
काठमाडौँ, ९ पुस - नेपाली काँग्रेसका नेत्रीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्नुपर्ने माग गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौला, नेपाल महिला संघका निवर्तमान केन्द्रीय सदस्यद्वय दिव्यश्वरी शाह र ओमकला गौतमलगायतका महिला नेत्रीले आज एक विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जतिसक्दो चाँडो जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रियसभाको निर्वाचन सम्पन्न नहुँदासम्म संघीय संसद्ले पूर्णता नपाउने, व्यवस्थापिका–संसद्ले पनि पूर्णता नपाउने, महिलाको एक तिहाइ प्रतिनिधित्वको सुनिश्चितता नहुने र नयाँ सरकार गठन प्रक्रियासमेत अवरुद्ध हुन जाने भएकाले उक्त अध्यादेश तत्काल जारी गरी राष्ट्रियसभाको निर्वाचनका लागि सहज राजनीतिक निकासको मार्ग प्रदान गर्न राष्ट्रपतिसमक्ष हामी जोडदार माग गर्दछौँ ।