२७ असार २०८३, शनिबार

दूरसञ्चार कम्पनीको अठारौं वार्षिक साधारणसभा, नगद लाभांश वितरणको प्रस्ताव पारित

पुस ३०, २०८२
काठमाडौं
दूरसञ्चार कम्पनीको अठारौं वार्षिक साधारणसभा, नगद लाभांश वितरणको प्रस्ताव पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

राष्ट्रियसभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

उनका अनुसार सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनीको अठारौं वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवा भावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने बताइन् ।

विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमलाई परिलक्षित गरिरहेको उनले जानकारी दिइन् ।

null

कम्पनीले भावी दिनमा मेघा परियोजना सञ्चालन गर्नु पर्ने र थप पुँजी आवश्यक हुने अवस्थामा बोनस शेयर समेत उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल ३८ अर्ब १९ करोड आम्दानी गरी ६ अर्ब नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत आफ्नो कूल आयमध्ये १८ अर्ब ४६ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको छ ।’

यसका साथै उनले जोखिम न्यूनीकरणको लागि आय सुनिश्चितताको परीक्षण, कार्यसम्पादन परीक्षण तथा प्राविधिक परीक्षणको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको जानकारी गराउँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायतका क्षेत्रहरूमा सदा झैं सहयोग उपलब्ध गराउँदै आएको बताइन् ।​

अध्यक्ष अर्यालले डाटा सेवातर्फ दिनानुदिन ग्राहक आकर्षण बढ्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागत प्रभावी बनाउँदै कुशल रणनीतिका साथ बजार हिस्सा बढाउन विशेष प्रयत्न गरिने बताइन् ।

कम्पनीले अठारौं साधारणसभाले पारित गरे बमोजिमको लाभांश रकम पुस ३० गतेदेखि नै एनएमबि बैंकमार्फत सर्वसाधारण शेयरधनीलाई वितरण गर्ने व्यवस्था मिलाएको प्रवक्ता मानन्धरले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्