१४ असार २०८३, आइतबार

मंगलबार दिनभरः नवराज सिलवालविरुद्ध वारेन्ट जारी, प्रदेश राजधानी तोक्न नपाउँदै लफडा

मंगलबार दिनभरः नवराज सिलवालविरुद्ध वारेन्ट जारी, प्रदेश राजधानी तोक्न नपाउँदै लफडा

काठमाडौं, १९ पुस– विवादास्पद सांसद नवराज सिलवाललाई पक्राउ गर्न वारेन्ट जारी भएको खबरले मंगलबार सनसनी मच्चियो । 
महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको पूर्व नायव महानिरीक्षक (डिआइजी) समेत रहेका एमाले सांसद सिलवालाई पक्राउ गर्न वारेन्ट जारी गरेको हो । 
ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिलवालविरुद्ध नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्याङ्कन (कासमू) किर्ते गरेको अभियोग छ र सो अभियोगमा उनीविरुद्ध महानगरीय प्रहरी परिसरले जाहेरी दर्ता गरेको थियो । 
आईजीपी बढुवासम्बन्धी मुद्दामा कासमू किर्ते गरिएको भन्दै सर्वोच्च अदालतले उक्त कार्यमा संलग्नलाई कारबाही गर्न आदेश जारी गरेको थियो । सार्वोच्चको आदेश बमोजिम महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध पुस ५ गते जाहेरी दर्ता गरेको थियो । सिलवाल अहिले मलेसियामा रहेको खुलेको छ ।

माघ २५ लाई राष्ट्रियसभा निर्वाचन प्रस्ताव
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन माघ २५ गतेका लागि तोक्न सरकारलाई प्रस्ताव गरेको छ । 

राष्ट्रियसभा निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीले मागेको रायमा आयोगले माघ २५ गते उपयुक्त हुने सुझाव दिएको हो । 

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवासँगले परामर्श माग्दा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माघ २५ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका हुन् । 

प्रदेश राजधानी नतोक्दै विरोध
सरकारले ७ वटै प्रदेशका राजधानी तोक्ने गरी मुकामहरुको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले ७ वटै प्रदेशका राजधानीको खाका तयार पारेको हो । 

मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताएका छन् । 

सरकारले प्रदेश नंं १ को राजधानी विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढीलाई अस्थायी रुपमा राजधानी तोक्ने तयारी गरेको छ । 

तर सरकारले प्रदेशका अस्थायी राजधानी तोक्ने तयारी गरिरहेका बेला केही ठाउँमा भने विरोध शुरु भएको छ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ तोकिएको भन्दै बुटवलमा बिरोध भएको छ । प्रदेश ५ को राजधानी बुटवलमै हुनुपर्ने भन्दै विगतदेखि नै आन्दोलन लगायतका कार्यक्रम हुँदै आएका थिए । 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश ७ नम्बर प्रदेशमा पनि बिरोध शुरु भएको छ । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैलालीको धनगढी तोकेको छ । 
७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमा हुनुपर्ने भन्दै विगतदेखि नै देउवाको गृहजिल्ला डडेल्धुरा र सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा बिरोध प्रदर्शन शुरु हुँदै आएको थियो । 
दीपायल राजधानी हुनुपर्ने भन्दै स्थानीय व्यवसायी र राजनीतिकर्मीहरुले मंगलवारदेखि आन्दोलन नै शुरु गरेका छन् । 

यस्तै प्रदेश १ को राजधानी मोरङको बिराटनगर तोकिएकोमा पनि बिरोध शुरु भएको छ । 

ओली बिरामी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराममा बस्ने भएका छन् ।  

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई भक्तपुर बालकोटस्थित आफ्नै निवासमा आराममा बसेका हुन् । उनलाई पखालाको समस्या समेत देखिएको बताइएको  छ । 
प्रधानमन्त्री र प्रचण्डबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार  भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

माओवादी बैठक 
नेकपा (माओवादी केन्द्र) ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई दु्रतगतिमा अगाडि बढाउने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन प्रभावकारी पहल गर्ने निर्णय गरेको हो । 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठनलगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । 

बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई दु्रतगतिमा अगाडि बढाउने निर्णय भएको उनले  जानकारी दिइन् । 

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदलसमेत गठन गरेको छ । 
वाइसियलका कुरा 
नेकपा (माओवादी केन्द्र) को सहयाक संगठन वाइसिएल नेपालले एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पुनः नदोहो¥याउन आग्रह गरेको छ । 

वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटकपटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको छ । 

बैठकले निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका खेल्ने सबै तहका नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । 

प्रहरी र विद्यार्थी झडप 

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । 

अनेरास्ववियुले मंगबलार दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो । 

त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले जानकारी दिए । 
पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । पछि विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए । 

लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महर घाइते भएका छन् । 

रातमा नारायणगढ–मुग्लिन सडक  बन्द
नारायणगढ–मुग्लिन सडकखण्डमा गए रातिदेखि यातायात बन्द गरेर काम थालिएको छ ।  

सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको बताइएको छ । 

नारायणढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीलाई दासढुंगाको मानवबस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिने छ । यसैगरी 

लयमा फर्कदै पूँजी बजार
लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । 

विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार मंगलबार अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ । 

कारोबार रकममा पनि केही वृद्धि भएको छ । सोमबार कूल १६३ कम्पनीको ११ लाख ४१ हजार ४६३ कित्ता शेयर रु ४९ करोड ८४ लाख ७२ हजार ३९८ मूल्यमा कारोबार भएको थियो । 

मंगलबार भने कूल १६६ कम्पनीको १२ लाख ६२ हजार ४१७ कित्ता शेयर रु ६३ करोड ३२ लाख २२ हजार ४१२ मूल्यमा कारोबार भएको छ । शेयर बजारको विश्लेषण गर्दै आएका  जानकार नीरव पुडासैनीका अनुसार दुई निको कारोबारको अवस्थालाई मात्रै हेरेर बजार सकारात्मक दिशामा अगाडि बढ्यो भन्ने विश्लेषण गर्नु हतार हुने टिप्पणी गरे । 
खेल खबर

नेपाल प्रहरी र मध्यमाञ्चलले १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत मंगलबार भएका खेलमा जित हात पारेको छ । 

नेपाल प्रहरीले समूह ‘ए’ मा सुदूरपश्चिमलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै जित हासिल गरेको हो । शुरुमा एक गोलले पछि परेका नेपाल प्रहरीले खेलको दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित हासिल गरेको हो । 

विदेशका खबर
दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ । 

उत्तर कोरियाका नेता किम जङ–अनले एउटा टोली हिउँदे ओलिम्पिकमा सहभागी हुन फेब्रवरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो । 

किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने बताएका छन् ।  

केही अगाडि दक्षिण कोरियाका राष्ट्रपतिले दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधार गर्न यो अवसर हुनसक्ने आफूलाई लागेको बताएका थिए । 

दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री जो म्युङ्–ग्युनले मङ्गलवार दुई देशका प्रतिनिधिहरूले ‘युद्धविराम गाउँ’ भनिएको पाम्मुन्जुममा भेट गर्न सक्ने प्रस्ताव अगाडि गरेका हुन् । 

उच्च सुरक्षा दिइएको तर असैनिक क्षेत्र (डीएम्जेड्) मा पर्ने उक्त सीमावर्ती गाउँमा दुवै देशले ऐतिहासिक रूपमै वार्ताहरू गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्