२३ जेठ २०८३, शनिबार

आज ख्रीष्टमस दिवस मनाईंदै, सरकारले दियो सार्वजनिक विदा

पुस १०, २०७४
आज ख्रीष्टमस दिवस मनाईंदै, सरकारले दियो सार्वजनिक विदा

काठमाडौं, १० पुस– क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।  

येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।  विसं २०६२÷६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । 

सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ । नेपालको ख्रीष्टियन इतिहास ४०० वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । 

हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले ख्रीष्टमस महोत्सव २०७४ आज राष्ट्रिय सभागृहमा दिनको ३ः०० बजे आयोजना गरेको अध्यक्ष सिवी गहतराजले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्