
काठमाडौं, १० पुस– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले विश्वको कुनै पनि शक्तिले एमाले र माओवादीबीचको एकता नरोकिने दाबी गरेका छन् ।
संयुक्त वाम गठबन्धन काठमाडौ क्षेत्र नम्बर २ ले थलीमा आयोजना गरेको बधाई एवै धन्यवाद ज्ञापन कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले कसैको बहकाउ र भ्रममा नपर्न दुवै पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
‘दुनियाको कनुै पनि तागतले दुई पार्टीको एकता रोकिँदैन’ कार्यक्रममा नेता नेपालले भने,‘ तपाईंहरु कसैको बहकाउ र भ्रममा नपर्नुस् ।’
नेता नेपालले प्रतिनिधि सभा र समानुपातिकको परिणाम सार्जजनिक गर्न निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आपत्ति जनाए ।
बरिष्ठ नेता नेपालले प्रत्यक्ष तर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएर नैतिकता देखाउनु पर्नेमा उल्टै राष्ट्रियसभाको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाए ।
संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउंदै उनले राष्ट्रिय सभा बहुमतीय प्रणालीमा नै गठन हुने ठोकुवा गरे ।
कार्यक्रममा निर्वाचन मा विभिन्न ढंगवाट सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।