
रोहितकुमार पौडेल नेपाली टोलीका कप्तान हुन् । रोहितले दोस्रोपटक आईसीसी टी–२० विश्वकप खेल्न लागेका हुन् । यसअघि सन् २०२४ को विश्वकपमा पनि उनी टोलीका कप्तान थिए ।
रोहित टोलीका अनुभवी खेलाडी हुन् । उनी अलराउन्डर समेत हुन् । रोहितले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाका प्रतियोगिता खेलिसकेका छन् ।
२३ वर्षीय रोहितले हालसम्म राष्ट्रिय टोलीबाट ७६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ७६ वटा नै टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यो रमाइलो संयोग पनि हो ।
एकदिवसीय अन्तर्राष्ट्रियको ७२ पालीमा रोहितले २९.८५ को औसतमा कुल दुई हजार रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ७४.९९ रहेको छ ।
एकदिवसीयमा उनको उच्च स्कोर एक सय २६ रन हो । उनले दुई शतक र ११ अर्धशतक बनाएका छन् । उनले एक सय ४९ चौका र ३९ छक्का हिर्काएका छन् । उनले २५ क्याच पनि लिएका छन् ।
यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रियको ७२ पालीमा २७.७४ को औसतले कूल एक हजार ६ सय ३७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ११९.३१ रहेको छ ।
टी–२० अन्तर्राष्ट्रियमा रोहितको उच्च स्कोर ६१ रन हो । यस क्रममा रोहितले आठवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनले एक सय ३० चौका र ४८ वटा छक्का पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमै उनले ४१ वटा क्याच पनि लिएका छन् ।
रोहितले एकदिवसीयमा १० र टी–२० अन्तर्राष्ट्रियमा १३ विकेट पनि लिएका छन् ।
एकदिवसीयमा उनको उत्कृष्ट बलिङ २२ रन खर्चिएर चार विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा भने उनको उत्कृष्ट बलिङ केवल सात रन खर्चिएर दुई विकेट हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू : रोहितले सन् २०१८ को अगस्त ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
रोहितले अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय भने सन् २०२५ को नोभेम्बर ५ तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेलेका थिए ।
टी–२० अन्तर्राष्ट्रियमा डेब्यू : रोहितले सन् २०१९ को जनवरी ३१ तारिखमा दुबईमा खेलिएको संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । त्यो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।
यसैगरी, उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०२५ को अक्टोबर १७ तारिखमा ओमानमा सामोआविरुद्ध खेलेका थिए । टी–२० विश्वकपको एसियाली छनोटअन्तर्गत खेलिएको उक्त खेलमा नेपाल एक सय २४ रनले विजयी भएको थियो ।
लिस्ट ‘ए’ र टी–२० : रोहितले ९४ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेल्दै कूल दुई हजार तीन सय १८ रन बनाएका छन् । उनको उच्च स्कोर एक सय २६ रन हो । उनले यो प्रतियोगितामा दुई शतक र १२ अर्धशतक प्रहार गरेका छन् । उनले ११ विकेट पनि लिएका छन् ।
यसैगरी, उनले ८६ वटा टी–२० प्रतियोगिता खेल्दै कुल एक हजार नौ सय ७१ रन बनाएका छन् । यो प्रतियोगितामा उनको उच्च स्कोर एक सय १२ रन हो । उनले एक शतक र १० अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० मा उनले १४ विकेट पनि लिएका छन् ।

अघिल्लो विश्वकपमा प्रदर्शन : सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजित विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध रोहितले ३५ रन बनाएका थिए । खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
सोही विश्वकपको श्रीलंकाविरुद्धको खेल रद्द भएको थियो भने दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उक्त खेलमा नेपाली टोली केवल एक रनले पराजित भएको थियो ।
सोही विश्वकपको बंगलादेशविरुद्धको खेलमा रोहित एक रनमै आउट भएका थिए । तर, त्यो खेलमा उनले दुई विकेट भने लिएका थिए । उक्त खेलमा नेपाली टोली २१ रनले पराजित भएको थियो ।
कीर्तिमान : रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने विश्वकै छैटौँ सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् २०१८ को अगस्त ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यू’ गर्दा उनको उमेर केवल १५ वर्ष तीन सय ३५ दिन थियो ।
यसैगरी, एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाउने उनी विश्वकै दोस्रो सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
सन् २०२२ को नोभेम्बर १४ मा कप्तानको रूपमा पहिलोपटक यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा उनको उमेर २० वर्ष ७३ दिन थियो ।
सबैभन्दा कम उमेरमा कप्तान बन्ने खेलाडी भने अफगानिस्तानका रासिद खान हुन् । कप्तानको रुपमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनको उमेर केवल १९ वर्ष १६५ दिन थियो ।
उनै रोहितको नेतृत्वमा नेपाली टीमले तेस्रोपटक टी-ट्वान्टी विश्वकप खेल्दैछ । भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्वकपका लागि नेपाली टीम भारत पुगिसकेको छ ।