
काठमाडौं, १९ पुस– विवादास्पद सांसद नवराज सिलवाललाई पक्राउ गर्न वारेन्ट जारी भएको खबरले मंगलबार सनसनी मच्चियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको पूर्व नायव महानिरीक्षक (डिआइजी) समेत रहेका एमाले सांसद सिलवालाई पक्राउ गर्न वारेन्ट जारी गरेको हो ।
ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिलवालविरुद्ध नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्याङ्कन (कासमू) किर्ते गरेको अभियोग छ र सो अभियोगमा उनीविरुद्ध महानगरीय प्रहरी परिसरले जाहेरी दर्ता गरेको थियो ।
आईजीपी बढुवासम्बन्धी मुद्दामा कासमू किर्ते गरिएको भन्दै सर्वोच्च अदालतले उक्त कार्यमा संलग्नलाई कारबाही गर्न आदेश जारी गरेको थियो । सार्वोच्चको आदेश बमोजिम महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध पुस ५ गते जाहेरी दर्ता गरेको थियो । सिलवाल अहिले मलेसियामा रहेको खुलेको छ ।
माघ २५ लाई राष्ट्रियसभा निर्वाचन प्रस्ताव
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन माघ २५ गतेका लागि तोक्न सरकारलाई प्रस्ताव गरेको छ ।
राष्ट्रियसभा निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीले मागेको रायमा आयोगले माघ २५ गते उपयुक्त हुने सुझाव दिएको हो ।
मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवासँगले परामर्श माग्दा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माघ २५ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका हुन् ।
प्रदेश राजधानी नतोक्दै विरोध
सरकारले ७ वटै प्रदेशका राजधानी तोक्ने गरी मुकामहरुको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले ७ वटै प्रदेशका राजधानीको खाका तयार पारेको हो ।
मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताएका छन् ।
सरकारले प्रदेश नंं १ को राजधानी विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढीलाई अस्थायी रुपमा राजधानी तोक्ने तयारी गरेको छ ।
तर सरकारले प्रदेशका अस्थायी राजधानी तोक्ने तयारी गरिरहेका बेला केही ठाउँमा भने विरोध शुरु भएको छ । प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ तोकिएको भन्दै बुटवलमा बिरोध भएको छ । प्रदेश ५ को राजधानी बुटवलमै हुनुपर्ने भन्दै विगतदेखि नै आन्दोलन लगायतका कार्यक्रम हुँदै आएका थिए ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश ७ नम्बर प्रदेशमा पनि बिरोध शुरु भएको छ । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैलालीको धनगढी तोकेको छ ।
७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमा हुनुपर्ने भन्दै विगतदेखि नै देउवाको गृहजिल्ला डडेल्धुरा र सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा बिरोध प्रदर्शन शुरु हुँदै आएको थियो ।
दीपायल राजधानी हुनुपर्ने भन्दै स्थानीय व्यवसायी र राजनीतिकर्मीहरुले मंगलवारदेखि आन्दोलन नै शुरु गरेका छन् ।
यस्तै प्रदेश १ को राजधानी मोरङको बिराटनगर तोकिएकोमा पनि बिरोध शुरु भएको छ ।
ओली बिरामी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराममा बस्ने भएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई भक्तपुर बालकोटस्थित आफ्नै निवासमा आराममा बसेका हुन् । उनलाई पखालाको समस्या समेत देखिएको बताइएको छ ।
प्रधानमन्त्री र प्रचण्डबीच भेट
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
माओवादी बैठक
नेकपा (माओवादी केन्द्र) ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई दु्रतगतिमा अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन प्रभावकारी पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठनलगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई दु्रतगतिमा अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिइन् ।
बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदलसमेत गठन गरेको छ ।
वाइसियलका कुरा
नेकपा (माओवादी केन्द्र) को सहयाक संगठन वाइसिएल नेपालले एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पुनः नदोहो¥याउन आग्रह गरेको छ ।
वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटकपटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको छ ।
बैठकले निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका खेल्ने सबै तहका नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
प्रहरी र विद्यार्थी झडप
प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
अनेरास्ववियुले मंगबलार दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।
त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले जानकारी दिए ।
पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । पछि विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए ।
लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महर घाइते भएका छन् ।
रातमा नारायणगढ–मुग्लिन सडक बन्द
नारायणगढ–मुग्लिन सडकखण्डमा गए रातिदेखि यातायात बन्द गरेर काम थालिएको छ ।
सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको बताइएको छ ।
नारायणढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीलाई दासढुंगाको मानवबस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिने छ । यसैगरी
लयमा फर्कदै पूँजी बजार
लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ ।
विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार मंगलबार अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ ।
कारोबार रकममा पनि केही वृद्धि भएको छ । सोमबार कूल १६३ कम्पनीको ११ लाख ४१ हजार ४६३ कित्ता शेयर रु ४९ करोड ८४ लाख ७२ हजार ३९८ मूल्यमा कारोबार भएको थियो ।
मंगलबार भने कूल १६६ कम्पनीको १२ लाख ६२ हजार ४१७ कित्ता शेयर रु ६३ करोड ३२ लाख २२ हजार ४१२ मूल्यमा कारोबार भएको छ । शेयर बजारको विश्लेषण गर्दै आएका जानकार नीरव पुडासैनीका अनुसार दुई निको कारोबारको अवस्थालाई मात्रै हेरेर बजार सकारात्मक दिशामा अगाडि बढ्यो भन्ने विश्लेषण गर्नु हतार हुने टिप्पणी गरे ।
खेल खबर
नेपाल प्रहरी र मध्यमाञ्चलले १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत मंगलबार भएका खेलमा जित हात पारेको छ ।
नेपाल प्रहरीले समूह ‘ए’ मा सुदूरपश्चिमलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै जित हासिल गरेको हो । शुरुमा एक गोलले पछि परेका नेपाल प्रहरीले खेलको दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित हासिल गरेको हो ।
विदेशका खबर
दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ ।
उत्तर कोरियाका नेता किम जङ–अनले एउटा टोली हिउँदे ओलिम्पिकमा सहभागी हुन फेब्रवरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो ।
किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने बताएका छन् ।
केही अगाडि दक्षिण कोरियाका राष्ट्रपतिले दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधार गर्न यो अवसर हुनसक्ने आफूलाई लागेको बताएका थिए ।
दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री जो म्युङ्–ग्युनले मङ्गलवार दुई देशका प्रतिनिधिहरूले ‘युद्धविराम गाउँ’ भनिएको पाम्मुन्जुममा भेट गर्न सक्ने प्रस्ताव अगाडि गरेका हुन् ।
उच्च सुरक्षा दिइएको तर असैनिक क्षेत्र (डीएम्जेड्) मा पर्ने उक्त सीमावर्ती गाउँमा दुवै देशले ऐतिहासिक रूपमै वार्ताहरू गर्दै आएका छन् ।