
दाङ, १४ पुस – पश्चिम दाङमा पत्नीले पतिको औंला काटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका–१ छोटेका ६४ वषीया रिसमी महतराले ६४ वर्षीय पति चन्द्रबहादुर महताराको दाहिने हातका चार औंला काटी पोलेर खाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आजको राजधानी दैनिक लेख्छ- पतिले जाँडरक्सी खाएर सधैं कुटपिट गर्ने गरेका कारण औंला पोलेर खाएको रिसमीले बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
‘जाँडरक्सी खाएर बुढाले गएराति पनि बुढीलाई कुटपिट गरेछन्,’ प्रनाउ सापकोटाले भने, ‘सुतेको मौका छोपी चारवटै औंला काटेर खाएको भनी हामीलाई बयान दिएकी छन् ।’
आरोपितले दिएको बयानमा विश्वस्त हुन नसकेर घरमा औंला खोज्न गए पनि नभेटिएपछि पोलेरै खाएको निष्कर्षमा पुगेको बताइएको छ । यसैबीच, औंला खाने आरोपित रिसमीलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको छ ।
औंला काटिएपछि गम्भीर घाइते भएका पतिलाई राप्ती अञ्चल अस्पतलामा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । रगत धेरै बगेका कारण अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।