
जिल्ला प्रशासन कार्यालय मोरङले सुशासन कायम गर्न तथा सरकारी कार्यालयलाई बिचौलियामुक्त बनाउने अभियान शुरू गरेको छ । अभियानका क्रममा मंगलबार सेवाग्राहीलाई अनावश्यक दु:ख दिने, काममा अवरोध पुर्याउने र महँगो शुल्क असुल्ने ३० जना लेखापढी व्यवसायी (बिचौलिया)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार मालपोत कार्यालय विराटनगरबाट २० जना र जिल्ला प्रशासन कार्यालय मोरङबाट १० जना गरी ३० जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता त्याग्न आएका एक सेवाग्राहीसँग बिचौलियाले १० हजार रुपैयाँ माग गर्दै त्यसमध्ये ५ हजार रुपैयाँ 'सीडीओ साबलाई बुझाउनुपर्छ’ भनेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कटेल आफैं एक्सनमा उत्रिएका थिए ।
आफ्नै नाम जोडेर रकम मागेको गुनासो आएपछि सीडीओ कटेलले मंगलबार बिहानै सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिँदै बिचौलियाहरूलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।
'एक जना सेवाग्राही महिलाले तपाईंको नाम जोडेर १० हजार फाँटबाट मागेका छन् भनेर म्यासेज सीडीओ साबको मोबाइलमा आएको थियो,' जिल्ला प्रशासनका एक कर्मचारीले भने, 'त्यसपछि सीडीओ साबले सबै कर्मचारीलाई बोलाएर एक्सन लिनु भयो । त्यसपछि ति महिलालाई बोलाएर बुझ्दा कर्मचारीबाट नभई बाहिर बसेर लेखापढी गर्नेले मागेका रहेछन् ।'
पैसा माग्ने लेखापढी व्यवसायी नचिनेको बताएपछि सूचना दिने महिलामाथि पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार कार्यालय परिसरमा एउटा फोटोकपी गरेको ५० सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । ‘बिचौलियाविना कामै हुँदैन भन्ने भ्रम फैलाएर सेवाग्राहीबाट मोटो रकम असुल्ने गरेको सूचनाका आधारमा हामीले निगरानी बढाएका हौ,' कोइरालाले भने ।
एसपी कटुवालले पक्राउ परेकाहरूबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । ‘निर्दोषहरू छानबिनपछि छुट्नेछन्, तर सेवाग्राहीलाई सास्ती दिने र अवैध रूपमा रकम असुल्नेहरूलाई कानून बमोजिम कडा कारबाही गरिनेछ,’ उनले भने ।
पक्राउ पर्नेहरूको नाम भने प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।
मालपोत कार्यालयबाट भने कर्मचारीको कार्यकक्षबाटै लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसपछि लेखापढी व्यवसायीले केही बेर कार्यालयको मुख्य गेटमा ताला लगाएका थिए । तर सेवाग्राहीले विरोध गरेपछि उनीहरूले ताला खोलेका थिए ।
मोरङ प्रशासनको सक्रियता बिचौलिया पक्राउमा मात्र सीमित छैन । आइतबार मध्यरातमा प्रहरीले विराटनगरका दुई वटा क्यासिनोमा छापा मारेर २० जना नेपालीलाई नियन्त्रणमा लिएको थियो ।
होटल बिगमा सञ्चालित ‘गोल्डेन क्यासिनो’ र होटल रत्नामा सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’ मा गरिएको अपरेसनमा रत्नाबाट १४ र बिगबाट ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका पूर्वनिर्देशक तेजराज गिरी, होटल बिगका डाइरेक्टर हरि भट्टराई र जेनजी अभियन्ताका रूपमा चिनिने रुपेश दाहाल छन् ।