
काठमाडौं, ११ पुस– सरकारले प्रदेश मन्त्रालयअन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारेको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।
प्रदेशमा सरकारले प्रदेश मन्त्रिपरिषद्, प्रदेश आर्थिक विकास मन्त्रालय, प्रदेश कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश गृह मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा समाजिक विकास मन्त्रालयको नाम राखिएको छ ।
कर्मचारी समायोजन नियमावली नआएकाले मन्त्रालयले अहिले उनीहरुलाई आन्तरिक रुपमा अस्थायी तवरबाट पठाउने उनले बताए ।
एकता रोकिदैन– वाम गठबन्धनका शीर्ष नेताहरुले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् । संयुक्त वाम गठबन्धन काठमाडौं क्षेत्र नम्बर २ ले थलीमा आयोजना गरेको कार्यक्रममा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले विश्वको कुनै पनि शक्तिले एकता रोक्न नसक्ने दावी गरे । उनले कसैको बहकाउ र भ्रममा नपर्न दुवै पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
यसैबीच पर्सामा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकता कुनै पनि हालतमा नरोकीने दोहोर्याएका छन् । उनले पार्टी एकता नहुने भनेर चलेका हल्ला झूटा भएको बताए । मंगलबार आफू काठमाडौं फर्किएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यसपछि पार्टी एकताको प्रकृया सुरु हुने उनको भनाइ छ ।
राष्ट्रपतिलाई दबाब– नेपाली कांग्रेसका सबै भातृ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न दबाव दिएका छन् । कांग्रेसमा आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, प्रेस युनियन, डिएलए नेपाल र नेपाल दलित संघले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाव दिएका हुन् । पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष उमा रेग्मीले तत्काल राष्ट्रपतिबाट अध्यादेश जारी नभए आन्दोलनका सशक्त कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी दिइन् ।
सरकार गठन प्राथमिकता होइन– संघीय समाजवादी फोरमले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नै नभएको स्पष्ट पारेको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि सरकार निर्माण बारे हल्ला चलेको थियो ।
उनले भेटमा सरकार निर्माणले प्राथमिकता नपाएको जानकारी गराए । ओलीसँग मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको भन्दै उनले आफूहरुको माग अनुसार संविधान संशोधन नभई सरकारमा जाने अवस्था नरहेको स्पष्ट पारे ।
सुधारको खाँचो– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले सोमबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताएका हुन् । सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए ।
क्रिसमस डे– इसाई धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाएका छन् । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर २५ तारिखमा क्रिसमम डे मनाउने गरिन्छ । दिवसका अवसरमा ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थल झिलिमिली पारिएको थियो । क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायत ठाउँमा विशेष कार्यक्रम गरियो । राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजका अनुसार नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको हो ।
विद्युत् माग बढ्दो– आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ । सन् २०३९÷४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार बढ्दो शहरीकरण, औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय उपकरण तथा स्रोतको प्रयोगमा हुने बढोत्तरीका कारण उक्त परिमाणमा माग पुग्ने दखिएको हो । चालू आर्थिक वर्षमा विद्युत्को माग एक हजार ४४३ मेगावाट रहेको उल्लेख गर्दै आयोगले माग व्यवस्थापनका लागि एक हजार ८७६ मेगावाट जरुरी रहने ठहर गरेको छ ।
बोक्सीको आरोपमा कुटपिट– रौतहटको राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीले लौराले प्रहार गर्दा उनको पिँठ्युभरी नीलडाम र टाउकामा गम्भीर चोट लागेको छ ।
घाइतेका श्रीमान् शेख रइद्दिनले छिमेकी नेसाकी बुहारी र मोहिवकी छोरी केही समयदेखि बिरामी रहँदै आएको र उनीहरूलाई गाउँकै झाँक्री बताउने शेख मजारुले जैतुनले जादुटुना गरी भूतप्रेत लगाएको बताएपछि उनीहरुले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको बताए ।
छानबिन शुरु– कालीकोटका म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयमा छानबिन गर्न गठन भएको समितिले सोमबारबाट अनुसन्धान शुरु गरेको छ । घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले समिति गठन गरेको थियो ।
अनुसन्धानका लागि कालीकोटमा रहेको समितिले सोमबार सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । म्यादी प्रहरीको सेवा सुविधानको विषयलाई लिएर प्रहरी र म्यादी प्रहरीबीच शुक्रबार भएको झडपमा म्यादी प्रहरी ऐडीको मृत्यु भएको थियो ।
विदेशका खबर– उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको बस दुर्घटना हुदाँ कम्तीमा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा संयुक्त परिवारका २० जना रहेका छन् । विपरीत दिशाबाट आएको अर्काे बससँग ठोक्किँदा सो दुर्घटना भएको हो । आगी सहरमा क्रिसमसको उपलक्षमा चर्चतर्फ गइरहेको बस दुर्घटनामा ज्यान गुमाउनेमा ६ बालबालिकासमेत रहेका छन ।
खेल खबर– भैरहवा ग्ल्याडिएटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको क्वालिफायर्स चरणमा प्रवेश गरेको छ । लिग चरणको चौथो खेलमा सोमबार पोखरा राइनोजमाथि ७ विकेटको जित हासिल गरेपछि भैरहवाको लिगमा ६ अंक भएको छ ।
यसले क्वालिफायरमा स्थान बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको १०९ रनको सामान्य लक्ष्य भैरहवाले ३ विकेट गुमाएर १७.४ ओभरमा पूरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १८.३ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो ।
–काठमाडौं किङ्गस् ११ एभरेष्ट प्रिमियर लिग क्रिकेटको लिग चरणबाटै बाहिरिएको छ । सोमबार भएको खेलमा विराटनगर वारियर्ससँग ८ रनले पराजित भएसंगै काठमाडौंको यात्रा सकिएको हो । लिगका सबै ५ खेलमा काठमाडौंले एकमा मात्र जित हात पार्न सक्यो ।
–पाँचथरको फिदिममा जारी नवौं फाल्गुनन्द गोल्डकपमा डिफेण्डिङ च्याम्पियन झापा ११ ले सेमिफाइनलको यात्रा तय गरेको छ । आयोजक फिदिम स्पोर्टीङ क्लबलाई ७—१ को फराकिलो गोलअन्तरले पराजित गर्दै झापाले अन्तिम ४ मा ठाउँ पक्क गरेको हो ।
मंगलबार युकेएफसि दार्जिलिङ र अग्नी रुपन्देहि ११ बीच दिउसो २ बजे प्रतिश्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ ।