काठमाडौं, १८ पुस — अंग्रेजी नयाँ वर्षको रमाइलो मनाउन संसारभरि मानिसले जमेर रक्सी पिए । रक्सीसेवनमा अवरोध आएपछि न्युजील्यान्डमा केही जँड्याहाहरूले बेग्लै टापु नै बनाएका छन् । अचम्मको कुरा त स्थानीय प्रहरीले पनि टापु बनाउने आइडियाको प्रशंसा गरेका छन् ।
खासमा कोरमंडल प्रायद्वीपमा नयाँ वर्षको उपलक्ष्यमा सार्वजनिक स्थानहरूमा रक्सी पिउन रोक लगाइएको थियो । स्टफ डट् को डट् एनजेडका अनुसार, आइतवार ताइरुआ नदीको मुहानमा पानीको बहाव कम भएको अवसर पारेर
केही जँड्याहाहरूले बालुवाको मद्दतमा एक टापु बनाए ।
टापुमा जम्मा एउटा टेबल अटाउँथ्यो । त्यसपछि सबै जँड्याहाले त्यही टेबुलमा बसेर रातभरि रक्सी पिए ।
उनीहरू अन्तर्राष्ट्रिय जलक्षेत्रमा पुगेकाले प्राविधिक रूपमा कोरमंडलको रक्सी प्रतिबन्ध त्यहाँ लागू हुन पाउँदैनथियो । प्रतिबन्ध उल्लंघन गर्नेहरूमाथि २४ हजार रुपैयाँको जरिवानाको व्यवस्था गरिएको थियो ।
स्थानीय प्रहरी कमान्डर जोन केलीले टापु बनाउने आइडियाको प्रशंसा गरे अनि कोरमंडलका मेयर स्यान्ड्रा गूडीले पनि यसलाई सिर्जनात्मक बताइन् ।
एजेन्सी