वैधता प्राप्त गर्छन् । र, सरकारमा पुगेपछि गरेको कार्यसम्पादनका आधारमा पुनः अनुमोदित वा विस्थापित हुन्छन् । आफ्नो स्थापनाको ८ दशकभित्र नेपाली कांग्रेसको जनाधारमा बारम्बार उतारचढाव देखिएको छ । यसका केही आन्तरिक र बाह्य आयामहरू छन् । यस सन्दर्भमा चर्चा गर्नु र अगाडिको बाटो तय गर्नु आजको प्रमुख आवश्यकता हो । कांग्रेसले पार्टी सुदृढीकरणका लागि तत्काल केही आवश्यक कदम चाल्नुपर्ने अनिवार्य आवश्यकता देखिन्छ । यसको प्रस्थानबिन्दु निर्धारित समयभित्र महाधिवेशन नै हो ।
नेपाली कांग्रेसले नेपालको राजनीतिक र संवैधानिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ र यसले अंगालेको बहुदलीय लोकतान्त्रिक व्यवस्था आज सर्वस्वीकृत भएको छ । तर, हालका वर्षहरूमा पार्टीले विभिन्न आन्तरिक तथा बाह्य चुनौतीहरूको सामना गरिरहेको छ । यसको कारण के होइन भने वर्तमान अवस्थाका जिम्मेवार अरू नै छन्, स्वयं पार्टी र यसका नेता होइनन् । कांग्रेसमाथि उठ्ने गरेका अनगिन्ती प्रश्नहरूमध्ये पार्टी नेतृत्वले सधैंभरि आवधिक महाधिवेशन किन समयभित्र गर्दैन भन्ने मुख्य प्रश्न हो ।
यसैगरी पार्टी विधानको पालना नगरीकन मनलाग्दो सधैँ किन गरिरहन्छ? भन्ने हो । यी दुवैका अतिरिक्त अन्य महत्त्वपूर्ण प्रश्नहरू पनि छन् । तर आजका प्राथमिकता ती होइनन् । तसर्थ आजको आवश्यकता निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गरी निकट भविष्यमा आइपर्ने हरेक चुनौतीका लागि आफूलाई तयार राख्ने हो ।
आन्तरिक विवाद समाधान
कांग्रेसको सबैभन्दा ठूलो समस्या भनेको आन्तरिक कलह र अस्वस्थ गुटबन्दी हो । पार्टी स्थापनाकालदेखि नै गुटहरूको निरन्तरता एउटा स्थायी रोग जस्तो देखिएको छ, जसले गर्दा पार्टी कमजोर बनेको छ । केन्द्रीय समिति बैठकहरूमा समेत नेताहरूबीच शत्रुताभाव, घोचपेच र कटुता देखिनुले पार्टीभित्रको एकतामा प्रश्नचिह्न खडा गरेको छ ।
विगतमा सभापति र इतर पक्षबीचको अन्तहीन विवाद, विभाग गठन, भ्रातृ संस्था विस्तार र नियमित महाधिवेशन जस्ता विषयमा देखिएको गैरजिम्मेवारी र व्यापक असन्तुष्टिले पार्टीलाई थप विवादित र विभाजित बनाएको थियो भने अहिले आएर महाधिवेशन आयोजना कहिले गर्ने भन्ने अनुत्पादक विवादले पार्टीका गतिविधिहरू प्रभावित भएका छन् । यसले पार्टीका आम साथीहरूमा गम्भीर निराशा पैदा गरेको छ ।
विधानले निर्धारण गरेको समयसीमाभित्र पार्टी महाधिवेशन गर्न नखोज्नु संस्थाका लाखौं सदस्यप्रतिको सरासर बेइमानी हो । र, अर्को कुरा पार्टी विधानको व्यवस्था बमोजिम ५४% महाधिवेशनका सदस्यहरूले माग गरेको विशेष महाधिवेशनको प्रस्तावलाई बेवास्ता गम्भीर ऐतिहासिक त्रुटि हो । यो पार्टी विधान उल्लंघनको जीवन्त दृष्टान्त हो ।
कमजोर संगठन र नेतृत्व हस्तान्तरण प्रक्रिया
पार्टीको संगठन केन्द्रदेखि गाउँ तहसम्म प्रभावकारी हुन सकेको छैन । नेतृत्वले युवा पुस्तालाई जिम्मेवारी दिन हिच्किचाएको र पुरानै शैलीमा पार्टी सञ्चालन गर्न खोजेको देखिन्छ । हामीले के बुझ्नुपर्छ भने क्रमिक रूपमा नेतृत्व हस्तान्तरण हुँदै जानु प्राकृतिक र न्यायोचित प्रक्रिया हो । यसमा नेतृत्वले संयोजनकारी भूमिका खेल्न सक्नुपर्छ ।
पार्टीमा काम गरिरहेका ऊर्जाशील नयाँ पुस्तालाई उनीहरूको भविष्यप्रति आश्वस्त बनाउने काम कसको हो? यसको प्रत्याभूति नहुँदा नयाँ पुस्ताले कसरी काम गर्छ र कांग्रेसमा किन आउँछ? मौजुदा पार्टी प्रथा र शास्त्रीय अभ्यासले युवाहरूको उमेर, ऊर्जा र क्षमताको चरम शोषण गरेको छ । र, धेरै वर्षदेखि लाग्ने गरेको यस्तो आरोप सत्य छ । तसर्थ, समयसापेक्ष रूपमा सांगठनिक संरचना, राजनीतिक चिन्तन र कार्यशैलीमा ठूलो र व्यापक परिमार्जन गर्न आवश्यक देखिएको छ । यसमा ढिलाइ हुँदा भविष्यमा गम्भीर क्षति बेहोर्नुपर्ने हेक्का कसैले पनि राखेको पाइँदैन । कांग्रेसमा यस्तो संवेदनहीनताको विकास कसरी भयो, बुझिनसक्नु छ ।
विगतका सरकार सञ्चालन र जनअपेक्षा
कांग्रेसले सरकारको नेतृत्व गर्दा वा सरकारमा सहभागी हुँदा जनताले अपेक्षा गरेअनुसार चित्तबुझ्दो रूपमा सुशासन, विकास र समृद्धिको काम गर्न सकेको छैन । राजनीतिक अस्थिरता र सरकार परिवर्तनको खेलमा लाग्दा आर्थिक सुधार र विकास निर्माणका एजेन्डाहरू ओझेलमा परेका छन् । यसले जनतामा पार्टीप्रति वितृष्णा पैदा गरेको छ ।
यसको गम्भीर समीक्षा कहिल्यै भएन र सुधारको चेष्टा समेत गरिएन । हिजोआजका गतिविधि र क्रियाकलाप समेत उत्साहजनक छैनन् । देशमा विकसित भएको पछिल्लो राजनीतिक परिस्थिति प्रतिको उदासीनता निकै डरलाग्दो छ । जनतामा ठूलो छटपटी छ । यसको निकास कसरी होला, कसैले अनुमान गर्ने सक्दैन ।
वैचारिक अस्पष्टता
पार्टीले सैद्धान्तिक रूपमा बी.पी. कोइरालाको प्रजातान्त्रिक समाजवादलाई अंगाले पनि व्यवहारमा कुन सिद्धान्त र विचार हावी भइरहेको छ भन्ने स्पष्ट छैन । बदलिँदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकताअनुसार पार्टीले आफ्नो नीति र विचारलाई निरन्तर माझिरहन आवश्यक छ । तर, हामी यतिबेला के गर्दैछौं ? न सिंहावलोकन छ, न त मूल्यांकन नै छ । सिद्धान्त र नीतिमा सधैँ स्पष्ट रहेको कांग्रेस यतिबेला निकै ठूलो अलमलमा परेको देखिन्छ । सत्ताको चास्नीमा डुबेर पार्टीको मूल विचार र बाटो के हो, ठम्याउन छाडेको छ ।
आफ्नो मौलिक धरातल छाडेर सत्ता र फगत सत्ताका लागि फरक दर्शन तथा सिद्धान्त भएका राजनीतिक दलहरूसँग गठजोड गरिरहेको देखिन्छ । यस व्यवहारले समयक्रममा पार्टीलाई सिद्धान्तहीन जमातमा परिणत गर्ने खतरा बढिरहेको छ । यस विषयमा बेलैमा ध्यान नपुर्याउने हो भने कांग्रेस इतिहासको कथा बन्न सक्छ ।
निर्वाचन परिणाम र जनाधार
पछिल्ला निर्वाचनहरूमा कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न सकेको छैन (जस्तै २०७४ र २०७९ को चुनाव) । यसले पार्टीको जनाधार खस्कँदै गएको संकेत गर्छ । कम्युनिस्ट गठबन्धनको उदय र अन्य नयाँ दलहरूको आगमनले कांग्रेसको परम्परागत भोट बैंकमा चुनौती थपेको छ ।
जेनजी विद्रोहपश्चातको अवस्था झन् चुनौतीपूर्ण बनेको छ । २०७९ को निर्वाचनमा गरिएको गठबन्धनविपरीत एमालेसँगको सत्ता समीकरण चरम अनुत्पादक र आत्मघाती साबित भयो । यसलाई सुधार कसरी गर्ने? महाधिवेशनमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने यो सर्वाधिक महत्त्वपूर्ण मुद्दा हो ।
कांग्रेसलाई पुनः सशक्त र लोकप्रिय पार्टी बनाउन तत्कालै निम्न आवश्यक कदमहरू चाल्नुपर्छ ।
आन्तरिक एकता र अनुशासन
सर्वप्रथम, पार्टीभित्रको गुटबन्दी अन्त्य गरी आन्तरिक एकता सुदृढ गर्नुपर्छ । नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्छ र पार्टीको निर्णय प्रक्रियालाई सरोकारवालाको सहभागितामा खुला र पारदर्शी बनाउनुपर्छ ।
पार्टी अनुशासनको कडाइका साथ पालना हुनुपर्छ । तर, पूर्वाग्रह राखेर दण्डित र पुरस्कृत गर्नु हुँदैन । योगदान र क्षमतामा आधारित मूल्यांकन प्रणाली लागू गर्नुपर्छ । यी सबै कार्यका लागि तत्काल महाधिवेशन गर्नुपर्छ । अबका बीस दिनमा महाधिवेशन सम्पन्न गरेर संसारसामु कांग्रेसको आन्तरिक व्यवस्थापन र सामर्थ्य देखाउन सक्नुपर्छ ।
नेतृत्व हस्तान्तरण र युवा परिचालन
पार्टीमा नेतृत्व हस्तान्तरणको स्पष्ट प्रक्रिया हुनुपर्छ । युवा नेताहरूको ऊर्जा, क्षमता र नयाँ सोचलाई पार्टीको मूलधारमा ल्याई सक्रिय रूपमा परिचालन गर्नुपर्छ । नयाँ पुस्तालाई उपयुक्त जिम्मेवारी दिँदा पार्टीले नयाँ दिशा र गति पाउँछ भन्ने बुझ्नुपर्छ । कांग्रेस पुरानो राजनीतिक पार्टी भएकाले सबै पुस्ताका काम गर्न सक्ने नेताहरूको समन्वयात्मक प्रयासले मात्र सफलता हासिल हुनसक्छ । तसर्थ पुराना र नयाँ दुवै पुस्ताको संयोजन आजको आवश्यकता हो भन्ने बुझ्नुपर्छ । पार्टीभित्र कसैले जित्ने र कसैले हार्ने अवस्था आउन दिनुहुँदैन ।
नीति र कार्यक्रममा स्पष्टता
पार्टीले आफ्नो नीति र कार्यक्रमलाई समयसापेक्ष रूपमा परिमार्जन गर्नुपर्छ । २०८० मा सम्पन्न महासमिति बैठकले पारित गरेका नीतिगत प्रस्तावहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । देशको आर्थिक विकास, सुशासन र रोजगारी सिर्जना जस्ता जनसरोकारका विषयमा ठोस योजना र मार्गचित्र प्रस्तुत गर्नुपर्छ ।
संगठन सुदृढीकरण र जनसम्पर्क
केन्द्रदेखि वडा तहसम्म पार्टी संगठनलाई चुस्त र सक्रिय बनाउनुपर्छ । जनताका घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने कार्यलाई तीव्रता दिनुपर्छ ।
जनसम्पर्कलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग गर्न सकिन्छ । नेतृत्वले परिवर्तनशील समाजको आवश्यकता र समयको पदचाप बुझ्नसक्नुपर्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई सहृदय र प्रेमपूर्वक साथै हिँडाउन सक्नुपर्छ । यसका लागि मुर्झाएर किंकर्तव्यविमूढ भएर बसेका भ्रातृसंगठनहरूलाई परिचालन गर्नुपर्छ ।
सरकारको कार्यशैलीमा सुधार
सरकारमा रहेको बेला कांग्रेसले जनमुखी कार्य गर्नुपर्छ । भ्रष्टाचारमुक्त समाजका लागि सुशासन, पारदर्शिता र जनहितका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्छ । सरकारको काम गराइबाट जनतामा उत्साह र सकारात्मक सन्देश जान जरुरी छ । नत्र जनताले नयाँ पार्टी खोज्न थाल्छन् । सरकारको काम गराइबाट जनताले चित्त बुझाउन सक्नुपर्छ । आजसम्म त्यसो हुन सकेन, अब यसको कारण खोज्नुपर्छ । कांग्रेस एमालेको पछिल्लो सत्ता गठबन्धनको आधारशिला सात बुँदे सहमति बेवारिस बन्दा जेनजी विद्रोहको उदय भएको हो ।
प्रशिक्षण र वैचारिक स्पष्टीकरण
पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त, नीति र कार्यक्रमबारे नियमित प्रशिक्षण दिइनुपर्छ । यसले गर्दा उनीहरू आफ्नो पार्टीको विचार, सिद्धान्तप्रति स्पष्ट हुन्छन् र जनताबीच पार्टीको विचारलाई स्पष्ट रूपमा राख्न सक्छन् । नेपाली कांग्रेसले आफ्नो इतिहास र विरासतलाई जोगाउँदै भविष्यको चुनौती सामना गर्न यी कदमहरू इमान्दारीपूर्वक र तत्काल कार्यान्वयन गर्नुपर्छ । पार्टीको नवीकरण र सुदृढीकरणले मात्र यसको भविष्य सुनिश्चित गर्न सक्छ । पार्टी महाधिवेशनको प्रमुख दायित्व यही हुनुपर्छ ।
विशेष महाधिवेशन
उपरोक्त कामका लागि घोषित र निर्धारित मितिमा १५ औं महाधिवेशन अपरिहार्य छ । यसको अन्य कुनै विकल्प छैन । यस यथार्थलाई नजरअन्दाज गर्ने र अन्यथा सोच्ने हो भने विशेष महाधिवेशनले हामी सबैलाई पर्खिरहेको छ । र यसको समयसीमा २० दिन मात्र बाँकी छ । यस विषयमा कसैले खेलाँची नगरौं ।