३१ जेठ २०८३, आइतबार

७ प्रदेशमध्ये कुन समृद्ध र गरिब ?

पुस १२, २०७४
७ प्रदेशमध्ये कुन समृद्ध र गरिब ?

काठमाडौं, १२ पुस- मुलुक संघीय प्रणालीमा गएसँगै ७ प्रदेशमध्ये कुन समृद्ध र गरिब छन् भनेर लेखाजोखा सुरु भएको छ । समृद्धि र गरिबीका आधारमध्ये मुलुकभित्रमा खानीको आधार विश्लेषण गर्दा केन्द्रीय राजधानीसमेत रहेको प्रदेश ३ समृद्ध देखिएको छ ।

खानी विभागले दिएको तथ्यांक र उद्योग मन्त्रालयले सार्वजनिक गरेको विभिन्न वर्षको वार्षिक प्रतिवेदनअनुसार सातवटा प्रदेशमध्ये उत्खनन भइरहेको खनिज पदार्थ र खनिज पदार्थ रहेको वा नरहेको विषयमा गरिएका विभिन्न अध्ययनलाई आधार मान्दा प्रदेश २ सबैभन्दा गरिब देखिएको छ ।

खानी तथा भूगर्भ विभागले दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकभित्र १ सय २८ ठाउँमा खनिज पदार्थ उत्खनन भएको छ । यसरी उत्खनन भएका खानीहरूमध्ये चुनढुंगाको संख्या धेरै छ ।

उत्खनन गरिएका खानीहरू स्थानका हिसाबले सबैभन्दा धेरै प्रदेश ३ मा छन् । प्रदेश २ का कुनै पनि स्थानमा खनिज पदार्थ उत्खनन भएको छैन । उत्खनन भएका खनिजमध्ये प्रदेश १ मा आठ स्थानमा खनिज उत्खनन भएको छ । जसमा पाँच ठाउँमा चुनढुंगा, दुई ठाउँमा रातोमाटो र एक ठाउँमा स्फटिकको उत्खनन भएको छ ।

त्यस्तै, सबैभन्दा बढी प्रदेश ३ मा ४५ स्थानमा खनिज उत्खनन भइरहेको छ । धादिङमा एक ठाउँमा डोलोमाइट, दुई ठाउँमा फलाम, एक ठाउँमा सिसा, २२ ठाउँमा चुुनढुंगा, एक ठाउँमा म्याग्नेसाइट, तीन ठाउँमा मार्बल, नौ ठाउँमा क्वार्टजित नामक धातु उत्खनन भइरहेको छ । चुनढुंगाजस्तै टल्क धातुको पनि प्रदेश ३ मा पाँच ठाउँमा उत्खनन भइरहेको छ ।

यसरी उत्खनन भइरहेका खानीमध्ये प्रदेश ४ मा सात ठाउँ, प्रदेश ५ मा ३६ ठाउँ र प्रदेश ६ मा २५ स्थानमा खानी उत्खनन भइरहेको विभागले जनाएको छ । प्रदेश ७ मा आठ ठाउँमा खनिज उत्खनन भइरहेको छ ।

प्रदेश नं.               उत्खनन सुरु भइसकेका      अध्ययन सुरु/स्वीकृति पाएका
प्रदेश १                            ८                                  ३७
प्रदेश २                            ०                                  २
प्रदेश ३                           ४५                               १६१
प्रदेश ४                           ७                                 २१
प्रदेश ५                          ३६                                 ९९
प्रदेश ६                          २५                                २३
प्रदेश ७                          ८                                   २२
 

विभागको स्वीकृतिमा विभिन्न कम्पनी एवं संस्थाले गरेको अध्ययनले मंगलबारसम्म मुलुकभर ३ सय ६५ स्थानमा खानी भेटिएको छ । यो अध्ययनका लागि अनुमति माग्ने कम्पनीको संख्या बढिरहेकोे विभागले जनाएको छ । विभागका सिनियर डिभिजन इन्जिनियर कृष्णदेव झाले विभागले अध्ययनका लागि जहिले पनि अनुमति दिन सक्ने भन्दै यो संख्या दैनिक बदलिन सक्ने जानकारी दिए, सुदर्शन अर्यालले राजधानी दैनिकमा खबर लेखेका छन्  ।
 

salt training

कमेन्ट गर्नुहोस्