
काठमाडौं, ११ पुस–नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज वस्दै छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पार्टी एकता गर्नेगरि वाम गठवन्धन बनाएर चुनावमा भाग लिएका दुई पार्टी बीच चुनाव सकिएपछि संयोजन समितिको बैठक औपचारिक रुपमा बस्न सकेको थिएन ।
चार दिन अघि देखि काठमाडौं बाहिर रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
आफ्ना मतदातालाई धन्यवाद दिने कार्यक्रम सकेर प्रचण्ड काठमाडौं फर्कने कार्यक्रम रहेको छ । त्यसपछि पार्टी एकता, राष्ट्रिय सभा विधेयक र सरकार गठनका सम्बन्धमा नेकपा एमालेसँग छलफलको तयारीमा प्रचण्ड रहेको उनको सचिवालयले जनाएको छ ।
आजै बैठक बस्ने तयारी गरिएको भएपनि स्थान र समय भने तय भइसकेको छैन । यद्यपि बैठक बस्ने तयारी दुवै दलबाट भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा पार्टी एकताका खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार मङ्गलबारको बैठक तय भइसकेको छ । अध्यक्ष प्रचण्ड काठमाडौँ फर्किएपछी समितिको बैठकमा भाग लिने बताउँदै उनले अपराह्नसम्म बैठक बस्ने बताए ।
दुई कम्युनिस्ट पार्टीको एकताबारे विभिन्न टिकाटिप्पणी भइरहँदा संयोजन समितिको बैठकको तयारी गरिएको हो ।