२१ असार २०८३, आइतबार
मदन भण्डारीको ७५औँ जन्मजयन्ती

वामपन्थी शक्तिबीचको एकता ढिलो हुँदा दुर्घटना छिटो हुन्छ : प्रचण्ड

असार १४, २०८३
काठमाडौं
वामपन्थी शक्तिबीचको एकता ढिलो हुँदा दुर्घटना छिटो हुन्छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान राजनीतिक परिस्थितिमा संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न ढिलाइ नगरी वामपन्थी शक्तिहरूबीच कार्यगत एकता गर्न आह्वान गरेका छन्।

मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले वर्तमान सरकारले संविधानका आधारभूत मान्यतामाथि प्रहार गरिरहेको आरोप लगाए । उनले नेपालमा कम्युनिस्ट आन्दोलन र यसको प्रभाव कमजोर पार्ने प्रयास भइरहेको दाबी पनि गरे।

'सरकार संविधानका आधारभूत मान्यतामा प्रहार गरिरहेको छ। कम्युनिष्ट आन्दोलनलाई कसरी सिध्याउने भन्ने प्रयास भइरहेको छ। नेपालमा कम्युनिष्ट प्रभावलाई कसरी समाप्त गर्न सकिन्छ भनेर देशभित्र र बाहिरका शक्तिहरू लागिरहेका छन्,' उनले भने।

दाहालले यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र निरंकुशताविरुद्ध सबै वामपन्थी शक्तिहरू तत्काल सहकार्यमा उभिनुपर्ने बताए।

'ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध र वैदेशिक दबाबका विरुद्ध वामपन्थीहरू एक हुनुपर्छ। कार्यगत एकता आजै गरौँ। सहकार्य जति ढिलो गर्‍यो, दुर्घटना त्यति नै छिटो हुनेवाला छ,' उनले भने।

उनले आफ्नो भनाइलाई तत्काल पार्टी एकताको प्रस्तावका रूपमा नबुझ्न आग्रह गर्दै विगतका अनुभवबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे।

'केही साथीहरूले फेरि पार्टी एकता गर्‍यो भनेर भन्नुहुन्छ। तर त्यो होइन। हामीले कार्यगत एकताको कुरा गरेका हौँ। विगतको समीक्षा नगरी हतारमा पार्टी एकता गरेर पछि पछुतो मान्ने अवस्था आउनु हुँदैन,' उनले भने।

दाहालले मदन भण्डारीप्रति सच्चा सम्मान व्यक्त गर्ने हो भने वर्तमान परिस्थितिमा वामपन्थी शक्तिहरूबीच सहकार्य सुरु गर्नुपर्ने बताए। उनले २०७४ सालमा आफूहरूबीच भएको वाम गठबन्धनलाई जनताले करिब दुई तिहाइ मत दिएर अनुमोदन गरेको स्मरण गराउँदै त्यसबाट पनि शिक्षा लिनुपर्ने उल्लेख गरे।

उनले २०४६ सालको जनआन्दोलनपछि पनि वामपन्थी एकताको जनचाहना रहेको र मदन भण्डारीसँग आफूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने विषयमा छलफल गरेको प्रसंग पनि स्मरण गरे।

'कमरेड मदन भण्डारी र म आफैं बसेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सकिन्छ भनेर कार्यक्रमसमेत तय गरेका थियौँ। तर दुर्भाग्य, त्यो दिन आउन पाएन। त्यो अधुरो सपना पूरा गर्ने जिम्मेवारी अहिले हामी सबैको काँधमा छ,' उनले भने।

दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा केवल वामपन्थीहरूको मात्रै दायित्व नभएको भन्दै लोकतान्त्रिक शक्तिहरूबीच पनि सहकार्य आवश्यक रहेको बताए। उनले यस अभियानमा नेपाली कांग्रेसलाई समेत कार्यगत सहकार्यमा सहभागी गराउनुपर्ने धारणा व्यक्त गरे।

'वामपन्थीले मात्रै सहकार्य गरेर पुग्छ भन्ने मेरो भनाइ होइन। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्छ,' उनले भने।

salt training

कमेन्ट गर्नुहोस्