०६ असार २०८३, शनिबार

मन्त्रिपरिषदमा राप्रपाका दुई मन्त्रीको बाझाबाझ, कमल थापाले दिलनाथको राजीनामा माग्दा यस्तो जवाफ

पुस १४, २०७४
मन्त्रिपरिषदमा राप्रपाका दुई मन्त्रीको बाझाबाझ, कमल थापाले  दिलनाथको राजीनामा माग्दा यस्तो जवाफ

काठमाडौँ, १४ पुस- बिहीबारको मन्त्रिपरिषद् बैठकमा सहरी विकासमन्त्री दिलनाथ गिरीले सचिव हटाउने प्रस्ताव गरे, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले प्रतिवाद गरेपछि दुवैले एक–अर्काको राजीनामा मागे । राप्रपाका दुई मन्त्रीको बाझाबाझ भएको तथा सचिवहरूले मन्त्रीलाई नटेरेको आरोपपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्थिति सम्हालेका थिए, आजको नयाँ पत्रिकाले खबर छापेको छ  ।
मन्त्रिपरिषद् बैठकमा सहरी विकासमन्त्री गिरीले सचिव दीपेन्द्रनाथ शर्माले असहयोग गरेको आरोप लगाउँदै उनलाई हटाएर हालै बढुवा भएका प्राविधिक सचिव डा.रमेशप्रसाद सिंहलाई पदस्थापन गर्नुपर्ने प्रस्ताब गरे । सिंहले सहरी विकासकै विषयमा विद्यावारिधि गरेको र उनी मन्त्रालयका लागि उपयुक्त हुने गिरीको दलील थियो । तर, उनले प्रस्ताब गरेलगत्तै उपप्रधानमन्त्री कमल थापाले विरोध गरे । उनले गिरीलाई हप्काउँदै सोधे, ‘मसँग सल्लाह नगरी के आधारमा तपाईँले प्रस्ताब गर्नुभयो ?’ गिरीले जवाफ दिए, ‘यसबारेमा तपाईसँग किन सल्लाह गर्ने ?’ थापाले यो प्रस्ताव कार्यान्वयन नगर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि गिरीले भने, ‘यस्तो हुन्छ भने म एक मिनेट पनि पदमा बस्न सक्दिनँ । म सचिवको आदेश मानेर मन्त्रालयमा बस्न सक्दिनँ ।’

स्रोतका अनुसार राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाले गिरीलाई तुरुन्तै राजीनामा गर्न दबाब दिए । ‘तपाईँ तुरुन्तै राजीनामा लेखेर दिनुस्, म प्रधानमन्त्रीलाई स्वीकृत गराउँछु,’ थापाले भनेलगत्तै गिरीले सोधे, ‘निर्वाचन सकिइसकेपछि राजीनामा मैले मात्रै दिने कि जनादेशका आधारमा तपाईँले पनि दिनुपर्ने ? कि तपाईँलाई पदमै बस्ने गरी जनादेश आएको छ ?’ दुवैजनालाई हस्तक्षेप गर्दै प्रधानमन्त्री देउवाले भने, ‘कसैले राजीनामा दिनु पनि पर्दैन, म कसैको राजीनामा स्वीकृत गर्नेवाला पनि छैन । अहिले विवाद नगरौँ, अर्को बैठकमा म मिलाउँछु ।’ त्यसबेला बैठकमा मुख्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव पनि थिए । 

स्रोतका अनुसार सहरी विकास सचिव शर्माले राज्यमन्त्री कुन्ति शाहीलाई साथमा लिएर मन्त्री गिरीलाई असहयोग गरेको सूचना प्रधानमन्त्रीसमक्ष पुगेको छ । मन्त्री गिरीसँग कामकाजी विषयमै विदेशी कूटनीतिक नियोगका प्रमुखले भेटवार्ता गरेको विषयमा पनि थापाले विभिन्न नेतामार्फत असन्तुष्टि जनाउने गरेका थिए । 
मन्त्रिपरिषद् बैठकमा भएको विषयमा जानकारी दिन खोज्दा गिरीले बोल्न मानेनन् ।
 

कमेन्ट गर्नुहोस्