
काठमाडौँ, १४ पुस- चौतर्फी विरोधपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण स्थगन गरेको छ । पुरातात्त्विक मापदण्डविपरीत पुनर्निर्माण थालेपछि स्थानीयवासी, सम्पदाकर्मी, पुरातत्त्व विज्ञलगायतले विरोध गरेका थिए ।
महानगरका मेयर, पुरातत्त्व विभागका महानिर्देशक, पुनर्निर्माण प्राधिकरणका सचिव, सम्पदा विज्ञलगायतको बिहीबारको बैठकले ‘अर्काे निर्णय नभएसम्मका लागि पुनर्निर्माण रोक्ने’ निर्णय गरेको हो ।
रानीपोखरीलाई प्रताप मल्लले बनाएकै शैली, स्वरूप र सामग्री प्रयोग गरेर पुनर्निर्माण गरिने बैठकको निर्णय छ । त्यसका लागि अध्ययन गर्न पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुबहादुर कार्कीको संयोजकत्वमा ११ सदस्यीय विशेषज्ञ समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र सुझाव दिनेछ ।
मेयर विद्यासुन्दर शाक्यले समितिको सुझावका आधारमा ‘काम अघि बढाउने’ बताए, कान्तिपुरमा खबर छ ।