
पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याएकी छन् । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा गीति एल्बमको लोकार्पण गरिएको हो ।
गीतकार/साहित्यकार अमर वान्तुको प्रमुख आतिथ्यतामा गीतकार संघका वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार तथा गीतकार उत्तम केसी, वरिष्ठ संगीतकार राजु सिंह, स्रष्टा गीता अधिकारी, एल्बमसँग सम्बन्धित संगीतकार दीपक शर्मा, संगीतकार राजेन्द्र बजगाईं र गायक सविन सुवेदीलगायतले गीति एल्बमको लोकार्पण गरे ।
कार्यक्रमको सहजीकरण गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले गरेका थिए भने मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए । सम्पादक भुसालले मिलाप पत्रिका विगत १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिसँग सम्बन्धित समाचारलाई प्राथमिकतामा राख्दै आएको बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संगीतकार दीपक शर्माले गीता अधिकारीका गीतमा संगीत संयोजन गर्न पाएको अनुभव साटे। उनले गीताका सिर्जनामा मनोरञ्जनसँगै सशक्त सन्देश पनि समेटिएको बताए । वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्रीले गीतासँग लामो समयदेखि पत्रकारितामा सहकार्य रहेको स्मरण गर्दै पछिल्लो समय सृजनात्मक क्षेत्रमा देखिएको कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रभावबारे चर्चा गरे ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गीता अधिकारीले आफ्नो जन्मदिनमा सिर्जनात्मक कृति सार्वजनिक गर्ने परम्परा बसालेको उल्लेख गर्दै यसअघि जन्मदिनकै अवसरमा ‘मैले पढेका ५१ पुस्तक’ र ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याइसकेको जानकारी दिए ।
यस्तै, कलाकार रोशनी केसीले गीताको निरन्तर सिर्जनात्मक सक्रियताको प्रशंसा गर्दै उनको लेखनको आफू प्रशंसक रहेको बताए । वरिष्ठ संगीतकार राजु सिंहले गीताका हरेक सिर्जनालाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उनको एउटा गीतमा आफूले पनि संगीत गरिरहेको जानकारी गराए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले गीता अधिकारी अनेसासको आजीवन सदस्य रहेको बताउँदै साहित्यिक यात्रामा उनको योगदानको चर्चा गरे । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सञ्चारकर्ममा जस्तै गीतकारका रूपमा पनि गीता अधिकारी सशक्त र अब्बल रहेको धारणा व्यक्त गरे । प्रमुख अतिथि अमर वान्तुले गीताका यसअघि प्रकाशित कृतिहरू अध्ययन गरेको बताउँदै गीतकारका रूपमा उनको शब्द चयन र भाव अभिव्यक्ति विशेष रहेको उल्लेख गरे ।
एल्बमकी स्रष्टा गीता अधिकारीले सानैदेखि गीतसंगीत र साहित्यप्रति गहिरो रुचि रहेको बताउँदै पछिल्लो समय आफ्नो जन्मदिनमा कृति सार्वजनिक गर्ने परम्परा शुरू गरेको जानकारी दिइन् । आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
महाकाव्यकार खेमनाथ दाहालले गीताका यसअघिका दुई पुस्तकमा आफूले भूमिका लेखेको स्मरण गर्दै उनका कर्म र सिर्जनशीलता अनुकरणीय रहेको धारणा राखे ।
बिहीबार लोकार्पण गरिएको एल्बममा ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, तीजैमा व्रत बसी’, ‘श्वास फेरि’ ‘छम छम नाचौन’, ‘कति सजिलै’ र ‘माटोको सुगन्ध’ जस्ता सात गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा सारिका घिमिरे, योगशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर रहेको छ । यस्तै दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माको संगीत रहेको छ ।
एल्वम लोकार्पण समारोहमा केक काटेर स्रष्टा गीता अधिकारीको जन्मोत्सव पनि मनाइएको थियो । समारोहमा गायक चेतन राई, रमेश पाठक, कलाकार÷मोडल कृष्ण रसाल, शिला गजुरेल, गायक/संगीतकार सागर अधिकारी ‘शरद’, पत्रकार तुलसी गिरी ‘भावुक’, किशन अर्याल, रिना श्रेष्ठ, प्रवीन किरात, ट्याटु आर्टिष्ट सुनिता कुँवर, मोहमद जलिम, सुरेन्द्र थापा ‘स्माइल’लगायतका व्यक्तित्वको विशेष उपस्थिति रहेको थियो ।