२४ असार २०८३, बुधबार
मदन भण्डारीको ७५औँ जन्मजयन्ती

बलियो र सिद्धान्तनिष्ठ एकताविनाको एकीकरण टिक्दैन : माधव नेपाल

असार १४, २०८३
काठमाडौं
बलियो र सिद्धान्तनिष्ठ एकताविनाको एकीकरण टिक्दैन : माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा दिगो र सिद्धान्तनिष्ठ एकताको आवश्यकता औँल्याउँदै भावनात्मक र संगठनात्मक आधार बलियो बनाएर मात्र एकीकरण सफल हुने बताएका छन्।

मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले मिल्न सकिने विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

उनले कम्युनिस्ट एकता केवल घोषणा गरेर सम्भव नहुने, त्यसका लागि मन, भावना, सिद्धान्त र संगठनात्मक अनुशासनमा समानता आवश्यक पर्ने बताए।

'मिलेको विषयमा मिलेर अगाडि बढ्ने हो। मन मिल्दै गयो, भावना मिल्यो भने एकताबद्ध हुने हो। आज मिलेको छ, भोलि फुटेको छ भन्ने होइन। बलियो एकता हुनुपर्छ, सिद्धान्तनिष्ठ एकता हुनुपर्छ, विधि–पद्धतिमा दह्रो हुनुपर्छ,' नेपालले भने।

उनले संगठनभित्र नियम, कानुन र विधिको पालनालाई सबैले आफ्नो दायित्वका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै त्यसले मात्रै एकतालाई दिगो बनाउने बताए।

'संगठनको नियम–कानून कति पालना हुन्छ, यसलाई सबैले मेरो भन्ने भावना राख्नुपर्छ,' उनले भने।

नेपालले कम्युनिस्ट पार्टीहरू तत्कालै वा हतारमा एकीकृत हुने अपेक्षा गर्नु यथार्थपरक नहुने पनि बताए।

'कम्युनिस्ट पार्टी आजै मिले, हिजै मिले, बिहानै मिले भन्ने कुरा कसले देख्यो? मैले देखेको छैन। अगाडि बढेर इतिहास बनाउनुपर्छ,' उनले भने।

उनले वर्तमान युवा पुस्तालाई कम्युनिस्ट आन्दोलनको भविष्यको जिम्मेवारी आफ्नै काँधमा रहेको भन्दै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

'अहिलेको युवा पुस्ता पनि अघि बढ्नुस्। युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको छ। कम्युनिस्ट आन्दोलनलाई जोगाउनुपर्छ,' नेपालले भने।

salt training

कमेन्ट गर्नुहोस्