लोकान्तर संवाददाता
काठमाडौं, ९ माघ –सरकारले आगामी फागुन पहिलो सातादेखि अल्लो अभियान संचालन गर्ने भएको छ । अल्लो उत्पादनलाई अभिवृद्वि गर्न अल्लो उत्पादन हुने विभिन्न ५८ जिल्लामा उक्त अभियान संचालन गर्न लागिएको हो ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)को प्राविधिक सहयोग र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा उद्योग मन्त्रलायले उक्त अभियान संचालन गर्न लागेको हो ।
मन्त्रालयले विभिन्न २२ जिल्लामा नेपाली प्राविधिकबाट उत्पादित मेसिनको प्रयोग गर्नेगरी अल्लो प्रशोधन केन्द्र स्थापना गर्न लागेको छ ।
खासगरी गलैंचा बनाउन प्रयोग गरिने अल्लोबाट बनेका २ सय भन्दा बढी वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात हुन्छ ।
लघु उद्यम विकास कार्यक्रमका तर्फबाट उद्योग मन्त्रालयमा प्रमुख प्राविधिक सल्लाहकार डा. लक्ष्मण पुनका अनुसार अल्लोबाट बनेका वस्तुको माग विदेशी बजारमा उच्च छ । गत आवमा अल्लोबाट बनेका विभिन्न वस्तुको निर्यात झण्डै ९ अर्ब पुगेको उनले बताए ।
हाल मुकुकभर ५ हजार मानिस अल्लोसँग सम्बन्धित कार्यमा रोजगार छन् ।