
काठमाडौँ, १४ पुस -नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ । एकता प्रक्रिया वर्तमान समयको विशिष्ट कार्यभार रहेको निष्कर्षसहित दुवै पार्टीका नेताबाट कुनै शर्तभन्दा पनि सम्मानजनक र भावनात्मक पक्षलाई आत्मसात् गर्न जोड दिइएको खबर गोरखापत्रमा खबर छ ।
मूल राजनीतिक तथा सैद्धान्तिक विषयमा दुई वाम पार्टीबीच कुनै द्विविधा र आशङ्का नभएको तर साङ्गठनिक तथा नेतृत्वको कार्यविभाजनका विषय सहमतिमा हल गरेर जान एकता प्रक्रियामा सहभागी नेता सक्रिय छन् ।
एमालेले अँगाल्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले आत्मसात् गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’को सैद्धान्तिक विचारको विषयमा समेत मतान्तर नभएको नेताहरूको टिप्पणी छ ।
राजनीतिक, साङ्गठनिक तथा तत्कालीन कार्ययोजना बनाएर एकता महाधिवेशनमार्फत हाल बाँकी रहेका विषय हल गर्ने तयारी दुवै पार्टीले गरेका छन् । निर्वाचनपूर्व गत असोज १७ मा दुई पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको घोषणादेखि नै एकता प्रक्रिया सुरु भएको नेताहरूको भनाइ छ । दुवै पार्टीले शीर्ष नेतासहित एकता संयोजन समिति गठन गरी आन्तरिक र आपसी छलफल गर्दै आएका छन् ।
तत्कालका लागि एकता प्रक्रियाको समयबद्ध कार्ययोजनाका खाका तयार पार्ने, एकता महाधिवेशनबाट प्रक्रियालाई मूर्तरूप दिने र सरकार गठन गर्ने तयारी भइरहेको छ ।
मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नका लागि एउटै कम्युनिस्ट पार्टी बनाउने भन्ने विषयले दुवै पार्टीको नेता र कार्यकर्तामा मात्र होइन, जनस्तरमा समेत यसलाई चासोका साथ हेरिएको छ ।
एकता प्रक्रिया, सरकार गठन, नेताको कार्य विभाजनलगायत विषयमा दुवै पार्टीले आफ्ना अध्यक्षलाई जिम्मा दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सहमतिका साथ ल्याउने एकताको खाकालाई स्वीकार्ने नेताहरूको भनाइ छ ।