
मोरङको निर्वाचन क्षेत्र नम्बर ३ शिक्षित उम्मेदवारहरूको ‘डिग्री’ नाप्ने थलो बनेको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका १८ जना उम्मेदवारहरूको शैक्षिक स्तर र उमेरको विवरण चाखलाग्दो छ ।
शैक्षिक योग्यतामा सबैभन्दा ‘हाइ-प्रोफाइल’ डा. देउमान सम्वाहाम्फे छन्। उनले ‘विद्यावारिधि’ (पीएचडी) गरेका छन्। ५८ वर्षका सम्वाहाम्फे नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हुन्।
उनीसँगै प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार ४८ वर्षीय सुनिलकुमार शर्माले ‘ब्याचलर अफ मेडिसिन’ (एमबीबीएस) गरेका छन्। उनी नोबेल मेडिकल कलेजका सञ्चालक पनि हुन्।
‘मास्टर्स’ डिग्री होल्डरहरूको त यहाँ लर्को नै छ। जसमा नेकपा एमालेका उम्मेदवार ५५ वर्षीय इरनकुमार राई (एमए/बीएड), राष्ट्रिय उर्जाशील पार्टीका ४६ वर्षीय भुवनकुमार वाग्ले (स्नातकोत्तर), राष्ट्रिय स्वतन्त्र पार्टीका ४० वर्षीय गणेश कार्की (स्नातकोत्तर) र संयुक्त नागरिक पार्टीका ४६ वर्षीय विदुर अधिकारी (एमए) छन्।
भुवनकुमार वाग्ले आबद्ध राष्ट्रिय उर्जाशील पार्टी मोरङ-५ बाट यसअघि स्वतन्त्र उम्मेदवार भएर जितेका योगेन्द्र मण्डलको पार्टी हो, जसले यसपटक मोरङका तीन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ। अध्यक्ष मण्डलले मोरङ ५ मा र मनोज राजवंशीले २ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।
बौद्धिक प्रतिस्पर्धामा ५७ वर्षीय नवराज मास्के र ३६ वर्षीय अमिर मगरले पनि स्नातक (ब्याचलर) उत्तीर्ण गरेर आफूलाई अब्बल सावित गरेका छन्। नवराज जय मातृभूमि पार्टीका हुन् भने मगर धरानका निवर्तमान मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीका हुन्।
३६ वर्षीय अमिर मगर यो क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन्। अनुभव र सामान्य साक्षरताको प्रतिनिधित्व गर्नेहरू पनि यहाँ उत्तिकै बलिया छन्। नेपाल मजदुर किसान पार्टीका ५८ वर्षीय परशुराम विश्वास थारू साधारण साक्षर छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५७ वर्षीय प्रेमप्रसाद सुवेदीले आईएसम्मको अध्ययन गरेका छन्।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५५ वर्षीय डिल्लीबहादुर जवेगु र नेकपा माओवादी केन्द्रका ४५ वर्षीय खड्गबहादुर कार्कीले एसएलसीसम्मको अध्ययन गरेका छन्।
जनता समाजवादी पार्टी, नेपालका मजेबुल रहमान र आम जनता पार्टीका कमलकुमार राई पनि यो क्षेत्रका उम्मेदवार हुन्। स्वतन्त्र उम्मेदवारी दिएका ५३ वर्षीय गणेश मिश्रले एसएलसी सम्मको अध्ययन गरेका छन् भने उज्यालो नेपाल पार्टीका ५२ वर्षीय मित्रसेन योञ्जनले आईकमसम्म पढेका छन्।
यस्तै, ४४ वर्षीय मंगोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राईले १२ कक्षा र ४३ वर्षीय स्वतन्त्र उम्मेदवार तेजप्रसाद भण्डारीले एसएलसी सम्मको अध्ययन पूरा गरेका छन्।
डाक्टर, पीएचडी र मास्टर डिग्री भएका विद्वानहरूदेखि सामान्य साक्षरसम्म एउटै मैदानमा भिडिरहेको यो दृश्य मोरङ ३ का लागि ऐतिहासिक छ। अब ८० हजारभन्दा बढी निर्णायक महिला मतदाताले कसको डिग्री र कसको अनुभवलाई पत्याएर सिंहदरबार पठाउने हुन्, त्यो भने हेर्न बाँकी छ।
कुल १ लाख ५८ हजार ५७ जना मतदाता रहेको क्षेत्रमा ७७ हजार १ सय ७० पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८० हजार ८ सय ८३ रहेको छ। पुरुषभन्दा करिब ३ हजार ७ सय बढी संख्यामा रहेका महिलाहरू नै निर्णायक हुने अनुमान गरिएको छ। ५५ वटा मतदान स्थल र १७९ वटा मतदान केन्द्रमा हुने यो चुनावी प्रतिस्पर्धामा कानेपोखरीका ४, पथरी शनिश्चरेका ८, बेलवारीका ८ र सुन्दरहरैँचाका ६ वटा वडाका बासिन्दाहरूले आफ्नो भविष्यको नेता चुन्दैछन्।