
काठमाडौं, ९ पुस- काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदाय लगायत आदिवासी जनजाति संघ संस्थाहरु माघ १ गते हुने थारु राष्ट्रिय माघी महोत्सवको तयारीमा जुटेका छन् । संयोजक, आर्थिक र जिम्मेवारी बाँडफाँड लगायतका पाटो नमिल्दा विगत २ बर्ष देखि उपत्यकामा दुई ठाँउमा हुँदै आइरहेको थारु राष्ट्रिय माघी महोत्सवको तयारी यो बर्ष पनि दुई ठाँउमा हुने भएको छ ।
थारु कल्याणकारिणी सभा उपत्यका समितिको मूल संयोजनमा बसेको बैठकले पौष ४ गते डम्मर प्रसाद चौधरीको संयोजकत्वमा महोत्सव समिति गठन गरे पछि, थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्षको अध्यक्षतामा बसेको बैठकले शनिबार पुस ८ गते ३२ वटा आदिवासी जनजाति संस्था आवद्व १०१ सदस्य सहितको थारु राष्ट्रिय माघि महोत्सब समिति गठन गरेको छ । बैठकले चम्पन साँस्कृतिक समूहका अध्यक्ष नन्दु राज चौधरीलाई थारु राष्ट्रिय माघि महोत्सबको संयोजकमा चयन गरेको छ । १४ उपसमिति संयोजक सहित १०१ सदस्य रहेको थारु राष्ट्रिय माघि महोत्सबको उपसमितिमा प्रचार प्रसार, अर्थ ब्यवस्थापन एवं परिचालन, मंच ब्यवस्थापन, साउण्ड सिस्टम ब्यवस्थापन, फुड स्टल ब्यवस्थापन, सांस्कृतिक, झाँकी ¥याली, स्वयम् सेवक परिचालन, अतिथि सत्कार, औषधी उपचार, सल्लाहकार, अनुगमन तथा मुल्याङ्कन, रक्तदान व्यवस्थापन र जिता व्यवस्थापनको जिम्मेबारी बाँडफाँड गरेको छ ।
महोत्सव एक ठाउँमा हुँदा हुने उल्लासमय वातावरण दुई ठाउँमा महोत्सव हुँदा नहुनेगरेको बुझाई दर्शकहरुको छ । बैठकमा थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद चौधरीले भने “माघी महोत्सवलाई यस वर्ष एकै ठाउँमा गर्ने प्रयास जारी रहेको बेला थारु कल्याणकारिणी सभाले गैर जिम्मेबारी पुर्वक एकलौटी रुपमा आयोजक समिति सार्वजनिक गरेकोले थारु माघि महोत्सब फेरी पनि दुई ठाँउमा हुने निश्चित नै भयो” थारु कल्याणकारिणी सभा केन्द्रले आयोज समितिको संयोजन गर्नु पर्ने, हिसाब पार्दर्सी बनाउनु पर्ने, र समान जिम्मेवारी लाई आत्मसाथ गर्दै सम्पूर्ण संघ संस्थालाई मिलाएर लानु पर्ने भन्दै थारु विद्यार्थी समाज, वर्दियाली थारु विकास मञ्च लगाएतका विभिन्न थारु संघ संस्थाले माग राख्दै आइरहेका छन् । यस वर्ष पनि सोही विषयमा विवाद रहेको दुवै पक्षको भनाई छ ।