
जुम्ला, ९ पुस– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु दुर्गम भत्ता खाएर सुगममा बस्ने गरेका छन् । प्रतिष्ठानका अधिकांश पदाधिकारी विभिन्न बहानामा सम्पर्क कार्यालय काठमाडौंमै बस्ने गरेको पाइएको छ ।
मन्त्रालयस्तरीय कामकाजको बहानामा महिनाभन्दा बढी समय सम्पर्क कार्यालयमा बस्ने गरेको प्रतिष्ठान स्रोतले बताएको छ । अहिले पनि प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले, शिक्षाध्यक्ष धर्मराज श्रेष्ठ, रजिष्ट्रार विश्वराज काफ्ले, डिनद्धय मोदनाथ मरहठ्ठा र गायत्री राई तथा निर्देशक धर्मराज गोसाईंलगायतका पदाधिकारी करिब २ महिनादेखि मन्त्रालयमा कामको बहानामा जिल्ला बाहिर छन् ।
दुर्गमको ९० प्रतिशत भत्ता खाएर प्रतिष्ठानका पदाधिकारी समपर्क कार्यालय काठमाडौंमै बस्ने गरेको जुम्लीवासीको दाबी छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला भए पनि पदाधिकारी कमै मात्र बस्ने गरेका छन् । प्रतिष्ठानमा दुई सातादेखि अक्सिजन अभाव भई बिराम छटपटाई रहेका छन् भने पदाधिकारी कामको बहानामा काठमाडौंमै छन् ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले काम विशेषले आफू काठमाडौं गएको जनाएका छन् । अन्य पदाधिकारीका बारेमा उनले केही स्पष्ट पारेनन्, कारोबारमा खबर छ ।