
काठमाडौं, १३ पुस– प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन सरकारलाई आग्रह गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार दिउँसो ओली निवास बालकोटमा भएको भेटमा दुबै नेता प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिँदै नयाँ सरकार गठनमा सहयोग गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।
निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा सहज वातावरण बनाउनुपर्नेमा उनीहरुको साझा धारणा छ । राष्ट्रियसभा गठन नभई संघीय संसद् पूर्ण नहुने र संसद् पूर्ण नभई समानुपातिकतर्फ सांसद तोक्न नमिल्ने भनी आयोगले गरेको तर्कको आलोचना गर्दै सिट निर्धारण तत्काल गरिदिन ओली र प्रचण्डको माग छ । ओली र प्रचण्डबीच पार्टी एकताका बारेमा पनि गम्भीर छलफल भएको छ ।
एक हुँदै फोरम र राजपा– राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठकमा गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे समीक्षा गरिएको छ । पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाउने सम्बन्धमा समेत छलफल भएको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच तत्काल पार्टी एकता हुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने बताएका हुन् । ६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै उनले अब फोरमसँग पनि एकता हुनेमा शंका नगर्न आग्रह गरे ।
भूकम्पछिको पुनःनिर्माण– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले भत्केका घर पुनःनिर्माणमा ४६ प्रतिशत प्रगति भएको तथ्याङ्क सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम गरी प्रगति प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा ४६ प्रतिशत घर पुनर्निर्माण भैरहेको दाबी गरेको हो ।
प्राधिकरणले भूकम्पले भत्काएका सबै घरको नभई पहिलो किस्ता लिएकाहरुमध्येबाट ४६ प्रतिशत प्रगति भएको दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आउने असारभित्रै ६० प्रतिशत भूकम्प प्रभावितलाई स्थायी घरमा सार्ने गरी काम भैरहेको बताए ।
तथ्याङ्कमा अनुदान योग्य लाभग्राहीको सूचिमा परेका ७ लाख ६७ हजार मध्ये ६ लाख ६४ हजारले अनुदानको पहिलो किस्ता बुझेका छन् । ७९ हजार ५ सय १४ घर बनिसकेका छन् भने १ लाख ९४ हजार १ सय ९६ घर बन्दैछन् ।
राष्ट्रपतिसँग आग्रह– वाम गठबन्धनका युवा नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् । युवा नेताले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटगरी राष्ट्रियसभा अध्यादेशमा दलबीचको मतान्तरलाई आपसी संवादबाट जतिसक्दो चाँडो समाधान गरी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गराउन आग्रह गरेका हुन् ।
नेकपा एमालेका युवा नेता योगेश भट्टराई र ठाकुर गैरे, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतलगायतका युवा नेताले समसामयिक विषयमा समेत राष्ट्रपतिसँग छलफल गरेका थिए ।
विद्युत् खरिद सम्झौता– नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच बुधबार भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदैछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी– राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको बैठक पुसको तेस्रो साता बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षमा बसेको पदाधिकारी बैठकले ३ दिने कार्यसमिति बैठक पुस १९ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकमा चुनावी समीक्षाका साथै पार्टीको भावी रणनीति तय गरिने प्रवक्ता भुवन पाठकले बताए । पदाधिकारी बैठकले केन्द्रीय परिषदको बैठक फागुनको दोस्रो साता वीरगन्जमा गर्ने निर्णय गरेको छ।
उद्योगको कमजोरीकै कारण आगलागी– वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा व्यवस्थापकीय कमजोरीका कारण आगलागी भएको छानविन समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कुमारप्रसाद दाहाल नेतृत्वको ६ सदस्यीय छानबिन टोलीले उद्योगकै कमजोरीका कारण आगलागी भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । टोलीले गत आइतबारदेखि मंगलबारसम्म ३ दिन छानबिन गरेको थियो ।
गाडी बन्द हुने– नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । राती १० देखि बिहान ४ बजेसम्म सवारी आवागमनलाई बन्द गरेर रातभर पहाडको भित्ता काट्ने काम गर्ने नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिए । भरतपुरमा बसेको प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, ट्राफिक प्रहरी सहितको बैठकले १५ दिन रातभर काम गरेर परिक्षण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।
काउन्सिलसँग समन्वय गर्न आग्रह– प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले बुधबार विज्ञप्ति जारी गर्दै कुनै आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सिलमा खण्डन पठाउन सकिने बताए । महानगरीय प्रहरी परिसर काठमाडौँले केही अनलाइन सञ्चारमाध्यमलाई ‘कागजात उपलब्ध गराइदिनू’ भनी पत्र काटेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचारसँग सम्बन्धित कुनै विषयको जानकारी भए काउन्सिलसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।
विवादपछि रानीपोखरी पुनःनिर्माण– आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन । विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराए । गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माण कार्य कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि काम अघि बढ्न नसकेको हो ।
विदेशका खबर– अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रममा सहयोग गरेको आरोपमा दुई जना उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रममा सघाउने किम जोग सिक र रि प्योंग चोललाई अमेरिकाले प्रतिबन्ध लगाएको हो । परमाणु कार्यक्रमका लागि ठोस इन्धनबाट सञ्चालन हुने मिसाइल विकास गर्न यी दुई अधिकारीको हात रहेको ठहर अमेरिकाले गरेको छ ।
खेल खबर– विराटनगर वारियर्स राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा भएको पहिलो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा पुगेको हो । भैरहवाले दिएको १२८ रनको चुनौती विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
बुधबार नै भएको इलिमिनेटर खेलमा ललितपुरले पोखरा राइनोजमाथि २७ रनको सहज जित हासिल गर्यो । पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेटको क्षतिमा १३८ रन बनाएको थियो । जवाफमा कमजोर प्रदर्शन गरेको पोखराले १९ ओभर १ बलमा १११ रनमात्र बनाउन सक्यो । यो हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल खेल आगामी शनिबार हुनेछ ।